मेरिल्याण्डमा गाडीको ठक्करबाट घाइते अर्चना रेग्मीको स्वास्थ्यमा सुधार, तर खुट्टा काटियो


प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार

अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट घाइते अर्चना रेग्मी पोखरेलको उपचारका क्रममा एउटा खुट्टा काट्नुपरेको छ । शुक्रबार मेरिल्याण्डको क्रफ्टनमा हिडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि रेग्मी गम्भिर घाइते भएकी थिइन् ।

उनको बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले जानकारी दिनुभयो । घटनाबारे उनका पति सुवर्ण पोखरेलले आफूलाई जानकारी दिएलगत्तै आफू अस्पताल पुगेको तथा बिरामीको हेरचाह र उपचारबारे समन्वय भइरहेको महतले बताउनुभयो ।

मेरिल्याण्डमा श्रीमान् र छोराहरुसहित बस्दै आएकी अर्चना रेग्मी मर्निंग वाकका क्रममा निस्केको बेला गाडीले ठक्कर दिएको थियो । गाडीले एउटा खुट्टा उपचार हुननसक्नेगरी किचेको थियो भने शरिरका अन्य भागमा पनि गम्भीर चोटपटक लागेको थियो ।

अहिले होस फर्किएको र आफूलाई समेत चिनेको अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत रेग्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । काठमाडौंको बुढानिलकण्ठ माइती र धुम्बाराहीमा स्थायी घर भएकी अर्चना अमेरिका आएको एकदशकभन्दा लामो समय भइसकेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com