बाइडेनले आप्रवासन रोक खारेज गरेपछि भिसा कुरेकाहरु र डिभी विजेताले चाल्नुपर्ने कदम


प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार

राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायत परिवार र रोजगारमा आधारित आप्रवासी भिसामा लगाइएको रोक खारेज गरेपछि अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसाको प्रतिक्षा गरेकाहरु र डिभी विजेताहरुका लागि अब चाल्नुपर्ने कदमबारे निर्देशिका जारी गरेको छ । बाइडेनले आज एक कार्यकारी आदेशमार्फत डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेश १००१४ खारेज गरिदिएका हुन् ।

अन्तरवार्ता नभइसकेकाहरु

आप्रवासन रोकका कारण अहिलेसम्म अन्तरवार्ता नभइसकेकाहरु र अन्तरवार्ताको मिति तय नभइसकेकाहरुका सन्दर्भमा चरणबद्ध रुपमा अन्तरवार्ताको मिति उपलब्ध गराइने भएको छ । पहिलेकै फ्रेमवर्क अन्तरगत चरणबद्ध रुपमा उनीहरुका लागि भिसा जारी गरिने भएको हो ।

गतबर्षको मार्चमा विश्वभर नियमित भिसा सेवा बन्द भएपनि जुलाईदेखि अमेरिकी दूतावास र कन्सुलेटहरुले चरणबद्ध रुपमा विभिन्न प्रकारका भिसाहरु जारी गर्न थालेका थिए । जस अन्तरगत काठमाडौंमा रहेको अमेरिकी दूतावासले योग्य आप्रवासी भिसा, छुटमा परेका भिसाहरु, विभिन्न प्रकारका गैरआप्रवासी भिसाको नविकरण सुरु गरेको थियो । अदालतको आदेशपछि सेप्टेम्बरमा दूतावासले आर्थिक बर्ष सन् २०२० का डिभी विजेताहरुलाई भिसा प्रदान गरेको थियो ।

पहिले भिसा अस्वीकृत भएकाहरु

ट्रम्पको आप्रवासन रोकका कारण भिसा अस्वीकृत भएकाहरुको आप्रवासी भिसा आवेदन कायम नै रहनेछ । आप्रवासन रोकका कारण अन्तरवार्ता भइसकेका कैयनको समेत भिसा अस्वीकृत भएको थियो ।

उनीहरुले आफूले अन्तरवार्ता दिएको दूतावास वा कन्सुलेटबाट थप जानकारीको प्रतिक्षा गर्नुपर्ने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । ट्रम्पको कार्यकारी आदेशका कारण अस्वीकृत भएका भिसा जारी गर्ने प्रकृयामा लगिने र थप जानकारी आवश्यक परेमा सम्पर्क गरिने जनाइएको छ ।

परिवार, रोजगार र डिभीमा आधारित आप्रवासी भिसामाथिको रोक बाइडेनबाट खारेज

भिसा पाएका २०२० का डिभी विजेताहरु

भिसा जारी भइसकेका सन् २०२० का डिभी विजेताहरु आफ्नो अद्यावधिक भिसासहित तुरुन्तै अमेरिका प्रवेश गर्न सक्नेछन् । उनीहरुको भिसाको नोटमा ‘प्रवेश कार्यकारी आदेश १००१४ मा भर पर्ने’ उल्लेख भएपनि उनीहरु अहिले नै अमेरिका आउन सक्नेछन् ।

भिसाको अवधि सकिइसकेका डिभी विजेताहरुका लागि उक्त भिसाको सट्टामा नयाँ भिसा जारी नगरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । तर उनीहरु डिस्ट्रिक्ट कोर्टको आदेश अनुशार एक्सपायर भएको भिसासहित अमेरिका प्रवेश गर्न सक्नेछन् । अदालतले कहिलेसम्म ती भिसाहरु अद्यावधिक मानिने भन्ने सन्दर्भमा स्पष्ट नपारेकाले उनीहरुलाई तुरुन्तै यात्रा गर्न विदेशमन्त्रालयले सुझाव दिएको छ ।

अदालतको आदेश संसोधन हुन वा परिवर्तन समेत हुनसक्ने भएकाले अदालतको आदेशबाट फाइदा लिन चाहनेहरुले व्यवहारिक रुपमा जतिसक्दो छिटो अमेरिका आउन सुझाव दिइएको छ । भौगोलिक रुपमा कोरोना महामारी सम्बन्धित अन्य रोकहरुमा परेका डिभी विजेताहरुका लागि समेत सरकारले छुट दिएकाले जुनसुकै भुगोलबाट समेत उनीहरु अमेरिका आउन सक्ने भएका छन् ।

भिसा नपाएका २०२० का डिभी विजेताहरु

सन् २०२० को सेप्टेम्बर ३० अगाडि भिसा नपाएका आर्थिक बर्ष सन् २०२० का डिभी विजेताहरुले भने अब भिसा नपाउने भएका छन् । उनीहरुको अन्तरवार्ता तय नगरिने, अन्तरवार्ताको मिति नदिइने र भिसा जारी नगरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

आर्थिक बर्ष २०२० का डिभी विजेताहरु गत सेप्टेम्बर ३० सम्ममात्र भिसा पाउन योग्य भएकाले त्यतीबेलासम्म भिसा नपाएकाहरुले अब भिसा पाउनेछैनन् ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

२०२१ का डिभी विजेताहरु

आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले भने अब भिसा पाउन सुरु गर्नेछन् । तर उनीहरुलाई दूतावास वा कन्सुलेटहरुले चरणबद्ध रुपमा उपलब्ध साधनश्रोतका आधारमा भिसा प्रदान गर्नेछन् । यसबारे सम्बन्धित दूतावास र कन्सुलेटबाट समेत थप सुचना जारी गरिने जनाइएको छ ।

नेपालीहरुका सन्दर्भमा मार्चमा ४२ सय सम्म र अप्रिलमा ४५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  भिसा पाउनमा ढिलो भएको हो । तर अब उनीहरुले मार्चदेखि भिसा पाउने देखिएको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको नियमित भिसा सेवा सुचारु नभएपनि दूतावासले साधन श्रोतले भ्याएसम्म आप्रवासी भिसाहरु जारी गरिरहने सम्भावना छ ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com