मिस नेपाल अमेरिकाको दशौं बार्षिकोत्सव सेप्टेम्बर २३-२५, प्रतियोगीले सेप्टेम्बर १ सम्म आवेदन दिनुपर्ने


प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार

मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । यही सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह मनाइने भएको हो ।

नेपालकी चर्चित सञ्चारकर्मी माल्भिका सुब्बालाई प्रतिस्पर्धाको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ । सुब्बालाई प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास र सौन्दर्य निखार्नमा सघाउनेछन् ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट  वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सकिनेछ । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ रहेको छ ।

नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको, मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजाँगर गरेको छ ।

मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेको छ । यो कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ ।

मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् ।

आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com