डेढमहिनादेखि न्युयोर्कबाट बेपत्ता नेपाली अजय सोही रात ब्रुकलिन ब्रिजमा (सीसीटिभी शट समेत)


प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार

झण्डै डेढ महिना अगाडि न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय शाहको बारेमा प्रहरीले केही थप विवरणहरु सार्वजनिक गरेको छ । उनी जनवरी २० को विहान झण्डै ५ बजे ब्रुकलिन ब्रिजमा देखिएको विवरण सार्वजनिक भएको छ ।

ब्रुकलिन ब्रिजमा सीसीटिभी फुटेजमा देखिएका अजय

त्यस क्षेत्रको सीसीटिभी फूटेज हेर्दा उनी ब्रिजमा ब्याकप्याकसहित एक्लै हिडेको देखिएको जनाइएको छ । यसअगाडि जनवरी १९ को राती १२ बजेतिर न्युजर्सीबाट न्युयोर्कको पेन स्टेशनमा आएको र न्युयोर्कको पेन स्टेशनबाट बाहिर निस्केको मात्र सीसीटिभी फुटेजमा देखिएको थियो । न्युयोर्कको पेन स्टेशनबाट निस्केर उनी कता लागे भन्नेबारे भने केही खुलेको थिएन ।

पेन स्टेशनबाट बाहिर निस्केपछि ब्रोडवे र बार्कलेमा देखिएका अजय

अजय शाहको नाम हराएका व्यक्तिको नेशनल डाटावेशमा समावेश गरिएको छ । तर उनीहरुबारे अन्य कुनै थप विवरण प्राप्त भएको छैन । न्युजर्सीको म्याडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत शाह म्याडिसनमै बस्दै आएका थिए ।

अजयको कोठामा गएर हेर्दा टेबुलमा आई लभ यु ममी लेखेको नोट भेटिएको थियो । तर उक्त नोटमा अरु केही नलेखिएको र रद्दीमा फ्याकिएको एउटा नोटमा उनले अब केही गर्ने बेला भएको व्यहोरा लेखेको अजयका दाजु शिव शाहले जानकारी दिए ।

अजयले सम्भवत उक्त दिन यो टोपी लगाएको देखिएको छ ।

उनले कम्प्युटरमा न्युयोर्कको फोर्ट वासिंटन पार्कका बारेमा सर्च गरेको र लोकेशन समेत हेरेको देखिएको थियो । यो पार्क एटलान्टिक ओसनसँग जोडिएको हडशन रिभरसँग जोडिएको छ ।

उनको बैंक डिटेलमा अन्तिमपटक न्युयोर्क आउनका लागि कार्डबाट टिकट किनेको देखिएको छ भने तयसपछि कुनै पनि ट्रान्जेक्सन नदेखिएको जनाइएको छ । जनवरी १९ पछि अजयको फोन पनि निस्कृय रहेको छ भने सामाजिक सञ्जाल लगायतमा समेत उनी अनलाइन देखिएका छैनन् ।

अजयले हराउनुभन्दा दुईदिन अगाडि आफूसँग सामान्य कुराकानी गरेको दाजु शिव शाहले जानकारी दिएका छन् । नेपालमा भने उनले दैनिकजसो नै आमासँग कुराकानी गर्दै आएको जनाईएको छ ।

न्युजर्सीको म्याडिसन प्रहरीले शाहको खोजी गरिरहेको छ । ५ फिट ६ इन्च उचाई भएका अजय शाहको कालो आँखा र कालो कपाल रहेको र तौल अन्दाजी १२५ पाउण्ड रहेको प्रहरीले जारी गरेको सुचनामा उल्लेख छ ।

एफबीआईएको राष्ट्रिय अपराध सुचना केन्द्रमा पनि उनी हराएकोबारे सुचनाहरु हालिसकिएको छ । अजय अध्ययनरत युनिभर्सिटीले पनि खोजिका लागि पहल गरिहेको छ ।

पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ । जयले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्दै आएका थिए ।

ट्रेनबाट न्युयोर्क आउने क्रममा एकजना साथीसँग ट्रेनको बारेमा केही जानकारीहरु लिएको समेत खुलेको छ । तर उक्त सम्बादमा सामान्य जानकारी लिनेबाहेक अरु थप कुराकानी भएनभएको केही खुलेको छैन ।

दाजु शिव शाह अजयले गुगलमा सर्च गरेको फोर्ट वासिंटन पार्कदेखि न्युयोर्कमा विभिन्न स्थानमा पुगिसकेका छन् । तर पनि केही पत्तो लागेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com