२ बर्ष अगाडि डिभीमा अमेरिका आएका २२ बर्षका सृजनको निधनपछि शव नेपाल पठाउने तयारी


प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार

अमेरिकाको विसकन्सिनमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव नेपाल पठाउने तयारी गरिएको छ । उनको नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको जनाएको छ ।

विसकन्सिन स्थित नर्थ पिटर्स एभिन्यु फोन्डल्याक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि उपचारका लागि प्रहरी र एम्बुलेन्स आएर नजिकैको बिएभर दम अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको थियो । सो अस्पतालले बिरामीको थप परीक्षण र उपचारका लागि यूडब्लु म्याडेसन अस्पताल पठाएको थियो ।

त्यहाँ पनि कुँवरको उपचार सम्भव भएन ।अस्पतालले सृजन कुँवरलाई मृत घोषणा गरेको थियो ।

काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारीका  कुँवर मे १० तारिख २०१९ मा अमेरिका आएका थिए । डी भी लोटरीको माध्यमबाट दुई वर्ष अघि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै कलिलो उमेरमा असामयिक निधन भएको हो ।

अहिले स्वर्गीय कुँवरको शव अस्पतालमा नै रहेको छ ।स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवरले छोराको शव नेपाल पठाइदिन एनआरएनए अमेरिका विसकन्सिन च्याप्टरलाई सहयोगको अनुरोध गरेको जनाइएको छ ।

परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्याण्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, विसकन्सिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागेको एनआरएनएले जनाएको छ ।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए विसकनसिन च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको छ । एनआरएनए विसकनसिन च्याप्टर अध्यक्ष दिपक थापाले दाताहरूलाई गोफण्डको लिङ्कमा गएर सहयोग गर्न आग्रह गरेका छन् ।

सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

यसअगाडि न्यु योर्कमा निधन भएका २८ वर्षीय नेपाली युवा विपिन विपिन लम्सालको पनि शव नेपाल पठाउने तयारी भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com