खसोखास इन्डोर्समेन्ट: नेपाली समुदायको हितका लागि न्युयोर्क सिटी काउन्सिलमा फतिमालाई जिताऔं


प्रकाशित मिति : असार २, २०७८ बुधबार

न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट २५ मिनी नेपालका रुपमा परिचित छ । न्युयोर्क क्वीन्सको ज्याक्सनहाइट र एल्महस्र्ट लगायतका क्षेत्र समेटिएको यो डिस्ट्रिक्टमा नेपालीहरुको बाक्लो बसोबास हुँदै आएपनि प्रतिनिधित्वको अभावमा स्थानीय सरकारमा नेपालीहरुको आवाज पुर्याउने प्रभावकारी माध्यमको अभाव छ । यसपटकको सिटी काउन्सिलको निर्वाचनमा यो डिस्ट्रिक्टबाट नेपाली मूलका उम्मेदार छैनन् । तर पाकिस्तानी मूलकी उम्मेदबार फतिमा बर्याब यो डिस्ट्रिक्टबाट उम्मेदबार छिन् ।

नेपाली समुदायमाझ हुर्किएकी फतिमाको भोगाई र अमेरिकामा रहेका नेपाली समुदायको भोगाईमा खासै भिन्नता छैन । अल्पसंख्यक समुदायको पीडा, समस्या र बाध्यताहरुलाई जसले बुझेको र भोगेको छ, उसले नै ती समस्या समाधानका लागि सही मार्ग पहिल्याउन सक्छ । भाषिक न्याय, शिक्षा, स्वास्थ्य, सुरक्षा, विभेद लगायतका सन्दर्भमा अल्पसंख्यक पाकिस्तानी समुदायकी फतिमाले देखेभोगेका समस्या र न्युयोर्कको अल्पसंख्यक नेपाली समुदायले देखे भोगेको समस्याहरुको समानतासँगै समाधानका उपायमा पनि समानता छ । त्यसैले नेपाली समुदायबाट आफ्नै मूलको प्रतिनिधि कोही नभएको अवस्थामा फतिमा बर्याबले नेपाली समुदायको समेत प्रतिनिधित्व गर्न सक्छिन् भन्ने आशा गर्न सकिन्छ । त्यसैले खसोखास न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट २५ बाट फतिमा बर्याबको उम्मेदबारीको सर्मथन गर्दछ ।

आफू नेपाली समुदायको माझमा हुर्किएको र नेपाली समुदाय आफ्नो लागि परिवारजस्तै भएको बताउने फतिमाले सुखी संस्थाको सहसंस्थापकका रुपमा डाईभर्सिटी प्लाजामा कैयन नेपाली कार्यक्रमहरुमा सहभागी हुँदै आएकी छिन् भने कैयन कार्यक्रम स्पोन्सर समेत गर्दै आएकी छिन् । सन् २०१३ मा डाइभर्सिटी प्लाजामा नेपाली मेला आयोजना गरिदा पनि सुखी न्युयोर्क पार्टनर संस्था रहेको थियो भने बार्षिक बुद्ध जयन्ती लगायतका कार्यक्रममा पनि फतिमा सहसंस्थापक रहेको यो संस्थाले सहयोग गर्दै आएको छ । नेपालमा महाभूकम्प गइसकेपछि डाइभर्सिटी प्लामा आयोजित मैनबत्ति प्रज्वलनमा समेत फतिमाको सकृय सहभागिता रहेको थियो भने भूकम्प पीडितलाई सहयोगका लागि विभिन्न संघसंस्थासँगको समन्वयमा डाइभर्सिटी प्लाजामा कैयन कार्यक्रम आयोजना गरेर एकलाख डलरभन्दा धेरै रकम संकलन गरिएको थियो ।

फतिमा अहिले चुनावका कारणमात्र नेपाली समुदायको नजिकमा आएकी होइनन्, नेपालीमाझ हुर्किएकी उनी विगत लामो समयदेखि नै न्युयोर्कमा नेपाली समुदायको सुखदुखमा साथ दिदै आएकी छिन् । आवाजमा आवाज मिसाउँदै आएकी छिन् ।

नेपालीहरुलाई टीपीएसका लागि आवाज उठाउनेदेखि नेपाली समुदायको हितमा आवाज उठाउँदै आएकी फतिमाले जीत हासिल गरेको खण्डमा न्युयोर्क सिटी काउन्सिलमा नयाँ इतिहास रचिने छ । न्युयोर्क सिटी काउन्सिलमा प्रतिनिधित्व गर्ने उनी पाकिस्तानी मुलकी पहिलो महिला हुनेछिन् ।

फतिमाले आफ्नो चुनावी अभियानका क्रममा न्युयोर्कमा नेपाली समुदायका समस्याहरु समाधानको विषयलाई पनि प्राथमिकतामा राख्दै आएकी छिन् । अल्पसंख्यक नेपाली समुदायबाट संचालित साना विजनेशहरुको आर्थिक शशक्तिकरण, त्यस्ता विजनेशहरुलाई सहयोग र सरकारी श्रोतहरुको प्रयोग समस्याको विषय रहेको छ । उनले विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन् । त्यस्तै नेपाली समुदायको आवाज सरकारी प्रणालीमा पुगेको सुनिश्चित गर्ने र त्यसका लागि टेबुलमा सिट सुरक्षित गर्न आवश्यक रहेको फतिमा बताउँछिन् ।

फतिमा भन्छिन् – ‘अहिलेसम्म ठूलो नेपाली समुदायको दोश्रो घरका रुपमा रहेको डिस्ट्रिक्ट २५ मा कुनै पनि नेपाली मूलका उम्मेदबारहरु नरहेकाले मेरा तर्फबाट यो सिटमा नेपाली समुदायको प्रतिनिधित्व सम्भव छ । चुनाव जितेपनि नजितेपनि म सधै नेपाली समुदायको साथमा रहन्छु र उनीहरुका विषयलाई चासोलाई सम्बोधन गर्न आवाज उठाइरहन्छु ।’

यदि फतिमाले जितेको खण्डमा नेपाली समुदायका लागि न्युयोर्कमा निर्वाचित जनप्रतिनिधिसँगको पहुँच सहज हुनेछ । अर्थात् फतिमा नेपाली समुदायका लागि सबैभन्दा सहज पहुचकी निर्वाचित जनप्रतिनिधि हुनेछिन् । उनले सिटी काउन्सिलका श्रोतहरु जुटाएर नेपाली समुदायको पहिचान, एकीकरण र शशक्तिकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

यी बाहेक फतिमा बर्याबका समग्र एजेण्डाहरु समुदायका हितमा रहेका छन् । यी र यस्ता कैयन कारणले गर्दा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ बाट फतिमा बर्याबलाई जिताऔं । प्राइमरी चुनावमा जुन २० सम्म अग्रिम मतदान भइरहेको छ भने जुन २२ प्राइमरी चुनावको मुख्य दिन हो । त्यसैले तपाई डिस्ट्रिक्ट १९ को मतदाता हुनुहुन्छ भने मतदानका लागि आजै निस्कनुहोस् । यदि अन्य क्षेत्रमा बस्नुहुन्छ भने डिस्ट्रिक्ट १९ मा तपाईले चिनेको मतदातालाई मतदानका लागि प्रोत्साहन गर्नुहोस् ।

(नोट: यो इन्डोर्समेन्ट खसोखासको सम्पादकीय टिमबाट भएको हो । खसोखासको समाचार कक्ष यो भन्दा अलग हो । यो इन्डोर्समेन्टसँग समाचार कक्षको कुनै सरोकार छैन ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com