तीन दलको बैठक : आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव


प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेको छ। शुक्रबार आफ्नो निवास बुढानीलकण्ठमा माओवादी र जसपासहितको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको नेतृत्व लिन कांग्रेस तयार रहेको भन्दै समर्थन गरिदिन आग्रह गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सभापति देउवाले सुरुमै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेकाले समर्थन गर्नुपर्‍यो भनेर दुई दलका नेतालाई प्रस्ताव राखेको जानकारी दिए।

नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्र सधैँ खुला रहेको र ओलीको विकल्पमा बन्ने जुनसुकै सरकारलाई आफूहरुको समर्थन रहनेसमेत बैठकमा जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए।

तर जनता समाजवादी पार्टीले भने कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा आफूहरुले दलभित्र छलफल गर्नुपर्ने जवाफ दिएको छ। ‘पहिलोपटक सरकार बनाउने प्रस्ताव आएको छ, यसमा हामीले छलफल गरेको छैन,’ सञ्चारकर्मीसँग जसपा अध्यक्षम महन्थ ठाकुरले भने।

प्रधानमन्त्री ओलीले आफ्ना मागका विषयमा कारबाही अघि बढाइसकेकाले कांग्रेसलाई समर्थन गर्ने विषयमा पार्टीभित्रै छलफल गर्नुपर्ने जवाफ दिएको ठाकुरले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com