मादल बचाउन जागे रोल्पाका बादी


प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार

-उमा के सी

चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।

परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि जमानाअनुसार मादलको विकल्पमा अन्य वाद्य सामग्री भित्रिएपछि उनीहरुको पेसा सङ्कटमा पर्दै आएको हो ।

मादल बनाउने परम्परागत पेसा लोप हुन लागेको तथा प्रविधि पनि हस्तान्तरण गर्ने भन्दै घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा पेसा प्रवद्र्धन तालिम मागेअनुसार जिल्लाका बादी समुदायका १२ जनाका लागी ४५ दिने मादल बनाउने तालिम सम्पन्न गरिएको छ ।

लोप हुन लागेको पेसालाई संरक्षण गर्दै आधुनिकीकरण गरी आयआर्जनमा समेत सहयोग पु¥याउने उद्देश्यका साथ सो तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।

दुईखोली गाउँपालिकाको इरिवाङमा रहेका १८ घरधुरी बादी समुदायका लागि सरकारले केही वर्ष पहिले घर बनाइदिएको थियो । सरकारले बनाइदिएको घरबाहेक अन्य जग्गा नभएको रामचन्द्र बादीले बताउनुभयो ।

पेट पाल्नका लागि मादल बनाउने पेसा छाडेर अन्य पेसा अँगाल्न थालेको बेला मादल बनाउने तालिमले आफ्नै पेसातर्फ फर्केर परम्परा बचाइ राख्न मद्दत गरेको तालिमका सहभागी रामचन्द्र बादीले बताउनुभयो ।

आफूहरुको आर्थिक अवस्था कमजोर रहेका कारण पेसा प्रवद्र्धनका लागि सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको तालिममा सहभागी निर्मला बादीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आठ महिलासहित १२ जनालाई सो तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाले बताएको छ । तालिममा उत्साहका साथ सहभागिता जनाएका कारण पेसाप्रति इमान्दारिताका साथ लाग्नेमा आफू आशावादी भएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।

पेसा सजिलो, आयआर्जन हुने र स्थानीयस्तरमै कच्चा पदार्थसमेत उपलब्ध हुने भएका कारण निरन्तरता पाउनेमा आफू आशावादी रहेको आचार्यले बताउनुभयो ।

उनीहरुले उद्यम दर्ता गरी उद्यम थप विकास गर्न चाहेमा उद्यम विकास कोषमार्फत महिला उद्यमीका लागि बिनाधितो ऋण उपलब्ध गराउन सकिने आचार्यले बताउनुभयो । तालिमपश्चात् उनीहरुलाई तालिममा प्रयोग भएका मेसिन औजार पनि उनीहरुलाई नै हस्तान्तरण गरिएको छ ।

परम्परागत पेसा छोड्दै ज्याला–मजदुरी तथा माछा मार्ने काममा लाग्न थालेका उनीहरुको परम्परागत पेसालाई निरन्तरता दिने सोचका साथ सो तालिम सञ्चालन गरिएको बताइएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com