२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

केपी कमरेड, विगतको समर्थनमा ग्लानी गर्न हामीलाई किन बाध्य पारेको ?

– राधाकृष्ण देउजा

केही बर्ष अगाडि केपी ओली पार्टीको वरिष्ठ नेताको रुपमा मेक्सिकोको एक कार्यक्रममा भाग लिएर अमेरिका आइपुग्नु भएको समयमा अस्वस्थ भएकोले इमर्जेन्सीमा भर्ना गरियो । त्यतीबेला हामी पनि अस्पतालमा पुगेका थियौं ।

कमजोरी र अस्वस्थताले उहाँको शरीर कम्जोर थियो । अस्पतालले भर्ना प्रक्रिया पुरा गर्दै गर्दा उहाँ मुख छोपेको अवस्थामा हुनुहुन्थ्यो ।

यत्तिकैमा एक डाक्टर आइन् र हामी  र हामी सबैलाई सोधिन् -‘Are you guys from India ?’ ( तिमीहरु भारतीय हौ ?)

त्यहाँ भएको  कसैले जवाफ दिन नभ्याउँदै केपी ओलीले हत्त न पत्त भन्नु भयो – “No, we are from Nepal, country of Mount Everest” ( हैन हामी सगरमाथाको देश नेपालको हौँ ।)

यति हुँदै गर्दा मेरो मनमा केपी ओली भारत निकट भन्ने जुन भावना थियो , त्यो एकै पटक सक्किएको थियो । मैले उहाँको शीघ्र उत्तर दिने शैलीमा  एक देशभक्त  नेपालीको भावना   प्रतिविम्वित भएको महशुस गरेको थिएँ । यो घटनाले मेरो मनमा  उहाँ प्रतिको सम्मान अझै बढेको थियो ।

यस्ता धेरै घटना र प्रसंग छन् । जसको जगमा उहाँ प्रति हामीले विगतमा सम्मान गरेका हौँ र केही अगाडि सम्म गरेकै हौँ ।

म लामो समय नेकपा एमाले पार्टीका नेताहरु मध्यमा माधव नेपाल पछाडी केपी ओलीलाई अत्यन्त आदर गर्दै आएको मानिस हुँ । अझै भन्ने हो भने माओवादी द्वन्द्धकै दौरान उहाँ जुन दृढता सहित माओवादी हिंशाको विरुद्ध आगो  ओकल्नु हुन्थ्यो, अभिव्यक्तिमा त्यस्तो प्रदिप नेपाल वाहेक कोही थिएनन् ।  त्यसैले गर्दा पनि युवा जोश जाँगर सहितको  हत्या हिँशाको  विरोधी म लगायत धेरैले केपी ओलीलाई मन नपराउने कुरै थिएन ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

झन शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म आइपुग्दा उहाँले जे जस्तो भूमिका  खेल्नुभयो, त्यसले गर्दा त झन उहाँलाई अझै मन पराउने आधार मिल्थ्यो । त्यसमाथी पनि जति वेला देखि उहाँप्रति सम्मान बढेको थियो त्यसबेला उहाँ र इमानको दृष्टिले नेपाली राजनीतिको आदर्श माधव नेपालको राम्रो सहकार्य देखिन्थ्यो ।

माधव नेपालले उहाँलाई ६२/६३ को आन्दोलन लगत्तै तत्कालिन सरकारमा एमालेको तर्फबाट नेतृत्व गर्ने गरि उपप्रधानमन्त्री एवं पराष्ट्रमन्त्री बनाउनु भएको थियो भने रुक्माङ्गत कटवाललाई प्रधानसेनापतिबाट हटाउने तत्कालिन माओवादी सरकारको अल्पज्ञानी निर्णयले तत्कालिन सरकार ढलेर माधव नेपाल नेतृत्वमा सरकार बनेपछि त्यसको प्रतिरक्षामा केपी ओलीले राम्रै भूमिका गर्नु  भएको थियो ।

हुन त गुट वा आफु प्रतिको वफादारी हेरेर  भन्दा पनि योग्यता , क्षमता हेरेर जिम्मेवारी दिने स्वभावका धनि  माधव नेपालले आफुले सरकार चलाई रहँदा केपी ओलीको किचेन क्याबिनेटकालाई समेत नियुक्ति  र जिम्मेवारी दिनु भएको थियो ।

दुखको कुरा  तत्कालको देशको आवश्यकता , पार्टीको हित हेरेर माधव नेपालले राजकीय जिम्मेवारी दिएका मध्य तिनै केही ओली किचेन क्याबिनेटहरु  अहिले माधव नेपाललाई गालि गर्न , बदनाम गर्न र मानमर्दन  गर्न ज्यान छोडेर लागेकै छन् । जे होस , अहिले विषयलाई त्यता लगेर समय खेर नफालौं । अहिले केवल सम्माननीय प्रधानमन्त्री एवं श्रद्धय नेता केपी ओलीकै चर्चा गर्ने अनि हिजो हामी गलत थियौं वा आज उहाँ गलत हुनुभयो भन्ने हिसावले हेरौं, विचार गरौँ भन्ने लागेको छ ।

सवैलाई थाहा छ , केपी ओली एक लोकप्रिय र सफल गृहमन्त्री हुनुहुन्थ्यो भने एक कुशल परराष्ट्रमन्त्री  ।

नढाँटिकन भन्दा उहाँले दुवै जिम्मेवारी पाउँदा उहाँ सफल हुने अपेक्षा धेरैले गरेको थिएनन् । तर दुनियाले एमालेको लोकतन्त्र र कानूनी राज्यप्रतिको प्रतिवद्धता मै शंका गरिरहेको समयमा गृहमन्त्री हुनु भएको केपी ओलीले उत्कृष्ट गृहमन्त्री भएर देखाईदिनु भएको थियो ।

६२/६३ पछाडी वहाँ पराष्ट्रमन्त्री हुँदा कतिपयले उहाँको औपचारिक शिक्षाको कमिलाई आधार बनाएर उहाँ सफल हुनुहुने कुरामा आशँका गरेका थिए तर उहाँले त्यसमा पनि उत्कृष्टता प्रदर्शन गरेर देखाउनु भएकै हो । ततपश्चात पनि उहाँले समग्र राजनीतिक कोर्समा लोकप्रिय अडानहरु राख्ने र प्रशंसा योग्य भूमिका खेल्नु भएकै थियो।

यद्यपी उहाँलाई त्यसो गर्नको लागि आन्तरिक रुपमा पार्टीमा अक्सर प्रतिपक्ष भूमिका खेल्ने उहाँको शैलीको अलावा उहाँलाइ अवसर दिने तत्कालिन महासचिव माधव नेपालको नेतृत्वले पनि पक्कै भूमिका खेलेकै थियो । उहाँको त्यही राजकीय भूमिका र राजनीतिक सक्रियताले गर्दा पार्टी भित्र उहाँले जवर्जस्त भूमिका बनाउँन सफल हुनु भएको थियो भने  हामी जस्ता सर्वसाधारण मानिसले पनि उहाँलाई निस्वार्थ रुपमा  सम्मान  र समर्थन गरेकै थियौं ।

त्यसै हुनाले नै हो कि उहाँको विरुद्ध अनेकन आरोप लाग्दा उहाँको पक्षमा लागेर आरोपहरुको खण्डन गर्ने , उहाँको विरोधीहरुसँग उहाँको पक्षबाट प्रतिवाद गर्ने काम पनि हामीले खुशीका साथ गरेकै थियौं ।यद्यपी राष्ट्रिय राजनीतिमा उहाँको भूमिकाको तारिफ गर्ने , अन्तर पार्टीमा पनि उहाँको भूमिका महत्वपूर्ण हुनुपर्छ भन्ने ठान्ने हामी  सवैलाई उहाँ कतै न कतै भारतसँग निकट हुनुहुन्छ भन्ने लाग्ने गर्दथ्यो जुन आशंकालाई पनि  उहाँले प्रथम पटक प्रधानमन्त्री हुँदा खण्डित गर्नु भएको थियो । प्रथम पटक प्रधानमन्त्री हुँदा उहाँले नाकावन्दीको सामना गर्दा निकै प्रशंसा कमाउनुभएको थियो ।

तर दुःखको साथ भन्नु पर्छ कि विगतमा हामीले मानेको केपी ओली क्रमशः हाम्रै विरोधको सामना गर्ने तहमा पुग्नु भएको छ । हिजोको निस्वार्थ समर्थन  आज निर्धक्क गरिने विरोधको तहमा पुगेको छ ।

खासमा उहाँ नेकपा एमालेको अध्यक्ष हुँदै गर्दा उहाँले जे जसरी एकांकी ढंगले पार्टी चलाउने , कमिटिहरु निष्क्रिय हुने उहाँको आदेश नै अन्तिम सत्य जस्तो गर्ने शैली अपनाउँदा गर्दा उहाँ प्रतिको सम्मान आशंकामा परिणत हुँदै गएकोमा नेकपा एमाले र माओवादी मिलेर नेकपा बने पछि  जे जसरी उहाँ सवै छोडेर प्रधानमन्त्रीमा टिक्न अभ्यासरत रहनु भयो, त्यसले विरोधको सुरुवात गरेको थियो ।

झन् उहाँ आफ्नो पार्टी अध्यक्ष पद र प्रधानमन्त्री पद टिकाउनको लागि एकीकृत भएको पार्टी फुटाउने ,जननिर्वाचित संसद विगठन गर्ने लगायतको काम गर्न थाल्नु भयो तव त हिजो हामीले केपी ओलीर्ला गरेको समर्थन र उहाँबाट गरेको अपेक्षाप्रति ग्लानी गर्ने कि अहिले गरिएको विरोधमा गर्व गर्ने भन्ने जस्तो पो भएको छ ।

झन् पछिल्लो संसद विघटन, नेकपा विभाजन हुँदै एमालेदेखि जसपा विभाजन मात्रै नभएर सम्मानित अदालतमा समेत विभाजन र विग्रह ल्याउने कामले त उहाँप्रतिको विगत सम्मान नै वदरभागी हुने देखिन्छ ।

हुन त हिजो पनि उहाँले देखिने बुझिने गरेर जे गर्नु भयो त्यसैको आधारमा समर्थन गरेको हो भने अहिले पनि उहाँले देखिने बुझिने गरेर जे जस्तो हर्कत गर्नु भएको छ त्यसको विरोध गरिएको हो ।

तै पनि आशा त हुने रहेछ कि आफुले समर्थन गरेकोलाई विरोध गर्नु नपरोस । तर लोकतन्त्र , संविधान र देशको हितलाइ दाउमा लगाउनेलाई विगत सम्झेर विरोध गर्न मन नलागेकैले समर्थन गर्ने भन्ने त भएन ।

अझै पनि केपी कमरेडलाई दुइटा  प्रश्न सोध्न मन छ । कमरेड हामीलाई विरोधी करार गर्दै गर्दा आफू अलोकतान्त्रिक करार भएको हेक्का त छ? केपी कमरेड, विगतको समर्थनमा ग्लानी गर्न हामीलाई किन बाध्य पारेको ?

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।