अमेरिकाको न्युजर्सीको ग्यास स्टेशनमा काम गर्ने नेपालीबाट नेपालीकै गोली हानी हत्या


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

अमेरिकाको न्युजर्सीको ग्यास स्टेशनमा नेपालीबाट नेपालीकै हत्या भएको छ । २४ बर्षका मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने सहकर्मी ५६ बर्षका फु छेवाङको गोली हानी हत्या गरेका छन् ।

न्युजर्सीको मवाहमा सोमबार राती पौने १० बजे गोली चलाएर हत्या गरिएको थियो । सोमबार राती घटनापछि ९११ मा फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटना ग्यास स्टेशनमा नभई घरमा नै भएको प्रहरीले जनाएको छ । घिमिरे आफैले घटनापछि प्रहरीलाई फोन गरेका थिए । उनले फोनमा भनेका थिए – ‘मैले एकजनालाई गोली हानें । मर्यो कि ज्यूदै छ थाहा भएन ।’

घटनास्थलमा प्रहरी पुग्दा छेवाङ मृत अवस्थामा भेटिएका थिए भने हत्यारा फरार रहेकाले त्यसपछि प्रहरीले खोजी सुरु गरेको थियो । घटनास्थलबाट घिमिरे मिसिसिपीको लाइसेन्स प्लेट भएको कालो क्राइस्लर गाडीमा भागेका थिए । घिमिरे र छेवाङ रुममेट समेत रहेको जनाइएको छ ।

छेवाङका शरीरमा कैयन पटक गोली चलाइएको भेटिएको थियो ।

न्युयोर्क प्रहरीले गोली चलाउने मिलन घिमिरेलाई न्युयोर्कको ब्रोंक्सबाट पक्राउ गरेको छ । प्रहरीले घटनाको २४ घण्टापछि नबित्दै गोली चलाउने घिमिरेलाई पक्राउ गरेको हो ।

छेवाङ मनाङ घर भई हाल न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका थिए ।

घिमिरेलाई पहिलो डिग्री हत्या, हतियार राखेको र प्रमाणहरु लुकाउन खोजेको लगायतका अभियोग लगाइएको छ । अनुसन्धानका क्रममा घिमिरेले छेवाङलाई गोली हानेर हत्या गरेको खुलेको अभियोजन कर्ताहरुले जनाएका छन् ।

घटनापछि बर्गन काउन्टीका अभियोजनकर्ताहरुले अनुसन्धान सुरु गरेका थिए । घिमिरे सन् १९९८ को फेबु्रअरीमा ५ मा जन्मिएका र अविवाहित भएको प्रहरीले जनाएको छ ।

अमेरिकामा गोलीकाण्डका घटनामा बर्षेनी कैयन नेपालीहरुले ज्यान गुमाउँदै आएका छन् । तर नेपालीबाटै नेपालीको गोली हानेर हत्या गरेको घटना अत्यन्तै दुर्लभ घटना हो ।

(नोट: यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । घटना ग्यास स्टेशनमा नभई भाडामा बस्दै आएको घरमा भएको विवरण सच्याइएको छ ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com