प्रचण्ड-माधवको ‘सत्ता दौडधुप’


प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार

प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा भएसँगै चितवनको सभा छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल रातारात काठमाडौं फर्किए। लगत्तै उनीहरुले राजनीतिक भेटघाटमा लागे। उनीहरुको भेटघाटको मुख्य उद्धेश्य थियो–आगामी सरकार कसरी बनाउन सकिन्छ भनेर अन्य दलहरुसँग छलफल गर्नु।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेर आधा घण्टा छलफल गरे। जसमा उनीहरुले मिलेर नयाँ सरकार गठनको प्रक्रियामा जान देउवालाई प्रस्ताव गरे। देउवाले पार्टीभित्र छलफल गरेर जानकारी दिने आश्वासन दिए।

सोहीअनुसार कांग्रेसले बिहीबार पदाधिकारी बैठक बोलायो। बैठकले सरकार बनाउने विषयमा निर्णय गर्न अझै परिपक्व स्थिति आइनसकेको निष्कर्ष निकालेको छ। यद्यपि प्रचण्ड–माधव समूहको तर्फबाट सरकारको नेतृत्व गर्न प्रस्ताव गरिएकोबारे कांग्रेसले स्वीकार गरेको छैन। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशरण महतले अस्वीकार पनि गरेनन्।

‘बदलिँदो राजनीतिक परिस्थितिमा छलफल कुरा भइरहन्छ, के के प्रस्ताव आउँछ,’ उनले भने,‘तर, यसो गर्ने उसो गर्ने भन्नसक्ने परिपक्व स्थिति आइसकेको छैन।’ यद्यपि कांग्रेस नेताहरुले पार्टी सत्ताको खेलमा लाग्नुभन्दा संसदीय गरिमा बचाउनेतर्फ लाग्नुपर्ने बताइरहेका छन्।

देउवासँगको दिउँसोको भेटपछि बुधबार साँझ बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने निष्कर्ष निकाल्यो।

सरकार गठनको विषयलाई लिएर भइरहेको प्रचण्ड-माधव समूहको दौडधुपलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ‘गोरु ब्याएर बिगौती खान खोजेको’ भन्दै व्यंग गरे। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले प्रचण्ड र नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नै नरहेको भन्दै उनीहरुको दौडधुपलाई निरर्थक भने।

उनले लेखेका छन्, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व) मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ।’

यो समूहले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरसँग पनि भेट गरेको छ। भेटमा जसपाले सत्ता सहकार्यअघि कित्ता स्पष्ट पार्न प्रचण्ड-माधव समूहलाई सुझाव दिएको छ। जसपा नेताहरुल् सहकार्यअघि नेकपाको आधिकारिकता टुंगिनुपर्ने बताएका थिए।

प्रतिनिधिसभाको गणित
प्रतिनिधिसभाका कूल २७५ सदस्यमध्ये नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र मोहम्मद आफताव आलम निलम्बनमा छन्। यसैगरी जसपाका पनि दुई सांसद निलम्बनमा छन्। नेकपाका तर्फबाट सभामुख बनेका अग्निप्रसाद सापकोटा मतदानमा सहभागी हुने छैनन् भने सानु शिवाको निधन भइसकेको छ।

त्यसैले अहिले प्रतिनिधिसभा सदस्य संख्या २६९ छ। प्रतिनिधिसभा सदस्यको गणितअनुसार सरकार बनाउन न्यूनतम १३८ सांसदको समर्थन आवश्यक हुन्छ।

ओली र प्रचण्ड–माधव समूह गरी नेकपाका १७२ प्रतिनिधिसभा सदस्य छन्। पार्टीमा विवाद उत्पन्न भएयता प्रचण्ड–माधव समूहको पक्षमा ९१ र ओली समूहतर्फ ८१ सांसद छन्।

सरकार बनाउने दावी प्रस्तुत गर्दा दुवै समूहलाई ६१ सांसद रहेको कांग्रेसकै साथ जरूरी हुन्छ। किनभने ३२ सांसद रहेको जसपाले मात्रै साथ दिँदा नेकपाको दुवै समूह सरकार बनाउन चाहिने बहुमतको संख्या पुर्‍याउनसक्ने स्थितिमा छैनन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com