सीएनएन कभर स्टोरी : नेपालको संकट भारतको भन्दा खराब हुनसक्छ


प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार

कोरोना महामारीका कारण नेपालको संकट भारतको भन्दा खराब हुनसक्ने शीर्षकका साथ सीएनएन अन्तर्राष्ट्रिय संस्करणले कभर स्टोरी प्रकाशित गरेको छ । नेपालमा हरेक दिन एकलाखमा औषत २० जना संक्रमित भएको तथ्यांक रहेको र दुईसाता अगाडि भारतमा पनि हरेक दिन एकलाखमा औषत २० संक्रमित भएको तथ्यांक रहेको थियो ।

नेपाल र भारतमा हरेक एकलाखमा देखिएको कोरोना संक्रमणको तुलना । फोटो सीएनएन

सीएनएनमा जुलिया होलिङसवर्थ र सोफी जेओङले हङकङबाट, आशा थापा र कोशराज कोइरालाले नेपालबाट एवं सुगम पोखरेलले अमेरिकाको एटलान्टाबाट गरेको संयुक्त रिपोर्टिङलाई सीएनएनले मुख्य समाचारका रुपमा प्रकाशित गरेको हो । कोरोना संक्रमणदर अत्यन्तै बढेको, अस्पतालहरु भरिभराउ भएको र प्रधानमन्त्रीले अन्य देशहरुसँग सहयोगको याचना गरेको समाचारमा उल्लेख छ ।

सीएनएनको कभर स्टोरीको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

गत सप्ताहन्तमामात्र नेपालमा कुल परीक्षण गरिएकाहरुमध्ये ४४ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको थियो । भारतमा अहिले जे भइरहेको छ, त्यो नेपालको भविश्यको डललाग्दो पूर्वावलोकन रहेको नेपाल रेडक्रसका अध्यक्ष डाक्टर नेत्र प्रसाद तिमिल्सिनाले वक्तब्यमार्फत चेतावनी दिएका छन् ।

सीएनएनमा प्रकाशित कभर स्टोरीको स्क्रीनशट

नेपालमा दैनिक संक्रमणदर भारतमा कोरोनाको दोश्रो लहर फैलिएको केहीसाता लगत्तै अप्रिलको मध्यबाट बढ्न थालेको हो । नेपालमा हरेक एकलाखमा कोरोना संक्रमणदर दुईसाताको अवधिमामात्र ७ गुणाभन्दा बढी बढेको जनाइएको छ । भाइरसको तीब्र फैलावटले स्थीति अझ खराब भएन भने नेपाल पनि भारतको जस्तै विनाशकारी संकटको छेउमा पुगेको सीएनएन रिपोर्टमा उल्लेख छ ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

रिपोर्टमा भनिएको छ  -‘भारतको प्रतिव्यक्ति डाक्टरहरुको संख्याको तुलनामा नेपालमा अझ कम डाक्टरहरुका साथमा नेपालको स्वास्थ्य प्रणाली नाजुक रहेको छ । र छिमेकी राष्ट्रको तुलनामा भ्याक्सिन लगाएको तर पनि कम रहेको छ । मुलुकको संक्रमण दर उच्च रहेको रिपोर्टले प्रयाप्त केसहरुमा पकड नरहेको देखाउँछ । सर्वसाधारणबाट मापदण्डहरुको पालनामा कमी लगायत सरकारको ढिलो कदमसहित चाडपर्वहरु, राजनीतिक जमघटहरु, विवाह लगायतका जमघटका घटनाहरुले कोरोना फैलावट बढाएको छ ।’

अवस्था दिनप्रतिदिन खराब बन्दै गएको र भविश्यमा नियन्त्रणबाहिर जानसक्ने नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समिर अधिकारीले बताएका छन् । नेपालले सिमाक्षेत्रमा कडाइ गरेको छ भने संक्तमणदर उच्च भएका क्षेत्रहरुमा लकडाउन गरेको छ ।

एकमहिना अगाडि नेपालको संक्रमणदर दैनिक झण्डै एकसयमात्र रहेकोमा अहिले ८ हजार ६ सयभन्दा बढी भएको छ । कतिपयले नेपाल र भारतबीचको खुला सिमानाका कारण भारतको कोरोना महामारीको दोश्रो लहर नेपाल छिरेको आरोप लगाएका छन् । पछिल्ला दिनमा भारतमा कोरोनाको महामारी बढेपछि कैयन भारतीयहरु भागेर नेपाल समेत आएका थिए ।

पछिल्ला दिनहरुमा सरकारले नियम कडा बनाएको छ । ३५ नाकामध्ये १३ नाकाबाटमात्र नेपालीहरु भारतबाट नेपाल छिर्नसक्ने प्रावधान बनाइएको छ । भारतबाट फर्कनेहरुको सिमानामा परीक्षण गरिने र नेगेटिभ दिएमा घर पठाइने तथा पोजेटिभ देखिनेलाई क्यारेन्टीन वा अस्पतालमा पठाइने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले सीएनएनलाई बताएका छन् । तर क्वारेन्टीनको नियम भने पूर्णरुपमा पालना भएको देखिएको छैन ।

नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।

जनस्वास्थ्य बैज्ञानिक समिरमणी दिक्षितले यस्ता मापदण्डहरु निकै ढिलो लागु गरिएको र मापदण्डहरु लागु गर्दासम्म नेपालमा संक्रमण फैलिसकेको बताएका छन् ।

सीएनएन रिपोर्टमा भनिएको छ – ‘नेपालमा कोरोना संक्रमण अप्रिलको सुरुवातबाट फैलिन थालेको थियो । जतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबिरुद्ध लड्न अम्बाको पात पकाएर खाए हुने अप्रमाणित प्रचारवाजी गरिरहेका थिए । नेपालीले दैनिक मसलाहरुको सेवन गरेका कारण प्रतिरक्षाप्रणाली मजबुत रहेको गतबर्षको हास्यास्पद टिप्पणीमा थप गर्दै ओलीले अम्बाको पात पकाएर मुख कुल्ला गरेमा कोरोना संक्रमण निको हुनसक्ने बताएका थिए ।’

अप्रिलमा विश्वको ठूलोमध्येको धार्मिक जमघट भारतको कुम्भमेलामा नेपालीहरुले पनि सहभागिता जनाएका थिए । साथै घरघरमा र भारतीय सिमा क्षेत्रमा धार्मिक जमघटहरुमा पनि नेपालीहरु भेला भएका थिए । जसमा सहभागी नेपालका पूर्वराजा रानीहरु कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत रहेका छन् । त्यही समयमा उपत्यकामा पनि ठूला ठूला धार्मिक जमघटयुक्त उत्सवहरु भएका थिए । सहभागीहरुले बोकेका प्लेकार्डमा ज्यानभन्दा पनि चालपर्वहरु प्रिय भएको उल्लेख थियो ।

अप्रिल २४ मा कोरोना संक्रमण दर दैनिक २४ सय भन्दा धेरै पुग्दा समाचारहरु प्रधानमन्त्री ओलीले सन् २०१५ को महाभूकम्पबाट
भत्किएको धरहराको उद्घाटन गरेको समाचारमा केन्द्रीत रहेका थिए । त्यसको पाँचदिनपछि कोरोना संक्रमणदर दोब्बर बढेर ४८ सय पुगेको थियो । अर्कोदिनदेखि सरकारले उपत्यकाब्यापी लकडाउन लागु गरेको थियो । लगत्तै अप्रिल ३० मा जारी सरकारी वक्तब्यमा महामारी थामिनसक्नुभएको उल्लेख थियो ।

कोरोना संक्रमणबिरुद्ध सरकारी कदमको अभावले सर्वसाधारणहरु आक्रोशित भएका छन् । नेपालमा महामारीको सुरुताका झण्डै ३ करोड जनताका लागि १५९५ आईसियु बेड र ४८० मात्र भेन्टिलेटर रहेका थिए । विश्व बैंकको तथ्यांक अनुार हरेक एकलाख जनसंख्याको लागि शुन्य दशमलव ७ प्रतिशत चिकित्सकमात्र रहेका छन् । भारतमा हरेक एकलाख जनसंख्याका लागि शुन्य दशमलव ९ प्रतिशत चिकित्सक छन् ।

शनिबारसम्म ७७ वटा जिल्लामध्ये २२ जिल्लाका अस्पतालहरुमा बिरामी राख्नका लागि बेडको अभाव भएको छ । भारतमा कोरोना महामारी निदर्यी बनिरहँदा नेपाल सरकारले पछिल्लो चरणमा केही कदमहरु चालेको छ । गतसाता विदेशबाट २० हजार अक्सिजन सिलिण्डरहरु अर्डर गरिएको थियो भने मंगलबारबाट नेपाली सेनाले भारतसँगको सिमाक्षेत्रमा स्वास्थ्य सुविधाहरुमा बृद्धि गरेको छ । सुदुरपश्चीममा २ हजार बेडहरुसहित २ सय बेडको आइसोलेसन केन्द्र थपिदैछ । तर त्यहाँ अक्सिजनको अभाव भएको जनाइएको छ ।

नेपालमा भारतको तुलनामा संक्रमणदर झण्डै दोब्बर रहेको छ भने ठूलो संख्यामा कोरोना संक्रमणका केसहरु रेकर्डमा छैनन् । सुरुका दिनमा परीक्षण कमजोर भएपनि पछि हरेकदिन २० हजारसम्मको परीक्षण प्रकृयामा लैजानसकिने क्षमता बृद्धि गरिएको थियो । सुरुका दिनमा परीक्षणका लागि स्वाबहरु हङकङ पठाइएको थियो ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

अर्कातर्फ नेपालमा भ्याक्सिन वितरण दर अत्यन्तै कम रहेको छ । कुल जनसंख्याको ७ दशमलव २ प्रतिशतलेमात्र कम्तीमा एकडोज भ्याक्सिन प्राप्त गरेका छन् । जुन भारतको भन्दा कम हो । भारतमा कुल जनसंख्याको १० प्रतिशतले कम्तीमा एकडोज भ्याक्सिन लगाएका छन् । आगामी केहीसाता नेपालमा महामारी नियन्त्रणमा चिन्ताजनक हुने बताइएको छ ।

कभर तस्वीरमा भैरहवाको अस्पतालको दृश्य ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com