न्युयोर्कका नेपाली युवाले स्वास्थ्य सामाग्री सहयोगका लागि २ दिनमा संकलन गरेर पठाए ९ लाख


प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार

न्युयोर्कको क्वीन्समा रहेका नेपालीको सानो समूहले नेपालमा कोरोना महामारीमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री सहयोगका लागि ९ लाख रुपिँयाभन्दा धेरै रकम पठाएका छन् । दुई दिनको अवधिमा ३८ जनाको समुहले नेपाली रुपैयाँ नौ लाख बाह्र हजार जम्मा गरेका हुन् ।

सो रकम नेपालमा कोरोना महामारीमा स्वस्थ्यकर्मी तथा सर्वसाधारणको सुरक्षा सामाग्री र बिरामीलाई अक्सिजनको लागि उठाइएको हो । अग्नी राईको संयोजन तथा समन्वयमा संचारकर्मी गणेश राईले सो रकम राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाबीर पुनलाई हस्तान्तरण गरेका छन् ।

यो महामारीमा बिरामीले अक्सिजनको अभावमा व्यर्थ ज्यान गुमाईरहेको कारुणिक दृश्यले यो समूहलाई झक्झकायो । समूहका एक सदस्य दिपक खड्काले, योबेला देशलाई सकेको सहयोग गर्नुपर्ने प्रश्ताव राखे । ‘देश र समाजलाई हाम्रो सहयोग आवश्यक छ ।’ उनले भने– ‘यतिबेला नगरे कहिले गर्ने त ।’

महामारीमा हरप्रकारको सहयोग आवश्यक छ । के सहयोग गर्ने त भन्नेबारेमा छलफल भयो । सामूहिक छलपछि तुरुन्तै सबैको एउटै स्वारमा आर्थिक सहयोग गर्ने निर्णय गरे । आर्थिक सहयोग कुन माध्यमबाट गर्ने भन्ने कुरामा निर्विवाद समूहले राष्ट्रिय आविष्कार केन्द्र, नेपालसँग सहकार्य गर्न तम्सिए ।

‘हामीलाई अन्य संस्था वा व्यक्तिहरुमाथीे भरोशा लाग्दैन ।’ सदस्य भुवनमान डंगोल थप्छन्– ‘डा. महावीर पुन तथा आविष्कार केन्द्रसँगको कुरा भयो । यसले सबै साथीहरु हौशिए ।’

आविष्कार केन्द्रसँग समन्वय गर्ने भएपछि सबैजनाले तुरुन्तै गच्छे अनुसार रकम उठाउन थाले । त्यसपछि समूहले महावीर पुनसँग सम्पर्क गरी समन्वय टुङ्गो लगाए । डा. पुनसँगको कुराकानी पछि बिरामीको लागी अक्सिजन कन्सन्ट्रेटर उपयोगी हुने र केही थान खरिद गर्न सकिने सल्लाह भयो ।

साथै, यो महामारीको अग्रस्थानमा काम गर्ने स्वस्थ्यकर्मीहरुको सुरक्षा सामाग्री एकदमै दयनीय रहेको पनि जानकारी भयो ।

समूहका सदस्य चित्रकुमार बस्नेतले प्रस्ताव गरे, ‘हामीबाट उठेको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्त्रण गरौं । बाँकी केन्द्रले महामारी विरुद्धको सामाग्रीमा लगानी गरोस् ।’ थप्छन्, ‘तर यो रकम केवल कोभिड–१९ विरुद्धको लागी हो ।’

यही योजना अनुरुप उक्त रकम संकलन भयो र हस्तान्तरण समेत गरिसकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com