तत्काल राजीनामा नदिने ‘मूड’ मा ओली
प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार
प्रतिनिधिसभा विघटनलाई सर्वाेच्च अदालतले बदर गरेपछि राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी ओली भने तत्काल राजीनामा नदिने ‘मूड’ मा देखिएका छन्। उनीसमर्थित नेता कार्यकर्ताहरुले राजीनामा नदिन भनिरहेका छन्।
पुनःस्थापनाको फैसलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले पनि यसैको संकेत गरे। बुधबार आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा (डिजिटल स्वायल म्यापिङ) सार्वजनिक कार्यक्रम’ मा उनले भने, ‘सरकार छ, सरकार रहन्छ, विकासको काम अगाडि बढिरहेको छ, बढिरहन्छ, तपाईंहरु विकासको मार्गमा निश्चिन्त भएर अगाडि बढिरहनुस्।’
उनले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सर्वोच्चले फैसला गरेपछि लड्डु खाएर खुसीयाली मनाएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई व्यंग पनि गर्दै भने, ‘हिजो मेरा भाइहरुले लड्डु खाए, के जिते थाहा छैन, के पाउँछन्, अब हेर्नुछ,’ उनले भने, ‘भोलिपर्सीदेखि राजीनामा दे भनेर फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो छ।’
बुधबारकै ओलीपक्षीय स्थायी कमिटी बैठकपछि सो समूहका प्रवक्ता प्रदीप ज्ञवालीले पनि ओलीले राजीनामा नदिनेतर्फ औंल्याए।
‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा उनले तत्काल राजीनामा नदिने संकेत गरे। उनले भने, ‘अन्य दलहरुसँग छलफलमा छौं, मुलुकलाई अन्योलमा राख्नुहुँदैन भन्ने हाम्रो भनाइ हो, जे गर्दा देशलाई राम्रो हुन्छ, त्यो प्रधानमन्त्रीले गर्नुहुन्छ।’
महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तिका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले कि राजीनामा गर्नुपर्ने कि संसदमा बहुमत सावित गर्नुपर्ने बताए। ओलीले राजीनामा दिने संकेत आफूले नदेखेको उनको भनाइ थियो।
‘ओलीले राजीनामा दिनुहुन्छ जस्तो मलाई लागेको छैन। उहाँले कि संसदमा बहुमत सिद्ध गर्नु प¥यो कि राजीनामा दिनुप¥यो। अर्को विकल्प छैन,’ देउवाले भने।
बुधबार प्रचण्ड–माधव पक्षले गरेको विजय ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै सो समूहकी नेतृ पम्फा भुसालले संविधानको रक्षा गर्न नसक्ने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन्। उनले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएमा १३ दिनपछि बस्ने प्रतिनिधिसभा बैठकले हटाउने चेतावनी पनि दिइन्। ‘संविधानको हत्या गर्ने, संविधानको संरक्षण गर्न नसक्नेले चाँडै ठाउँ खाली गरुन्,’ उनले भनिन्।






