एसबीएले अब साना विजनेशलाई ५ लाख डलरसम्म दिने, यसरी गर्नुहोस् अनुरोध


प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार

अमेरिकामा कैयन साना विजनेशहरुले उपयुक्त ऋण नपाएर संघर्ष गरिरहेको बेलामा एसबीएको आपतकालिन ऋण कार्यक्रम अन्तरगत अब साना विजनेशहरुले ५ लाख डलरसम्म ऋण पाउने भएका छन् । एसबीएले साना विजनेशहरुका लागि ऋणको सिमा बढाएको हो ।

महामारी सोंचेभन्दा पनि लामो समयसम्म भएकाले साना विजनेशलाई सहयोग गर्न एसीबएले यो निर्णय लिएको हो । त्यसैले अब उनीहरुले प्राप्त गर्नसक्ने ऋण रकम विगतको तुलनामा तीनगुणासम्म बढाइने भएको छ ।

ईआईडीएल ऋणमा उक्त परिवर्तन लागु भइसकेको छ । पहिले नै ऋण लिइसकेकाहरु र अहिले ऋण रकम बढाउनका लागि योग्य भएकाहरुले ऋण रकम बढाउनका लागि  [email protected] मा इमेल गर्नुपर्नेछ । इमेल गर्दा विषयमा “EIDL Increase Request for [Application number]” लेखेर आफ्नो १० अंकको आवेदन नम्बर राख्नुपर्नेछ ।

त्यसपछि मेसेजमा अहिले प्राप्त गरेको ऋणरकम, ऋण नम्बर, विजनेशको नाम, ठेगाना, आफ्नो नाम र फोन नम्बर समेत राख्नुपर्नेछ । प्रारम्भिक अनुरोधमा कुनै वित्तिय कागजात वा ट्याक्स रेकर्ड भने उक्त इमेलमा नपठाउन सुझाव दिइएको छ । एसीबीएले थप कागजात आवश्यक भएमा फ्लोअप इमेल पठाउनेछ ।

ठूलो संख्यामा अनुरोधहरु आउने भएकाले हेरेर स्वीकृत गर्नका लागि केही सातासम्म लाग्ने जनाइएको छ । ऋणको रकम बढाउन अनुरोध गर्नेहरुलाई एसबीएबाट तुरुन्तै रेस्पोन्स नआएको खण्डमा पनि एउटाभन्दा बढी इमेल नगर्न सुझाव दिइएको छ । एउटाभन्दा बढी इमेल पठाउँदा आवेदन प्रकृयामा अझ ढिलाई हुनसक्नेछ ।

अहिलेसम्म ऋण नपाएकाहरुलाई पनि पहिलोपटक ऋण स्वीकृत गर्दा पनि तीनगुणाबढी सम्म ऋणका लागि अफर गरिने भएको छ ।

महामारी सुरु भएदेखि एसबीएले झण्डै ३८ लाख विजनेशहरुलाई सस्तो ब्याजमा ऋण दिएको छ । सुरुमा ९ लाख डलरसम्म ऋण दिइएपनि पछि डेढ लाख डलरमा सिमित गरिएको थियो । अब त्यसलाई बढाएर ५ लाख डलरसम्म बनाइने भएको छ ।

कोरोना भाइरस कार्यक्रम अन्तरगत एसबीएसँग अहिले झण्डै २५० बिलियन डलर बाँकी रहेको जनाइएको छ । यो ऋण ३ दशमलव ७५ प्रतिशत ब्याजदरमा प्रदान गरिन्छ भने तीसबर्षभित्र तिर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com