आयु बढाउन साउनमा हरियो लगाउने होइन, हरियो खाने गरौं
प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार
– अस्मिता खड्का
साउन लाग्यो ! प्राकृतिक रुपले चारैतिर हरियाली छाएको छ । पालुवाहरुले मन फुरुङ्ग बनाउँछ, एकैछिन अडिएर पालुवा निहाल्न मन लालायित हुन्छ । प्राकृतिक सुन्दरताको आनन्द विछट्टै हुन्छ । जतिआनन्द लिए पनि धित कहिल्यै मर्दैन ।
प्रकृतिप्रेमीहरुका लागि साउन महिना उत्कृष्ट मध्येको हो । उत्कृष्ट महिनाको महिमासँगै महिलामा भने पहिरनमा परिवर्तन देख्न सकिन्छ । हातभर मेहेन्दी, नाडीमा हरियो र पँहेलो रङका चुराहरुको चाङ !
गाउँघरको जस्तो साउनमा हरियालीको आनन्द शहरमा कहाँ पाउनु ! सानोमा गाउँहुँदा डुलेको वनपाखा सम्झने मात्र हो । अहिले गाउँघरमा भन्दा मेरो दैनिकी केही फरक छ । बिहानको नित्यकर्म पुरा भएसँगै तरकारी र छोराका लागि दुध किन्न पसल जानु मेरो दैनिक तालिकामा पर्दछ ।
आजपनि पसल जाँदा पसले महिलाले ‘दिदी’ चिया भयो भन्दै प्रश्न गरिन् । मैले पनि तपाईको भयो त ? भनेर सोधें ।
‘के हुनु दिदी ३ बजे उठेर तरकारी लिनु गएको । बल्ल मिलाउँदैछु ।’- पसले महिलाले आफ्नो पीडा सुनाउँदै थिइन् ।
यत्तिकैमा छिमेकी शिक्षिका ‘गुडमर्निङ म्याडम’ भन्दै छेउमा आइपुगिन् ।
नाडीभरी हरिया र पहेँला चुरा उनेको देखेपछि मैले सोधेँ – ‘म्याडम तपाईलाई पनि विश्वास छ, साउनमा हरियो लगाउँदा श्रीमानको आयु बढ्छ भन्नेमा ?’
उनले पसले महिलातर्फ औँला तेर्साउँदै भनिन् – ‘उपहार दिएको !’
उनले कहिल्यै नलगाउने ‘आज त नङ हरियो नेल पोलिस पनि लगाएको छु ‘ भन्दै देखाइन् ।
मैले फेरि सोधें – ‘म्याडम उपहार त ठिकै छ, तर तपाई हरियो खानामा विश्वास गर्नुहुन्छ कि, हरियो लगाउनुमा ?’
उनले कुरा अन्तै मोडिन् ।
गलत संस्कार, संस्कृति र परम्पराको परिवर्तन गर्न शिक्षाले मात्र पुग्दैन भनेको यहीँ होला !आफैलाई जवाफ दिए ।
सामानसँगै पसले महिलाले ‘दिदी यो तपाईको लागि साउनको कोशेली है’ भन्दै एउटा छुट्टै प्लाष्टिकभित्र पत्रिकाले बेरेको पोका हातमा थमाईदिइन ।
मैले हाँस्दै भने – ‘बहिनी मलाई यसको सट्टा एकमुठ्ठा हरियो साग दिनुस् ।’
‘साग त तपाई सधै किनेर लैजानु हुन्छ, यो त मैले तपाईलाई दिएको हो नि !’
साउनमा हरियो चुरा र पोते बाँड्नु शुभ हुन्छ भन्ने बुझेकी पसले महिलाले उपहार स्वरुप एक सय रुपैयाँ जति पर्ने हरियो चुरापोते उपहारमा दिइन् । तर २० रुपैयाँ पर्ने हरियो साग दिइनन् ।
यसले प्रष्ट हुन्छ, अन्धविश्वासले मानिस कसरी जकडीएको छ भन्ने ।
‘बहिनी साउनभर हामीलाई ताजा र हरियो सागपात बेच्नुस्, सबैभन्दा ठूलो पुण्य हुन्छ, यो चुरापोते लगिन है’ भन्दै मैले फिर्ता गरेँ ।
उनले आफ्ना पसलमा आउने नियमित महिला ग्राहकहरुलाई केही दिन पहिलेदेखि हरियो चुरापोते बाँड्न सुरु गरेकी रहिछन् । एक हिसाबले हेर्दा उनको व्यापारिक सम्बन्ध गाढा बनाउने तरिका ठीक होला !
तर किम्बदन्तीका आधारमा एउटा शिक्षित महिलाले यस्तो परम्परालाई संरक्षण गर्नु राम्रो हुन सक्दैन ।
कथा अनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र महादेवबाट सौभाग्य पाइन् ।’
कथामा के छ वा छैन भन्दा पनि व्यावहारिक रुपमा सही गलत छुट्याउन शिक्षित महिलाहरुले नसक्नु दुर्भाग्य मान्नुपर्छ ।
हरियो लगाउँदा कि ? हरियो खाना खाँदा श्रीमानको आयु बढ्छ भन्ने कुराका बारेमा ति शिक्षिकालाई थाहा नभएको पक्कै होइन ।तर पनि उनी त्यही किम्बदन्तीमा बेरिएकी छिन् ।
श्रीमानको दीर्घायुका लागि ब्रत बस्ने, हरियो लगाउने अझ, अविवाहित युवतीले सोचे जस्तो श्रीमान पाइन्छ भन्दै यो परम्पराको नाममा गलत कुराको पैडो उठाउनु भनेको दासत्वलाई स्वीकार गर्नु हो ।
म्याडमको हातभरी हरिया चुरा र मेहेन्दी देख्दा साना नानीहरुको दिमागमा प्रश्न अबस्य आउँछ । बच्चाहरुले धेरै कुरा देखेर सिकेका हुन्छन् । नयाँ पुस्तालाई कस्तो शिक्षा दिने भन्ने कुरामा सबैभन्दा ठूलो भूमिका शिक्षकहरुको हुन्छ । शिक्षकले ठीक बेठीक छुट्याउन नसक्ने हो भने समाज कसरी रुपान्तरण हुन्छ ?
हरियो चुरापोते साउनमै लगाउनुपर्छ भन्ने छैन । अरु महिनामा किन लगाइदैन ? भन्दा यहाँहरुको दिलदिमागमा अन्धविश्वासको ऐजेरु लागेको छ ।
गलामा हरियो पोते र नङमा हरियो पालिस अनि हरियो मिसिएको कपडामा सजिएका महिलाहरु ! साउनमा देखिने पहिरनका बारेमा मानिसका आ-आफ्नै तर्क र विश्वास छन् ।
हातभरि मेहेन्दी, नाडीभरी हरियो र पहेलो रङगको चुरा लगाउँदा श्रीमानको आयु बढ्ने होइन । बरु हरियो तरकारी र पहेलो रङका फलफुल खाँदा स्वास्थ राम्रो हुने र आयु बढ्ने हुन्छ । अझ कोरोना महामारीको बेलामा यो अझ बढी आवश्यक छ ।
पहिला पहिला गाउँघरमा आफ्नोमा फलेको हरियो तरकारी छिमेकमा बाँडेर खाने चलन थियो । अहिले शहरको देखासिकीमा हरियो चुरापोते बाड्ने चलन सुरु भएको छ । उपहार दिनु राम्रो कुरा हो, तर उपहार दिने कारणले समाजमा अन्धविश्वासको विजारोपण गर्नु विकृति हो । त्यसैले साउनमा हरियो लगाउने होइन, हरियो खाना खान प्रोत्साहन गरौँ ।