अमेरिका: कोरोनाबाट ५ लाखको मृत्यु, न्युयोर्कका नेपाली अनिल लिम्बुदेखि सोनी डंगोलसम्म


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

अमेरिकामा कोरोनाको पहिलो सामुदायिक संक्रमणको केस गतबर्षको फेब्रुअरीमा भेटिएको थियो । त्यसयता झण्डै एकबर्ष बितेको छ । यो अवधिमा अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ५ लाख पुगेको छ ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुशार अमेरिकामा कोरोना संक्रमणबाट ४ लाख ९९ हजार ५६ जनाको मृत्यु भएको छ । यो तथ्यांक आज विहानसम्मको तथ्यांक हो । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या झण्डै २५ लाख पुगेको छ ।

कोरोना महामारीबाट विश्वमा सबैभन्दा धेरै मृत्यु हुनेहरु अमेरिकामा नै गणना गरिएको छ । पहिलो विश्वयुद्ध, दोश्रो विश्वयुद्ध र भियतनाम युद्ध समेत जोड्दा भएको मृत्युभन्दा धेरै अमेरिकामा कोरोना महामारीबाट मान्छेको ज्यान गएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५ लाखको मृत्यु र एकबर्षको महामारीको चपेटापछि केही सकारात्मक परिदृश्य पनि देखिएको छ । अमेरिकामा अहिले नयाँ संक्रमणदर उल्लेख्य मात्रामा घटेको छ भने भ्याक्सिन लगाउने कार्य तीब्र रहेको छ । अहिलेसम्म अमेरिकामा ४ करोड ३६ लाख भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

मार्चको अन्तिम साता न्युयोर्कका कोरोनाबाट एकजना नेपालीको मृत्यु भएसँगै अमेरिकामा कोरोनाबाट नेपालीका मृत्युका खबरहरु आउन थालेका थिए । अहिलेसम्म कम्तीमा दुईदर्जन नेपालीहरुको अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । न्युयोर्कमा मात्रै मृत्यु हुनेको संख्या कम्तीमा एकदर्जन रहेको छ ।

मार्चको तेश्रो साता न्युयोर्कमा अनिल लिम्बुको कोरोना संक्रमणबाट मृत्यु भएपछि त्यसको तीनमहिनामा न्युयोर्कमा ज्यान गुमाउने नेपालीहरुको संख्या झण्डै एकदर्जन र अमेरिकाभरमा झण्डै डेढदर्जन पुगेको थियो ।

न्युयोर्कमा कोरोना संक्रमणबाट पछिल्लोपटक झण्डै दुईसाता अगाडि फेब्रुअरीको पहिलो साता बक्सिङ खेलाडी सोनी डंगोलको मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या भएपछि डंगोललाई न्युयोर्कको जमैकामा रहेको अस्पतालमा भर्ना गरिएकोमा त्यसको केही दिनपछि निधन भएको थियो ।

न्युयोर्कको नेपाली समुदायले कोरोना महामारीबाट गुमाएका केही व्यक्ति

 

अनिल लिम्बु 


न्युयोर्कको क्वीन्समा बस्दै आएका ५० बर्षका अनिल लिम्बुको कोरोनाको संक्रमणका कारण मृत्यु भयो । कोरोना संक्रमणबाट अमेरिकामा यो नेपालीको पहिलो मृत्यु हो । लिम्बुको एल्महस्र्ट अस्पतालमा निधन भएको हो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

निमा टेम्बा शेर्पा

न्युयोर्कको क्वीन्स निवासी निमा टेम्बा शेर्पाको कोरोना संक्रमणका कारण अप्रिलको पहिलो साता अस्पतालमा मृत्यु भयो । ४४ बर्षको शेर्पाको स्थानीय एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपालमा सोलुखुम्बु घर भएका शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्।

बिष्णु राई

न्युयोर्ककै एल्महस्र्ट अस्पतालमा मार्च २७ मा कोरोना सक्रमणका कारण ७२ बर्षका बिष्णु राईको निधन भयो । लामोसमय होमलेस सेल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अधिकारकै सहयोगमा नर्सिङ होम प्राप्त गरेका थिए । उनी सन् २०१७ को फरबरी २४ देखि एल्महस्र्ट अस्पतालबाट रकवे केयर सेन्टरमा भर्ना भएका थिए । दुई दाजुभाई र एकबहिनीमा जेठा बिष्णुकुमार राई अविवाहित थिए ।

राजकुमार थापा

अप्रिलको दोश्रो साता न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४७ बर्षका राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भयो । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको सोही अस्पतालमा निधन भएको हो ।
उनलाई मार्च १४ बाट अस्पतालमा भर्ना गरिएकोमा अप्रिल ९ मा निधन भएको हो ।

पवनकुमार मल्ल

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको अप्रिलको दोश्रो साता कोरोना संक्रमणका कारण मृत्यु भयो । मल्लको न्यूयोर्क उडसाइडस्थित बस्दै आएको अपार्टमेन्टको कोठामा मृत्यु भएको हो । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे ।

महेश अमात्य

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ६९ बर्षिय महेश अमात्यको अप्रिलको तेश्रो साता कोरोना संक्रमणका कारण जमैका अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । काठमाण्डौं स्थायी घर भएका अमात्यका श्रीमती र ३ छोरा छन् । अमात्य केही महिना पहिले मात्रै अमेरिका आएका थिए । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।

सोनी डंगोल

न्युयोर्क निवासी नेपाली महिला बक्सिङ खेलाडी सोनी डंगोलको फेब्रअरी ३ मा निधन भयो । एकसाता उपचारपछि डंगोलको जमैकामा रहेको अस्पतालमा निधन भएको थियो । न्युयोर्कको जमैकामा पति विजय डंगोलसहित सपरिवार बस्दै आउनुभएकी डंगोलले न्युयोर्कको ब्रुकलिनमा आफ्नै शैलुन चलाउँदै आउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com