एनआरएनए अमेरिकाले पठाएको ३ करोड बढीको स्वास्थ्य सामाग्रीसहित अमेरिकी सेनाको जहाज नेपालतिर


प्रकाशित मिति : भाद्र १२, २०७८ शनिबार

एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो ।

शुक्रवार अमेरिकाको युटाह राज्यको साल्ट लेक सीटीबाट ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामाग्री लिएर अमेरिकी सेनाको विमान नेपालका लागि उडान भरेको छ । एनआरएनए अमेरिका र अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेना मार्फत सहयोग सामाग्री ढुवानीमा सहमति भएपछि अमेरिकी सेनाको विमानले शुक्रवार स्वास्थ्य उपकरण र सामाग्री लिएर उडान भरेको हो ।

आगामी दिनमा आपत् – विपद्को समयमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अमेरिकी सेनाको जहाजमा सहयोग सामाग्री नेपालसम्म निःशुल्क ढुवानी गराउन सक्ने गरी सहमति भएको एनआरएनए अमेरिकाले जनाएको छ । यो सहमतिसँगै प्रारम्भ भएको निःशुल्क ढुवानी गैर आवासीय नेपाली सङ्घ अमेरिकाको नेपाल र नेपालीको सहयोग अभियानका लागि कोसे ढुङ्गा साबित भएको एनआरएनए अमेरिकाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

अक्सिजन कन्सनटेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रास्फरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ९ हजार ६सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामाग्री नेपाल पठाइएको हो ।

स्वास्थ्य उपकरण र सामाग्री अगष्ट ३१ तारिख नेपाल पुग्ने छ । त्यसपछि नेपाल र नेपालीलाई कोभिड महामारी विरुद्धको अभियानमा सहयोग स्वरूप पठाइएका स्वास्थ्य उपकरण र सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com