अमेरिकी नागरिकताको अन्तरवार्तामा अपनाउनुपर्ने १० सावधानी


प्रकाशित मिति : भाद्र ८, २०७८ मंगलबार

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले दिनुभएको छ १० टिप्सहरु । यी टिप्सहरु सामान्य सुझावहरु हुन् कानुनी सल्लाहहरु होइनन् । 

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाको ग्रिनकार्ड लिएको पाँचबर्ष पूरा भएको हुनुपर्छ । अमेरिकी नागरिकसँग विवाह गरेको छ भने तीनबर्षको अवधि पूरा भएको हुनुपर्छ । जुन स्थानमा अन्तरवार्ताका लागि आवेदन दिइएको छ, त्यो स्थानमा विगत तीनमहिनादेखि बसेको हुनुपर्छ । यो मापदण्ड पूरा भइसकेपछि नागरिकताका लागि आवेदन दिन सकिन्छ । आवेदन दिइसकेपछि औंठाछाप लिने प्रकृया हुन्छ । त्यसपछि उनीहरुले अन्तरवार्ताका लागि बोलाउँछन् ।

अन्तरवार्ताका बारेमा तयारी गर्दा अमेरिकाको इतिहास लगायतका विषयमा जानकारी हुन जरुरी छ । जसलाई सिभिक टेस्ट भनिन्छ । सिभिक टेस्टमा १० वटा प्रश्नहरु हुन्छन् । एकसय प्रश्नहरुमध्ये १० वटाजति प्रश्नहरु सोधिन्छ । जसमध्ये कम्तीमा ७ वटा प्रश्नको सही जवाफ दिनुपर्छ । ७ वटा प्रश्नको जवाफ दिनेहरुलाई अन्तरवार्तामा उत्तिर्ण गरिन्छ ।

अन्तरवार्ताका क्रममा अँगेजी बोल्न र लेख्न जाने नजानेको बारेपनि परिक्षण गरिन्छ । कुनै अँग्रेजी बाक्य भनेर त्यसलाई लेख्न लगाइन्छ । उनीहरुले एकपटकमात्र भन्ने भएकाले ध्यान दिएर सुन्न जरुरी हुन्छ । त्यसपछि त्यसलाई लेख्न सक्नुपर्छ । कुनै पनि बाक्य उनीहरुले भनेर लेख्न लगाउँछन् । त्यो तुरुन्त लेख्न सक्नुपर्छ ।

कागजपत्रहरु लैजाँदा पासपोर्ट, ग्रिनकाडसहित विगत पाँचबर्षसम्म काम गर्दा ट्याक्स तिरेका कागजातहरु लैजान जरुरी छ । ट्याक्स डकुमेन्टको आईआरएस प्रिन्ट लैजानुपर्छ । विवाह गरेको भए विवाहको कागजात र बच्चाहरु भएमा जन्मदर्ता प्रमाणपत्रहरु लैजानुपर्छ । व्यक्ति राम्रो चरित्रको हो कि होइन भन्ने परिक्षण गर्ने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्छ ।

अन्तरवार्तामा जानु अगाडि आफूले ग्रिनकार्ड कुन आधारमा लिएको हो त्यो स्मरण गर्नुपर्छ । त्यो बेलाका इस्युहरु के के थिए भन्नेबारे स्मरण गर्न जरुरी छ । अन्तरवार्ताका क्रममा नसोंचेको प्रश्नहरु पनि आउनसक्ने भएकाले आफ्नो केसका बारेमा विस्तृतमा जानकारी राख्न जरुरी हुन्छ ।

कागजातहरु लैजादा ओरिजिनल कागजातहरु पनि लैजानुपर्छ । साथमा एकएकप्रति फोटोकपी लैजानुपर्छ । कुनै कागजात दिनुपर्ने अवस्था आएमा फोटोकपी दिनुपर्छ । तर कहिलेकाँही अधिकारीले ओरिजिनल प्रति पनि हेर्ने चाहना राख्नसक्छन् ।

७, अन्तरवार्ताका लागि सुट टाइ लगाएर जान जरुरी छैन । अनौपचारिक कपडा लगाउँदा पनि हुन्छ । तर सफा कपडा लगाउनुपर्छ । उत्तेजक खालको र छोटा कपडाहरु लगाउनु राम्रो होइन । ठीक्क खालको कपडाहरु लगाएर जानुपर्छ ।

८, नागरिकताको अन्तरवार्ताका क्रममा धेरैजसो अमेरिकाका तीनवटा सरकारी अंगहरुको बारेमा सोधिन्छ । तिनीहरुको काम के हो, प्रमुख के हुन्छ भन्नेबारे सोधिन्छ । एकदुईवटा प्रश्न यी विषयहरुमा हुन्छ । भौगोलिक अवस्थाबारे र इतिहासबारे पनि प्रश्नहरु आउनसक्छन् । कतिपय अधिकारीहरुले कठिन प्रश्नहरु पनि सोध्न सक्छन् । प्राय पाँचवटा प्रश्नहरु साधारणखालको हुने गर्छन् भने बाँकी पाँचवटा अलिक अप्ठ्यारा खालका हुनसक्छन् ।

९, अन्तरवार्तामा अनुत्तिर्ण भएमा उनीहरुले अर्को पटकका लागि एक मौका दिन्छन् । दोश्रो मौका सम्म तयारीका लागि समय दिइन्छ । दोश्रोपटक पनि उत्तिर्ण हुन नसकेमा आवेदन अस्वीकृत हुन्छ । त्यसपछि आवेदकले अपिल गर्न पाउँछन् । अपिल गरेपछि पुन अन्तरवार्ताका लागि बोलाइन्छ । यसरी तीनपटकसम्म मौका दिइन्छ ।

१०, अँगेजी बोल्न नसक्ने, उमेर छिप्पिएको, स्मरण गर्न नसक्ने अवस्था रहेमा वेभरका लागि आवेदन दिन सकिन्छ । त्यसका लागि अपांगता सम्बन्धी वेभर हुन्छ । गैर नाफामुलक संस्थाहरुले त्यस्तो वेभरका लागि सेवा प्रदान गर्छन् । डाक्टरले स्मरणशक्ति परिक्षण गरेर मेडिकल सर्टिफिकेट दिन्छन् । त्यस आधारमा अँग्रेजी बोल्न नसक्ने वा स्मरण गर्न नसक्नेहरुले पनि नागरिकता लिनसक्ने अवस्था रहन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com