ठूला दलहरुको नैतिकता छ भने संसदको निर्वाचन गराउनुपर्थ्यो : संयोजक भट्टराई


प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले ठूला दलहरुको नैतिकता हुन्थ्यो भने संसदको निर्वाचन गराउनुपर्ने बताउनुभएको छ ।

मंगलबार बिहान कञ्चनपुरमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘उहाँहरुको नैतिकता हुन्थ्यो भन्नुभयो संविधान बनाउन पाएको म्याण्डेट लिएर अहिलेसम्म सत्तामा बसिराख्ने होइन, सुरुमै संसदको निर्वाचन गराउनु पर्दथ्यो ।’ उहाँले संघीयतामा गइसकेपछि सुल्टो भनेको पहिले केन्द्र, अनि प्रदेश र त्यसपछि स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले संसदको निर्वाचनपछि मात्र क्रमशः प्रदेश र स्थानीय तहको गर्नुपर्नेमा ठूला दलहरु उल्टो बाटो हिँडेकोबताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुलाई आफ्नो आधार खस्केला भन्ने डरले भागबन्डामा अल्झिनुभएको छ र उल्टो बाटो हिँडिरहनु भएको छ, त्यो संघीयताको मर्म र भावना विपरित छ ।’

संयोजक डा. भट्टराईले विभिन्न प्रतिकूलताका बावजुद अहिलेको चुनावलाई संघर्षको मोर्चाको रुपमा प्रयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक वर्ष पनि नपुगेको १०/११ महिनाको पार्टीले देशैभरी प्रतिष्पर्धा गर्न सक्ने अवस्था पनि थिएन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले पुराना दलहरु संकटमा रहेको भन्दै सबै दलहरु उस्तै भएको स्पष्ट पार्नुभयो । ‘उहाँहरुले झन्डा र साइनबोर्ड फरक झुन्ड्याउनु भएको छ तर, कुनै भिन्नता भन्नुभयो छैन,’ उहाँले भन्नुभयो, ‘ऐतिहासिक कालखण्डमा कांग्रेस भन्ने एउटा ब्रान्ड बन्यो, पछि आएर कम्युनिष्ट भन्ने ब्रान्ड बन्यो, ती ब्रान्डहरुलाई बेचेर तत्काल सत्ताको भागबन्डा गर्ने अवसर त पाउनुभएको छ र अझै केही समय गर्नुहोला तर, त्यो ब्रान्डभन्दा खास अन्तर रहेन ।’ उहाँले पुराना शक्ति नाकाम भएकोले नै देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

उहाँले राष्ट्रियता र स्वाधीनताको प्रश्नमा मुख्य शक्तिहरु विभाजित हुनु दुःखद भएको धारणा राख्नुभयो । ‘यहाँ एउटा पक्ष भारतीय शक्ति केन्द्रलाई रिझाउने र अर्को पक्ष नयाँ शक्ति केन्द्रको रुपमा उदाएको चीनलाई रिझाएर अर्को ध्रुव खडा गर्ने प्रयासमा रहेका छन्,’ उहाँले अगाडि भन्नुभयो, ‘यसरी देशलाई दक्षिण र उत्तरतिर तानातान गरेर अथवा भारतमुखी र चीनमुखी बनेर मुलुकको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्तामाथि आँच पुर्‍याउने काम भइरहेको छ ।’ उहाँले यस्तो ध्रुवीकरण देशभित्र मात्र होइन, बाह्य शक्ति केन्द्रहरुलाई निम्त्याएर देशलाई ठूलो सामरिक केन्द्र बनाउने प्रयास भइरहेक बताउनुभयो  ।

मुलुक गम्भीर समस्यामा रहेको भएपनि पुराना दलहरु सत्ता भागबन्डाकै टालटुले समाधानमा अल्मिलएको उहाँको आरोप थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com