कोरोना संक्रमणपछि अमेरिकामा ४७ वर्षका सुर्य बहादुर भण्डारीको निवासमै निधन


प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार

कोरोना संक्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा ४७ वर्षका सुर्य बहादुर भण्डारीको निधन भएको छ । क्यालिफोर्निया नरवाक सिटीमा बस्दै आएका भण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

लमजुङ मस्र्याङदी गाँउपालिका ९ स्थायी घर भएका भण्डारीको विहीबार अपरान्ह मृत्यु भएको क्यालिफोर्नियामै बस्ने निजका भाई सुवास भण्डारीलाई उद्धृत गर्दै इनेपलिजले समाचार प्रकाशित गरेको छ । झण्डै १२ वर्षदेखि परिवारसहित अमेरिकामा बस्दैआएका स्वर्गीय भण्डारीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

केही दिनअघि स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा पुगेका भण्डारीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि होम आइसोलेशनमा बस्ने भन्दै घर फर्किएका उनको आफ्नै निवासमा निधन भएको हो ।

मृतकको शव अहिले अस्पतालमा रहेको र आवश्यक प्रकृया पुरा गरी अन्तिम संस्कार सम्पन्न गरिने जनाइएको छ ।

अमेरिकामा कोरोनाको पहिलो सामुदायिक संक्रमणको केस गतबर्षको फेब्रुअरीमा भेटिएको थियो । त्यसयता झण्डै एकबर्ष बितेको छ । यो अवधिमा अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार भन्दा धेरै पुगेको छ ।

कोरोना महामारीबाट विश्वमा सबैभन्दा धेरै मृत्यु हुनेहरु अमेरिकामा नै गणना गरिएको छ । पहिलो विश्वयुद्ध, दोश्रो विश्वयुद्ध र भियतनाम युद्ध समेत जोड्दा भएको मृत्युभन्दा धेरै अमेरिकामा कोरोना महामारीबाट मान्छेको ज्यान गएको छ ।

त्यसपछि ब्राजिलमा ४ लाख ३ हजार भन्दा धेरैको मृत्यु भएको छ । तेश्रोमा मेक्सिकोमा २ लाख १६ हजार बढीको मृत्यु भएको छ भने चौथोमा भारतमा २ लाख ११ हजारभन्दा धेरैको मृत्यु भएको छ । तर भारतमा मृत्यु भएकाहरुको ठूलो संख्या आधिकारिक गणनामा नरहेको समाचारहरु आइरहेका छन् ।

मार्चको अन्तिम साता न्युयोर्कका कोरोनाबाट एकजना नेपालीको मृत्यु भएसँगै अमेरिकामा कोरोनाबाट नेपालीका मृत्युका खबरहरु आउन थालेका थिए । अहिलेसम्म कम्तीमा दुईदर्जन नेपालीहरुको अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । न्युयोर्कमा मात्रै मृत्यु हुनेको संख्या कम्तीमा एकदर्जन रहेको छ ।

मार्चको तेश्रो साता न्युयोर्कमा अनिल लिम्बुको कोरोना संक्रमणबाट मृत्यु भएपछि त्यसको तीनमहिनामा न्युयोर्कमा ज्यान गुमाउने नेपालीहरुको संख्या झण्डै एकदर्जन र अमेरिकाभरमा झण्डै डेढदर्जन पुगेको थियो ।

पछिल्लोपटक न्युयोर्कमा कोरोना संक्रमणबाट झण्डै दुईमहिनादेखि आईसीयुमा रहेका एकजना नेपालीको मार्चको अन्तिम साता निधन भएको थियो । सिन्धुपाल्चोकको हेलम्बु स्थायी घर भएका उनको पछिल्लो चरणका कोरोना नेगेटिभ देखिएको तर कोरोना संक्रमणबाट उत्पन्न जटिलताका कारण निधन भएको थियो ।

 

न्युयोर्कको नेपाली समुदायले कोरोना महामारीबाट गुमाएका केही व्यक्ति

 

अनिल लिम्बु 


न्युयोर्कको क्वीन्समा बस्दै आएका ५० बर्षका अनिल लिम्बुको कोरोनाको संक्रमणका कारण मृत्यु भयो । कोरोना संक्रमणबाट अमेरिकामा यो नेपालीको पहिलो मृत्यु हो । लिम्बुको एल्महस्र्ट अस्पतालमा निधन भएको हो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

निमा टेम्बा शेर्पा

न्युयोर्कको क्वीन्स निवासी निमा टेम्बा शेर्पाको कोरोना संक्रमणका कारण अप्रिलको पहिलो साता अस्पतालमा मृत्यु भयो । ४४ बर्षको शेर्पाको स्थानीय एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपालमा सोलुखुम्बु घर भएका शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्।

बिष्णु राई

न्युयोर्ककै एल्महस्र्ट अस्पतालमा मार्च २७ मा कोरोना सक्रमणका कारण ७२ बर्षका बिष्णु राईको निधन भयो । लामोसमय होमलेस सेल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अधिकारकै सहयोगमा नर्सिङ होम प्राप्त गरेका थिए । उनी सन् २०१७ को फरबरी २४ देखि एल्महस्र्ट अस्पतालबाट रकवे केयर सेन्टरमा भर्ना भएका थिए । दुई दाजुभाई र एकबहिनीमा जेठा बिष्णुकुमार राई अविवाहित थिए ।

राजकुमार थापा

अप्रिलको दोश्रो साता न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४७ बर्षका राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भयो । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको सोही अस्पतालमा निधन भएको हो ।
उनलाई मार्च १४ बाट अस्पतालमा भर्ना गरिएकोमा अप्रिल ९ मा निधन भएको हो ।

पवनकुमार मल्ल

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको अप्रिलको दोश्रो साता कोरोना संक्रमणका कारण मृत्यु भयो । मल्लको न्यूयोर्क उडसाइडस्थित बस्दै आएको अपार्टमेन्टको कोठामा मृत्यु भएको हो । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे ।

महेश अमात्य

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ६९ बर्षिय महेश अमात्यको अप्रिलको तेश्रो साता कोरोना संक्रमणका कारण जमैका अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । काठमाण्डौं स्थायी घर भएका अमात्यका श्रीमती र ३ छोरा छन् । अमात्य केही महिना पहिले मात्रै अमेरिका आएका थिए । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।

सोनी डंगोल

न्युयोर्क निवासी नेपाली महिला बक्सिङ खेलाडी सोनी डंगोलको फेब्रअरी ३ मा निधन भयो । एकसाता उपचारपछि डंगोलको जमैकामा रहेको अस्पतालमा निधन भएको थियो । न्युयोर्कको जमैकामा पति विजय डंगोलसहित सपरिवार बस्दै आउनुभएकी डंगोलले न्युयोर्कको ब्रुकलिनमा आफ्नै शैलुन चलाउँदै आउनुभएको थियो ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com