रुख हल्लाएर पात खसाउनेविरुद्ध बोलौं, पूरानो पुस्तालाई राजनीतिबाट बिदा गरौं
–अस्मिता खड्का
‘सामाजिक सञ्जालमा मानिसहरु जे पनि बोल्छन्, यस्ता कुरामा ध्यान दिनुहुँदैन, मानिसहरुको काम छैन, मनपरि लेख्छन्’
आजकाल सबैभन्दा धेरै बोलिने, पढिने र सुनिने कुरा हो यो।
तर यसमा म सहमत छैन। किनकि मानिसको सोच, चिन्तन र दृष्टिकोण जे हुन्छ, त्यो नै अभिव्यक्त हुने हो। भलै केही मानिस क्षणिक मनोरञ्जनका लागि बकबास बोल्छन् होला।
सामाजिक सञ्जाल भनेको हाम्रो समाजको अहिलेको सजिवचित्र हो। समाज कता जाँदैछ, मानिसहरुको सोच, चिन्तन कस्तो छ त्यही अनुसारको लेख्ने र बोल्ने गर्छन्। यसलाई हल्का रुपमा लिनु भनेकै समाजमा अराजकता फैलाउन बढावा दिनु हो।
यो भनिरहँदा कुरा आउनसक्छ–सबै मानिस सामाजिक सञ्जालमा छैनन्। सामाजिक सञ्जालमा सबैको पहुँच छैन। यो कुरा पनि केही हदसम्म सही हो। तर जति पनि मानिसहरु सक्रिय छन् र आफ्नो सोच कुनै न कुनै रुपमा व्यक्त गर्नेहरु यही समाजका पात्र र प्रवृत्ति हुन्। जसको पहुँच छ, उसैको समाजमा हैकम जम्छ भनेर भनिरहनु पर्दैन, जो वर्षौंदेखि चल्दैआएको छ।
सामाजिक सञ्जालमा देखा पर्ने विचार, दृष्टिकोणले समाजको विकास कसरी भइरहेको छ भन्ने कुरा थाहा पाउन कुनैसमाजशास्त्रीको किताब पढ्नु पर्ने देखिदैन।
समाजमा उठ्ने जुनकुनै मुद्दामा पनि पक्ष र विपक्ष हुन्छन्। सबैको विचार सबैसँग मिल्नुपर्छ भन्ने होइन, तर समाजलाई विखण्डनको दिशातर्फ डोर्याउने र विभेदका पुरानै रुपहरुलाई संरक्षण गर्नु समाज विकासको सबैभन्दा ठूलो बाधक हो। यसको सबैभन्दा ठूलो जड हो, देशको राजनीतिक अस्थिरता, उही पुराना नेतृत्वहरुको कार्यशैली र असफल विचारधारा।
म धेरै दर्शन र वादका कुराभन्दा सामान्य अर्थमा व्यावहारिक कुरा गर्न चाहन्छु। देशमा राजतन्त्रको अन्त्य हुँदा जनतामा देखा परेको उत्साह, आशाको उचाइ र सकारात्मक सोचाइको उचाइ मापन गर्ने कुनै वस्तु थिएन। सबैले समान रुपमा शिक्षा, स्वास्थ्यको अवसर पाउने छन्, न कि कुनै अमुक मानिसका सन्तानले मात्र होइन भन्ने अपेक्षा थियो।
आन्दोलनको नेतृत्व गर्ने राजनीतिक पार्टी र नेता–कार्यकर्ताहरुलाई पूर्ण विश्वासका साथ राज्य सञ्चालनको तालाचावी राजतन्त्रबाट खोसेर सुम्पिइयो। तर जनताले चाहेको परिवर्तनको आभास हुने काम आजका दिनसम्म हुन सकेका छैनन्। जे जति भए ती पनि विस्तारै साँघुरिँदै आएका छन् वा कार्यान्वयनमा आएकै छैनन्।
परिवर्तनको आभास दिनसक्ने तहमा पुगेका राजनीतिक पार्टी र तिनका नेतृत्वहरुको वैचारिक र व्यावहारिक स्खलनबाट जनतामा जुन उचाइमा विश्वास थियो, त्यसमा अविश्वास पैदा हुँदै आयो। त्यो अविश्वास विस्तारै घृणामा पैदा हुँदै जाँदा समाजमा अराजकता फैलिएको छ।
राजनीति भनेको पेशा होइन सेवा हो भन्दै घोक्रो फुल्याएर चिच्याउने पार्टीहरुको व्यवहार, राज्य र जनताको स्तरोन्नतिभन्दा एक अर्कालाई दोष रोपण गर्ने, सकेजति ठाउँमा आफ्ना र आफूनजिकका मानिसलाई सेवा सुविधा दिलाउने कुरामा नै रमाउन थाले। जसको सबैभन्दा ठूलो फाइदा समाजमा अराजकता फैलाउनेहरुलाई भइरहेको छ।
अहिले राजनीतिक क्षेत्रमा आवद्ध मानिसरुलाई जत्तिको घृणा समाजमा कसैलाई गरेको पाईदैन। यहाँसम्म कि, जसले जीवनमा समाजका लागि एक इँटा थपेको छैन, उसले पनि तथानाम गालीगलोज गर्नेमात्र होइन,अर्ति उपदेशको पेटारो खोल्छ। दुधे दाँत खस्न पाएका हुँदैनन्, उसैका अर्ति उपदेश धेरै सुन्न पाइन्छ। जबकि उसलाई त्यसको अर्थ थाहा पनि हुँदैन।
यसको अर्थ मैले राजनीतिक पार्टीका मानिसले सबै कुरा ठीक गरेका छन् भन्न खोजेको होइन। राजनीतिक पार्टी र नेताहरुले हरेक घरमा पुगेर चुलो बाल्नुपर्छ भन्ने पनि होइन। तर चुलो बाल्ने अवस्थामा कसरी नागरिकलाई माथि उठाउने भन्ने दायित्व राज्य र राज्य सञ्चालन गर्छौं भन्दै राजनीतिक पार्टी निर्माण गर्नेहरुको हुन्छ।
समाजमा कस्तो सँस्कार हुर्काउने, कस्तो कानुन बनाउने, अनि त्यसलाई जनता र देशको हितमा लैजाने भन्ने पूर्ण जिम्मेवारी राजनीतिक दल र राज्यको नेतृत्वमा हुन्छ।
तर, यहाँ के–का लागि जनताले भोट दिए, के–का लागि जनताले ज्यान दिएन, त्यो कुरा अहिले आएर सबै राजनीतिक नेतृत्वमा सम्झना छैन। अर्को कुरा, गणतन्त्र आएको यतिका वर्ष भए पनि देशमा उल्लेखनीइ रुपमा सामाजिक र राजनीतिक परिर्वतन भएको देखिएको छैन। अर्को, महत्वपूर्ण कुरा, अहिले पार्टीहरुका नेतृत्वदायी भूमिका पूर्ण रुपमा असफल भएको छ। यो तथ्यलाई जबसम्म उनीहरुले स्वीकार गर्दैनन्, समाजमा अराजकता फैलाउनेहरुका लागि रामबाण बन्छ।
राजनीतिक पार्टीहरुमा विचारमात्र होइन, नेतृत्व परिवर्तन अहिलेको टड्कारो आवश्यकता हो। देश असफलताको दिशातर्फ मोडिइरहेको छ भन्ने संकेत त्यसको सुईले राम्रोसँग गरिरहेको छ।
मानिसहरु ‘गणतन्त्र कि राजतन्त्र’ भनेर किन भनिरहेका छन् ? गणतन्त्रको तुलनामा राजतन्त्र कुनै पनि हालतमा ठीक हुन सक्दैन। तर चिहानघारीमा पुगेको राजतन्त्र जुर्मुराउनुमा कसको भूमिका रहेको छ, यसबारे छलफल हुनुभन्दा पनि नयाँ पुस्ताका नेतृत्व उनै पुरानो नेताको पक्ष पोषणमा समय खर्च गरिरहेका छन्। यसको मतलब पुरानालाई अपमान होइन, सम्मानका साथ बिदा गर्ने आँट जबसम्म राजनीतिक पार्टीका युवाहरुमा हुँदैन, तबसम्म नक्कली सामाजिक अभियन्ताले समाजलाई धमिलो पारिरहन्छन्।
राजतन्त्रभन्दा गणतन्त्र किन ठीक हो भन्नेकुरा अहिले आएर बारम्बार जनतालाई भन्नुपर्ने र सम्झाउनुपर्ने किन भइरहेको छ? देशमा धेरै कुरा परिवर्तन भएका छन्, तर जनतालाई किन विश्वास छैन? यो कुराको उत्तर राजनीतिक पार्टीहरुले माथि भनिएझैं ‘सामाजिक सञ्जालमा बोल्नेहरुले जे पनि बोल्छन्’ भनेर छाड्नु सबैभन्दा ठूलो भूल हुनेछ।
यो सामाजिक सञ्जालमात्र होइन, वर्तमान समाजको दर्पण पनि हो। आफ्नो विचार, नीति र व्यवहार छोड्दा समाजका खराव तत्वहरु कसरी जुर्मुराउँछन् र समाजमा अराजकता फैलाउँछन् भन्ने कुराको उदाहरण हो।
जे गर्छु भनेर राजनीतिक पार्टी निर्माण गर्नुहुन्छ, तपाईंले त्यही नगरे जनता निरास र आक्रोशित हुन्छन्। त्यसको फाईदा समाजका केही अराजक तत्वहरुले उठाउँछन्। राम्रो काम गरे पनि शंकाको दृष्टिले हेर्ने र मानिसको दिमागमा नकारात्मक कुरा भर्ने काम यस्ता तत्वहरुले गरिरहेका छन्। जसको प्रभाव देश, समाज र हुर्कँदै गरेको नयाँ पुस्तामा परेको छ।
उनीहरुले इन्टरनेटमा देखिने क्षणिक समाजसेवा र राजनीतिक पार्टीका कुरा सही या गलत जे भए पनि विश्वास गरेको पाईन्छ। छोराछोरीको शिक्षादिक्षाको चिन्ताले आमाबुबा पिरोलिइरहेको कुरा बच्चाहरुले बुझिरहेका हुन्छन्। शिक्षा र स्वास्थ्यजस्तो आधारभूत कुरामा आमाबुबा दिनरात पिरोलिएको कुराले नयाँ पुस्ताको दिमागमा नकारात्मक छाप परिरहेको हुन्छ।
अहिलेको जमानामा विश्वका हरेक देशमा छिनछिनमा भएका विकास तथा परिवर्तन, त्यहाँका राज्य व्यवस्थाका बारेमा बच्चाहरुलाई सबैभन्दा पहिला थाहा हुन्छ। उनीहरु त्यो कुरा आफ्नो देशमा कुनै न कुनै रुपमा खोजेका हुन्छन्। तर दिनरात भ्रष्टाचार, दलाली, विभेद तथा बेरोजगारका कुरा सुनिरहेका हुन्छन्। यता भलछोप्पा कथित सामाजिक अभियन्ताले त्यही कुरालाई समातेर बोल्छन् र अनलाइन मिडिया र सामाजिक सञ्जालमा सबैभन्दा बढी भाइरल भइरहेको हुन्छ। बच्चाहरुले त्यही देखेर विदेशमा जाने सोच बनाइरहेको पाइन्छ।
भाइरल हुनका लागि अर्काको पैसामा गरेको समाजसेवाको नाटक रचेको फोटोहरु र आमाबुबाले रातदिन गरेको चिन्तालाई तुलना गर्दछन्। अनि तिनै मानिसलाई लाइक, सेयर गर्छन्। यो जमात बिस्तारै बढ्दैछ। राजनीतिक पार्टी आफ्नो मूलनीतिबाट डगमगाएर व्यक्तिगत स्वार्थमा भुल्दाको परिणाम हो यो। यसले नेतृत्वलाई विस्तारै कमजोर बजाउँदै लगेको छ। त्यसको पछिल्लो उदाहरण हो राज्यका पाँच जना पूर्वप्रधानमन्त्रीले निकालेको संयुक्त विज्ञप्तिको प्रभावहिनता।
हिजोका दिनमा पार्टी नेतृत्वले सामान्य आव्हान गर्दा लाखौं जनता सड्कमा ओर्लिएका दिनहरु पनि हामीले देखेकै हौँ। जब जनताको एजेण्डा जोड्नु हुन्छ त्यसको परिणाम यस्तै हुन्छ भन्ने कुराको समीक्षा बेलैमा नेताहरुले गर्नु जरुरी छ। अहिले त विरोधीमात्र होइन, आफ्नै पार्टीका कार्यकर्ताले समेत नेतृत्वको कुरालाई विश्वास गर्न छाडेका छन्। नेताका नजिक रहेका, दुई–चार कार्यकर्ता बचाउमा उत्रिए पनि त्यसको विरोधमा सयौँ युवा देखिन्छन्।
अचम्मको कुरा, सामाजिक सञ्जालमा नेताका जतिसुकै राम्रो अभिव्यक्ति आउँदा पनि विरोध किन भइरहेको छ ? उहाँहरु भन्नुहुन्छ–’विरोधीको कामै विरोध गर्ने हो।’
कुरा त्यसो होइन, तपाईंका समर्थन गर्नेहरु खै त? पहिला तपाईंका पक्षमा हजारौँ मानिस थिए, अहिले तपाईंको विरोधमा किन? किनकि तपाईं आफ्नो पार्टीलाई परिचालन गर्न असफल हुनु भो।
यदि तपाईंले राम्रो काम गर्नुभएको छ, भने तपाईंको संगठनले किन त्यसलाई जनतामाझ लैजान सकेको छैन? किन तपाईंका नेता बारम्बार विवादमा परिरहन्छन्? किन भष्टाचारका कुरा उठ्छन्? हावा नचली रुख हल्लिदैन । रुख नहल्ली पात खस्दैन। यदि कसैले जानी–जानी रुख हल्लाएर पात खसाएको छ भने त्यसको पर्दाफास किन गर्नु हुन्न? यसरी रुख हल्लाएर पात खसाउनेकाविरुद्ध बोल नेताहरु। साँच्चै देशको उन्नति चाहने हो भने पुरानो पुस्ताले राजनीतिबाट अवकास लिनु नै वेस हुन्छ। मविना आकाश खस्छ भन्ने नठान्नुस्। तपाई हुटिट्याउँ कि राम ? देश अहिले कहाँ छ, तपाईंहरुलाई राम्रोसँग थाहा छ।





