देव गुरुङलाई बर्खास्त गर्दै विशाल भट्टराईलाई प्रमुख सचेतक बनाउने ओलीको निर्णय


प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्। ओलीले देव गुरुङलाई बर्खास्त गर्दै भट्टराईलाई नियुक्त गरेका हुन्।

भट्टराईलाई संसदीय दलका उपनेता सुवास नेम्वाङको उपस्थितिमा सचेतकमा नियुक्त गरिएको हो। भट्टराई खोटाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।

गुरुङले ओलीको कदम नैतिकता गुमाइसकेको अवस्थाको पराकाष्टा भएको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘इमान्दारिता र नैतिकता गुमाइसकेको अवस्था हो। त्यसैले अहिले जे गर्नुभएको छ, त्यो नैतिकता गुमाइसकेको अवस्थाको पराकाष्टा हो।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइरहेका बेला ओलीले संसदीय दलमा हेरफर गरेका हुन्। नेकपाको प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेको छ।

प्रचण्ड–माधव समूहले यसअघि नै प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेको छ। तर ओली पक्षले भने बहुमतले बनाएको नेतालाई कसैले हटाउन नमिल्ने बताउँदै आएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com