बजेट बिलमा कागजपत्रविहिनलाई नागरिकताको विषय समावेश गर्न बाइडेनको आग्रह


प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले बृहत बजेट बिलमा डाकाले समेटेकाहरुलाई नागरिकताको बाटोमा लैजाने विषय समावेश गर्न सांसदहरुलाई आग्रह गरेका छन् । बाइडेनले बजेट बिलमा अध्यागमनको विषय समावेश गरिनुपर्नेमा जोड दिएका हुन् ।

रिपब्लिकनको समर्थन विना नै डेमोक्र्याट्सहरुले पारित गर्ने योजना बनाएको बिलमा अध्यागमनको विषय समावेश गर्ने वा नगर्ने विषयमा यस अगाडि बाइडेनले आफू निश्चित नभएको बताएका थिए । डाकाले समेटेकाहरु बाल्यकालमा अमेरिका आएका कागजत्रपत्रविहिनहरु हुन् । जसमा नेपालीहरुको संख्या पनि ६० जनाको हाराहारीमा रहेको छ ।

बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस डाका कार्यक्रमबारे छलफल गर्न ह्वाइटहाउसमा डेमोक्रेटिक सांसदहरुलाई भेटे लगत्तै बाइडेनले इमिग्रेशनको विषय बजेट बिलमा समावेश गर्नुपर्ने बताएका हुन् । डेमोक्रेटिक सिनेटर डिक डर्बिनले बिलमार्फत अध्यागमनलाई समेट्ने अवशर डेमोक्र्याट्सहरु समक्ष रहेको बताएका छन् ।

सिनेटका पार्लियामेन्टेरियनहरुले बजेट प्याकेजमा अध्यागमन समावेश गर्ने निर्णय गर्ने नगर्ने भने अझै स्पष्ट छैन । उनीहरुले बजेट प्याकेजमा कुन कुन विषय समावेश गर्ने भन्नेबारे निर्णय गर्नेछन् । सिनेटबाट अधिकांश बिलहरु पारित हुन रिपब्लिकनको समर्थन आवश्यक पर्ने भएतापनि बजेट प्रकृयाबाट पारित हुन भने पूरै डेमोक्रेटिक सांसदहरुको समर्थन भएमा रिपब्लिकनहरुको समर्थन आवश्यक पर्दैन ।

बजेट बिलमा डाका र टीपीएसले समेटेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समावेश गर्नुपर्ने माग हुँदै आएको छ । तर कतिपयले यो विषय बजेट प्रकृयाबाट पारित गरिने बिलमा समावेश गर्न नसकिने बताउदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com