सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु


प्रकाशित मिति : जेष्ठ १६, २०७४ मंगलबार

भीमदत्तनगर, १६ जेठ । नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ ।

अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिनुभयो ।

सुुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । “अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो,” भाटले भन्नुभयो । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।

गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ । नेपालगन्जबाट भारतीय पर्यटक लिई हुम्लाको सिमीकोटका लागि उडेको सीता एयरको जहाज मौसम खराबीका कारण अवतरण हुन नसक्दा कोल्टी विमानस्थलमा अवतरण गरिएको प्रहरी नायब निरीक्षक भाटले बताउनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com