मतपत्र च्यातिएकोमा एकअर्कालाई आरोप, छानविन समिति गठन


प्रकाशित मिति : जेष्ठ १५, २०७४ सोमबार

भरतपुरमा मतपत्र च्यातिएपछि एमाले, काँग्रेस र माओवादीले एकअर्कालाई यसको आरोप लगाएका छन् । आफूले हार्ने भएपछि माओवादीले मतपत्र च्यातेको एमालेको दावी छ भने एमालेले मतपत्र च्यातेको माओवादीको दावी छ । उता काँग्रेसले पनि विजयी सुनिश्चित भएपछि मतपत्र च्यातिएको भन्दै विरोध गरेको छ ।

हार्ने भएपछि माओवादीले च्याते मतपत्र : एमाले

हार्ने भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीले बताए । माओवादी केन्द्रले भने एमालेलाई दोष लगाएको छ । मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा एवम् एमालेका गङ्गालाल लामा रहेका छन् ।

मतगणना स्थलमा उनीहरुले गनिसकेको मतपत्र सङ्ख्या जोड्दै गर्दा च्यातेपछि मतगणना स्थलमा निकै होहल्ला भएको थियो । प्रहरी उपरीक्षक थापाका अनुसार मतगणना स्थगित भएपछि मतपत्र गणना भइरहेको स्थल कवर्ड हलबाट दलका प्रतिनिधिलाई बाहिर निकालेर दुईवटा ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएको छ । सोही माथि एमालेले पनि ताला लगाएको उनले बताए । अन्य दलले पनि ताला लाउन सक्ने थापाले बताए ।

मतपत्र च्यातियो भनेपछि बाहिर रहेका दलका कार्यकर्ता नाराबाजी गर्दै मतगणना स्थलतर्फ गएपछि प्रहरीले लाँठीचार्ज गरेको थियो । सो क्रममा भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहेको थियो । वडा नम्बर २० को मतगणना हुन बाँकी रहेको छ । हालसम्म माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहालभन्दा नेकपा एमालेका प्रमुख पदका ज्ञवाली सात सय ५५ मत अन्तरले अघि रहेका छन् ।

जित्न थालेपछि एमालेका प्रतिनिधिले एक्कासी मतपत्र च्याते : माओवादी

माओवादी केन्द्रले भरतपुर महानगपालिका प्रमुखकी उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतअन्तर घटाएर जित्न थालेपछि एमालेका मतगणना प्रतिनिधिले एक्कासी मतपत्र कब्जामा लिई च्यातेको आरोप लगाएको छ । माओवादी केन्द्र चितवनले मतगणना कार्य अन्तिम चरणमा पुगेका बेला एमालेले मत परिणामलाई प्रभाव पार्ने कार्य गरिरहेको पनि आरोप लगाएको छ ।

माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘एमालेले मतगणनाको सुरुवाती चरणदेखि नै मतपरिणमलाई प्रभाव पार्ने उद्धेश्यले स्वतन्त्र उम्मेदवारको पास प्रयोग गरी अनधिकृत मानिसहरुलाई प्रवेश गराउने, मत गणना स्थल भित्र निषेधित विद्युतिय सामाग्रीहरु प्रवेश गराउने, सामाजिक सञ्जालमा हाम्रा प्रमुख पदका उम्मेदवार र निर्वाचन कार्यालयलाईसमेत अतिरञ्जित प्रचार गरी वदनाम गर्ने कार्य गर्दै आएको थियो ।’

मतगणना चलिरहदा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ३९०० मतअन्तरबाट घटाएर जीत तर्फ अगाडी वढिरहेको बेला एक्कासी एमालेका प्रतिनिधिहरु कृष्णराज न्यौपाने, गणेश लामा, आश्विन घिमिरे, प्राकाश ढुंगाना लगायतले मतपत्र कब्जा गरेको गरी च्यात्न लागेको विज्ञप्तीमा उल्लेख छ । उनीहरुले मतपत्र कब्जामा लिएपछि माओवादी केन्द्रका मतगणना प्रतिनिधि द्रोणबाबु सिवाकोटी र मधु नयौपानेले मतपत्रको रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिन पुगेको माओवादी केन्द्रले स्पष्टिकरण दिएको छ ।

घटनाको वास्तविकतालाई विभिन्न सञ्चारमाध्यमले बंग्याएर समाचार बनाएको भन्दै माओवादी केन्द्र चितवनले आपत्तिसमेत जनाएको छ । घटनास्थलबाट माओवादीका सिवाकोटी र न्यौपाने सँगै एमालेका गंगालाल लामा पक्राउ परेका छन् । पक्राउ परेकालाई तत्काल रिहाइ गर्नुपर्ने र स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० बमोजिम प्रक्रिया अगाडी वढाउन पनि माओवादी केन्द्रको माग छ ।

विजयी सुनिश्चत भएपछि मतपत्र च्यातियो : कांग्रेस

नेपाली कांग्रेस चितवनले १९ नं. वडामा मत पत्रपरिणामलाई असर पर्ने गरी मतपत्र च्यातिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचन ऐनको धारा ४९ र ५० बमोजिम प्रक्रिया अगाडि वढाउन पनि माग गरे ।

विज्ञप्तीमा भनिएको छ,‘१४ गते राती करिब ११ः३० बजे वडा नं. १९ को मतगणना भइरहेको र कांग्रस उम्मेदवारको विजयी सुनिश्चित भइसकेको समयमा घटेको घटना प्रति नेपाली कांग्रेस खेद व्यक्त गर्दछ ।’

निर्वाचन आयोगलाई मतगणना प्रकृयालाई व्यवस्थित गर्न पटकपटक आग्रह गर्दा पनि व्यवस्थित नगरिएकाले उक्त घटना घटेको कांग्रेसको आरोप छ । घटनाको सत्यतथ्य जनसमक्ष ल्याई दोषीमाथि कडा कारवाही गर्न पनि उसको माग छ ।

भरतपुर घटना छानविन गर्न समिति गठन

चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थलमा भएको घटनाको छानविन  गर्न निर्वाचन आयोगले तीन सदस्यीय छानविन  समिति गठन गरेको छ ।

आइतबार राति मत गणनास्थलमा एक्कासी मतपत्र च्यातिएपछि अहिले भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ ।  मतपत्र च्यातिएपछि कांग्रेस र माओवादीले सो वडामा पुनः मतदान गर्नुपर्ने माग राखेका छन् भने एमालेले भने पुनः मतगणना सुचारु गर्न माग गरेको छ ।  तर गठित समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि मात्र आयोगले निर्णय लिने जनाइएको छ ।

निर्वाचन आयोगका सहमहान्यायाधिवक्ता गीताप्रसाद उपाध्यायको नेतृत्वको समिति गठन गरिएकाे हाे । ऐनको दफा ५० को उपदफा ४ मा यदि अनधिकृत तवरले मतगणनास्थल कब्जा भएको पाइए कब्जाबाट असर परेका मतदान केन्द्रहरुको मतपत्रहरु बदर भएको घोषणा गर्ने र पुनः मतदान गर्ने व्यवस्था छ ।

समितिले घटनाबारे आगामी १७ गते प्रतिवेदन आयोगलाई बुझाउने र सोही प्रतिवेदन हेरी मतगणना गर्ने या पुनः मतदान गर्नेबारे निर्णय गर्ने आयोगले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com