प्रतियोगिता नहुंदै विवादमा मिसेस नेपाल यूके
प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार

यही २ जुन शुक्रबार लन्डनमा तय गरिएको मिसेस नेपाल यूके प्रतियोगिता २०१७ फिनाले अगावै विवादमा परेको छ । शुरुमा निशुल्क भनिएपनि पछि प्रतियोगीसंग विभिन्न शीर्षकमा रकम माग्ने अनि फिनाले हुनु एक दिनअघिसम्म पनि प्रशिक्षण नभएपछि सहभागी आक्रोशित भएका हुन् ।

एक प्रतियोगीका अनुसार, आयोजक लन्डन फेसन हाउसले प्रतियोगीसंग गावन वापत जनही ८० पाउण्ड र टिसर्टको १३ पाउण्ड उठाएको छ भने मेकअप, खाजा पानी आफनै खर्चमा गर्नुपर्ने जस्ता शर्त राखेको छ । सौन्दर्य प्रतियोगिताको अन्तिम दिन मिठो खाना बनाउने र च्यारिटी रकम धेरै उठाउनेलाई उपाधि दिने अनौठो योजना आयोजकको छ । बेलायतमा पहिलोपटक गर्न लागिएको उक्त प्रतियोगितामा नर्थ वेष्ट लन्डन पनि समेटिएको छैन् ।
‘प्रतियोगिता आफैंमा नराम्रो थिएन’, एक प्रतियोगीले गुनासो गरिन्, ‘तर आयोजकले बेलायत कभर गर्नुको सट्टा आ आफ्नै आफन्त सहभागी गराएका छन् । एकदिन अघिसम्म न तालिम, न कोरियोग्राफी कसरी अन्तिम प्रतियोगितामा उत्रने हो अन्योल छ ।’ आयोजकले सबैलाई तीनवटा समान प्रश्न पठाएर त्यसैमा तयारी गर्न भनेको छ ।
लन्डन फेसन हाउसकी मनिषा डंगोल श्रेष्ठले उक्त प्रतियोगिताको व्यवस्थापनमा संलग्न मेकअप आर्टिष्ट, कोरियोग्राफर, हेयर स्टाइलिस्ट, कोअर्डिनेटर लगायत सबैलाई सित्तैमा काम गर्न लगाउने तर उनीहरुको नाम कतै मेन्सन नभएपछि आक्रोशित हुंदै एकथरि प्रतियोगिता भांड्ने तयारीमा लागेका छन् । डंगोलले भने प्रतियोगितामा कुनै विवाद नभएको र प्रतियोगीसंग अनावश्यक रकम नलिएको जिकिर गरेकी छन् ।
१७ प्रतियोगी सहभागी उक्त प्रतियोगितामा मिसेस नेपाल यूके, फस्टर रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फेस अफ अस्मी ज्वेलर्स, वेष्ट सेफ, ब्युटी फर चेन्ज आदि टाइटिल राखिएको छ ।