युट्युवकारिता, प्रविधिको दुरुपयोग र नियमनको अभाव


प्रकाशित मिति : असार २३, २०७८ बुधबार

– अस्मिता खड्का

विज्ञान र प्रविधिको विकाससँगै मानव सञ्चारका नयाँ–नयाँ आयामहरु थपिँदै आएका छन् । पछिल्लो समय युट्युव एउटा नयाँ लोकप्रिय सञ्चारको रुपमा रहदै आएको छ ।

युट्युव सबैमाझ लोकप्रिय पनि छ । टेलिभिजनको विकल्पको रुपमा मानिसहरु युट्युवलाई लिन थालेका छन् । टेलिभिजन हेर्न नपाएपनि युट्युव छँदैछ, भन्ने कुरा धेरैको मुखबाट सुन्न पाइन्छ ।

नयाँ मिडिया र प्रविधिप्रति मानवको आकर्षण बढ्दै जानु स्वभाविक पनि हो । मुलधारका सञ्चारमाध्यमको नजर पर्न नसकेका वा नजर परेपनि प्राथमिकतामा नपरेका केही मुद्धालाई उठान गर्ने कुरामा युट्युबको भूमिका सकारात्मक पनि छ । तर समाजमा रहेका कतिपय गम्भीर मुद्धाहरुलाई हल्का रुपमा उठाउने, विषयबस्तुलाई अतिरन्जीत ढंगले प्रस्तुत गर्ने प्रबृत्ति मौलाउँदा त्यसबाट नकारात्मक प्रभाव पर्ने गरेको छ ।

कुन बिषयलाई कसरी प्रस्तुत गर्नेभन्ने कुराको सामान्य ज्ञान उनीहरुमा देखिदैन । बुम बोकेर हिँड्ने कोही कसैले गरेको गल्तीको प्रभाव सिंगो पत्रकारिता जगतमाथि पर्ने गरेको छ । यस्ता घटनाहरुबाट ‘युट्युवकारिता’ र पत्रकारिताबीचको अन्तर छुट्याउनु जरुरी छ ।

युट्युवकारिताले समाजमा परेको भ्रमका बारेमा एउटा सामान्य घटनालाई हेरौं ।

एक जना कपडा व्यापारी । उनीहरुसँग मेरो चिनजान काठमाडौमा भएको हो । उनीहरु दुई नम्बर प्रदेशका रैथाने । व्यापारको शिलशिलामा काठमाण्डौँ आएका । काठमाडौँमा व्यापार व्यवसाय गर्न लागेको पनि पाँच बर्षभयो । सुरुमा उनले सानो पसल चलाएका थिए भने अहिले कपडाको होलसेल व्यापार सुरु गरेका छन् ।

मसँग चिनजान भएको एक बर्षभयो । उनको परिवार हामी बस्ने घरको नजिकै डेरामा बस्दै आएका छन् ।

एकदिन ती भाईले भने – ‘दिदी मलाई एउटा सहयोग गर्नु पर्यो । मलाई गाह्रो पर्यो ।’

सामान्य रुपमा मैले भनें – ‘भन्नु न भाई मैले सक्ने भए सहयोग गरौँला नि !’

उनले  बोले – ‘दिदी तपाईले नै गर्न सक्नुहुन्छ ।’

उनले आफ्नो समस्या सुनाउँदै भने – ‘एक बर्षभयो । एक जना मान्छेले ५ लाखको सामान लगेको अहिलेसम्म पैसा दिएन । त्यसलाई ठीक पार्नु पर्यो । तपाईको पत्रिकामा समाचार लेख्नुस् न । डाँकाले अहिलेसम्म पैसा दिएन ।’

मैले सुझाव दिदै भने – ‘त्यसको यसको लागि तपाई प्रहरीकोमा जानुपर्छ ।’

उनी जंगिए – ‘तपाई पत्रकार भएर यति काम पनि गर्न नसक्ने ? युट्युवे भएको भए बरु गर्थे । प्रहरीले भन्दा युट्युवरले न्याय दिन्छन् ।’

सम्बाद सामान्यजस्तो लाग्नसक्छ । तर मलाई उनको कुराले चिन्तित बनायो । युट्युवमा आउने विषयबस्तुले समाजमा यस्तो प्रभाव छोड्नु पटकै राम्रो कुरा होइन । पत्रकारिता सामाजिक उत्तरदायीत्वसहितको पेशा हो ।

युट्युवरले पत्रकारको परिभाषा दिँदै गाउँ ठाउँमा पुगेर सामान्य मानिसदेखि हिंशा पीडित, बलात्कृत र विभिन्न शोषणमा परेका ब्याक्तिसँग सोध्ने प्रश्न र लिने बयानको त कुनै सिमा छैन ।

पत्रकारले अपनाउनु पर्ने नियम कानुन छन् । आचारसंहिता र मूल्यमान्यताहरु छन् ।

पत्रकार हुँ भन्दै केही व्यक्तिले आफूलाई सर्वेसर्वा ठान्दा त्यसको महत्व र शक्ति ह्रास हुँदै गएको छ ।

उदाहरणको लागि दाङमा एक युवतीमाथि भएको बलात्कारको घटनालाई लिनसक्छौँ ।

पत्रकारले पालना गर्नु पर्र्नेे आचारसंहिताको त कुरा छोडौँ, समाजमा एक असल नागरिकले निभाउनु पर्ने भूमिकाको समेत ख्यालै नगरि युट्युवरले पीडित युवतीलाई घटनास्थलमै लगेर चार जनाको समूहले उनीमाथि के के गरेका थिए, त्यो सबै भन्न लगाएर भिडियो सार्वजनिक गरे ।

यसो गर्दा ति युवतीको मानसिक र सामाजिक जीवनमा कस्तो असर पर्ला भन्ने हेक्का ती युट्युवरसँग देखिदैन । आफ्नो च्यालनको भ्युज र सब्सक्राइब बढाउनका लागि अपनाएको यो हत्कण्डाले पीडितलाई झनै पिडा थप्ने कुराको उनलाई कुनै मतलब छैन ।

नेपालमा गम्भीर सामाजिक मुद्दामा हलुका प्रस्तुति मात्रै होइन, तुच्छ टिप्पणी गर्नेहरुको अगाडि बुम तेर्साएर गाली बेइज्जत रेकर्ड गर्ने र युट्युबमा अपलोड गर्ने कैयन युट्युवरको ‘धन्दा’ बनेको छ ।

दुःख पीडामा परेकाहरूले भोगेका समस्यालाई बाहिर ल्याउनु, विसंगतिविरुद्ध आवाज उठाउनु, झक्झकाउनु र पीडितको न्यायको लागि भरोसा दिनु एक जिम्मेवार पत्रकारको काम हो । न कि अरुको कमजोरी, पीडा र संवदनशीलताको एकरत्ति ख्याल नगरी भिडियो बनाउने र आफ्नो च्यानलको भ्युज बढाउने धन्दा !

पछिल्लो समय कैयन नेपाली युट्युवरहरु आफैं अदालत, आफैं न्यायाधीश, आफैं प्रहरी र आफैं समाजसेवी बनेको देख्न पाइन्छ । सबै खराब छन् भन्न खोजिएको होइन । कतिपय युट्युब च्यानलले समाजमा लुकेर रहेका प्रतिभा बाहिर ल्याउने र कैयनकोे उद्धार गर्ने काम समेत गरेका छन् ।

भिडियो विकाउनको लागि सनसनीपूर्ण शीर्षकहरू राख्ने, अदालतमा विचाराधीन विषयहरूमा अशोभनीय बहस गर्ने, विषयहरूलाई उत्तेजित ढंगले प्रस्तुत गर्नेहरुको होडबाजी नै चलेको छ । यहाँसम्म कि सामान्य कुरामा पनि पत्रकारको धम्की दिँदै अरुको घरमा अनुमति विना प्रवेश गरेर क्यामेरा तेर्साउने र मानिसहरुलाई तर्साउने काम दिनप्रतिदिन बढ्दै गएको छ ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताका साथै सूचनाको हकको ग्यारेन्टी गरेको छ तर यसको गलत फाइदा उठाउँदै युट्युवरहरूले अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्ति केन्द्रित मन्तव्य दिँदै हिँड्ने र त्यसलाई सामाजिक सञ्जालमा सेयर गर्दा छिटो भाइरल हुँदा यस्ता युट्युवरलाई अझ हौसला मिलेको देख्निछ । समाजमा जे बिक्छ त्यहीँ दिनुपर्छ भन्ने मान्यताका साथ उनीहरु आफ्नो सामाजिक कर्तव्र्य भुलेका छन् ।

तर नकारात्मक पाटोको मात्रै चर्चा गरेर आत्तिनुपर्दैन । युट्युब सञ्चालन गर्ने कम्पनीले ‘गाइडलाइन’ बनाएको छ, उजुरी गर्ने व्यवस्था गरेको छ । त्यसको लागि नागरिक अग्रसर हुनुपर्दछ ।

कानून कार्यान्वयन निकायहरु नियमनका लागि थप सकृय हुनुपर्छ । यद्यपी आवश्यक नियामक नीति नियम र कानूनको समेत अभाव रहेको छ ।

Ashmita Khadka
अस्मिता खड्का

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com