सरकारले गर्‍यो विप्लव समूहसँग दोस्रो चरणको वार्ता


प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग बुधवारै दोस्रो चरणको वार्ता गरेको छ। बिहान पहिलो चरणको वार्तामा बसेको सरकारले साँझ दोस्रो चरणको वार्ता गरेको हो।

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्।

भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता विषयकेन्द्रीत रह्यो। दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

यसअघि बुधबार बिहानको वार्ता सकारात्मक भएको भट्टराईले जनाएका थिए। बिहानको वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग अगाडि सारेको छ।

मंगलबार वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा सरकारी वार्ता टोली र प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com