मेरो पौरख, मेरो गौरव, मेरो परेड : नेपाल डे परेड


प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार

– भूपेन्द्र थापा

लामो हिमपात र चिसो मौसमको दैनिकीबाट न्यूयोर्करले विस्तारै छुटकारा पाउदैछन् । गएको दुई दिन न्यूयोर्कको मौसमले समर लागेको छनक दिइसकेको छ । करिवन नौ महिना देखि हरेक घर या अपार्टमेण्टका झ्यालहरुमा टक्रक्क अडिएर आराम गरिरहेका एसिहरु चलायमान भएर चिसो वायु फाल्न उद्यत भइसकेका छन् । अनि न्यूयोर्कर नेपालीहरु भने म्यानहाटनको भिडमा जम्मा हुन खुट्टो उचाल्न थालिसकेका छन् । हो विस्तारै तात्तिदै गरेको न्यूयोर्क आगामी आइतबार सायद उम्लने नै छ नेपालीको भिडले ।

गतवर्ष बाट ऐतिहासिक रुपमा शूरु भएको नेपाल डे परेड यस वर्ष पनि हुनेभएपछि आम नेपालीजनमा छुट्टै उत्साह भरिन थालेको छ । शरिरमा भर्खरै मात्र लुगा पातलिदै गरेको मौसममा भोली कस्तो पहिरन लगाउने भन्ने कन्फ्युजनमा पनि छन् । सवैलाई आ–आफ्नो मौलिक भेषभूषामा ठाटिएर जाने धोको छ । तर मौसमले च्यालेन्ज गर्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । हुनत फोरकास्टमा अधिकतम १९ र न्यूनतम १४ डिग्री सेल्सियस देखाइरहेको छ । क्विनसस्थित उडसाइडमा बस्ने चितवनका बिधान भूर्तेललाई पनि मौसमी चिन्ता छ भन्छन –‘चिटिक्क दौरा सुरुवाल र ढाका टोपी ढल्कार जाउ भनेको ।फोरकाष्टले त ठिकै देखाइरहेको छ । गर्मीचाही नभइदिए हुन्थ्यो । हेरौ के हुन्छ ।’ भूर्तेलजस्तै भक्तपुरका प्रशान्तलाई पनि उस्तै हुटहुटी छ । नेपालबाट ल्याएदेखी सुटकेशमै थन्किरहेको दौरासुरुवाल, कम्तिमा पनि एकदिन निकाल्न पाइन्थ्यो कि भन्ने आश छ । ‘अरुवेला कहिल्यै लाउन्न पाइन्न’ फिस्स हास्दै भने–‘कम्तिमा परेडमा ढलक्क ढल्काउन पाए मज्जा त आउथ्यो ।’ उनीहरुझैं सयौ नेपाली आइतबार म्यानहाटन जान आतुर छन ।

न्यूयोर्कस्थित विभिन्न संघसंस्थाले गर्न लागेको सो कार्यक्रममा हालसम्म ५३ वटा नेपालीहरुका विभिन्न संस्थाले संस्थागत उपस्थिति जनाएका छन् । गत बर्ष में २२ तारिख मेनह्याटनको ब्रोड वे अन्तर्गत २९ र १७ स्ट्रिटमा परेडको आयोजना गरिएको थियो । अघिल्लो बर्ष नेपाली जनसम्पर्क समिति र प्रबाशी नेपाली मंचको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएकोमा केहि संस्थाहरु राजनैतिक भात्री संगठनको संयोजनमा भएको भन्दै सहभागीता जनाएका थिएनन् । यो बर्ष भने अघिल्लो बर्ष छुटेका बिभिन्न सामाजिक संघरसंगठनहरुलाई पनि आयोजक समितिमा आवद्ध गरिएको छ । तर यस वर्ष भने गत वर्षका दुई मुख्य आयोजक संस्था प्रवासी नेपाली मञ्च र नेपाल जनसम्पर्क समिति भने औपचारिक आयोजकको सूचिमा छैनन । यी दुइ संस्थालाई अमेरिकामा नेपालको राजनीतिक दलहरुको भातृ संस्थाको संज्ञा दिदैं यस बर्ष सहभागी नगराइएको हो । गत बर्ष शेर्पा किदुक लगायतका केही संस्थाले राजनीतिक भातृ संस्थाले आयोजना गरेको, एनआरएनले नगरेको र बुद्ध जयन्तीको दिनमा नपारेको भन्दै औपचारिक सहभागिता जनाएको थिएन । यस वर्ष भने उक्त संस्था पनि सक्रिय रुपमा सहभागी भएको छ । यद्यपी उसले गतबर्ष झै एनआरएनले नै गर्नुपर्छ भनेर चर्को स्वरमा कराएको भने छैन ।

यता गत वर्षका मुख्य दूई संस्था र तिनका संयोजकहरु भने आफुहरुलाई बाहिर पारिएको भन्दै असन्तुष्ट छन । यद्यपी शेर्पा किदुकले झैं उनिहरुले कार्यक्रम बहिष्कारैचाहि भने नगर्ने भएका छन। आयोजकको औपचारिक सूचिमा नभएपनि आफ्नो संस्थाको ब्यानरसहित परेडमा उपस्थिति जनाउने दुवैको तयारी छ । शुरुका केही दिनमा सामाजिक संञ्जालमा विरोध जनाएतापनि नेपालीकै कार्यक्रम भएकाले विरोध गर्दा गलत अर्थ लाग्ने भएकाले विरोधको स्वर स्वतः मत्थर भएको छ । यस विषयमा जिज्ञासा राख्दा गत वर्षका मुख्य कन्भेनर मध्येका एक एवं नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले भन्नुभयो ‘गत वर्ष हामिले नै शुरु गरेका हौ । यो नेपालीका लागी गर्वको विषय हो । जसले गरेपनि हुन्छ ठुलो कुरा होइन तर हामिले विरोध गर्न नमिल्ने देखेर नै हामिलाई नै षडयन्त्रपुर्व ढंगले बाहिर पारिएको छ । यसको पनि पछि समिक्षा हुन्छ । तर हाललाई हामी पनि कार्यक्रम सफल पार्नुपर्छ भनेर लागीरहेका छौ ।’ त्यस्तै भनाई प्रवासी मञ्चको पनि रहेको छ । मञ्चका महासचिव राधाकृष्ण देउजा भन्नुहुन्छ –‘हामीले नेपालमा हुदा र भोली नेपालमा फर्कदा कुनै पार्टीमा लागौला त्यो अलग कुरा हो । तर यहाँ त कसैले सूर्यमा भोट माग्दै हिडेको छैननी । जर्वजस्त ढंगले राजनीतिक दलको भातृ संगठनको पगरी भिराएर बाहिर पारिएको छ । यसमा हाम्रो खेद छ । तरैपनि हामिले नै शुरु गरेको र आम नेपालीका लागी गौरवको कुरा भएकाले कसैले बाहिर राखेपनि भित्र राखेपनि हामी आफ्नो ढंगले सहभागी हुन्छौ ।’

राजनैतिक दलका भातृ संघरसंगठनहरुलाई सम्मानित रुपमा आतिथ्य गराउने परेडका संयोजक मंगल दास श्रेष्ठको भनाई छ ।बुद्ध जयन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको परेडका लागि ११ सदस्यीय आयोजक समिति र ७ उपसमितिहरुको गठन गरेर काम थालिएको थियो । लगभग सवै तयारी पुरा भएको संयोजक श्रेष्ठले जानकारी गराउनुभयो । परेडको लागि २० देखि २५ हजार अमेरिकी डलर खर्च हुने आयोजकको अनुमान छ । आवश्यक खर्चको लागि अघिल्लो बर्ष संकलित रकम मध्येबाट बचेको ९ हजार डलर र अन्य रकमको लागि प्रायोजकहरुबाट संकलन गरिएको आयोजकले बताएका छन् ।

मध्यान्ह १२ बजे ३८ स्ट्रिट र मेडिसन एभिन्युबाट परेड आरम्भ हुने परेडमा बिभिन्न सामाजिक संघ,संस्थाहरुको अगुवाईमा विविध् मौंलिक एवं जातिय पहिचान झल्किने झाकी तथा र्याली प्रर्दशन गरिने कार्यक्रम रहेको छ । नेपाल र नेपालीको परिचय झल्कने तुल, ब्यानर र प्लेकार्ड सहित बिभिन्न गीत र सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्दै परेड ३८ स्ट्रिटबाट २७ स्ट्रिटसम्म पुग्नेछ । कार्यक्रम बारे संयोजक मंगल दास श्रेष्ठ भन्छन् “परेडमा सहभागीहरु मेडिसन एभिन्यु अन्र्तगत २७ स्ट्रिटमा जम्मा भएसँगै बिभिन्न कलाकारहरुले दुई घण्टा समयावधीमा विविध् सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन् ।” सांस्कृतिक कार्यक्रम पश्चात् सोहि स्थानमा परेडको समापन गरिने कार्यक्रम रहेको छ । नेपालको धार्मिक, सांस्कृतिक एवं पर्यटकियस्थल झल्कने व्यानरसहितको फ्लोट ट्रक समेत राखिने छ ।र यस वर्ष घुम्ती शौचालयको समेत ब्यबस्था समेत गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

विवादमुक्त हुननसकेपनि । जसको जेजे तर्कवितर्क भएपनि । यो हामि सवैले ‘मेरो पौरख, मेरो गौरव, मेरो परेड : नेपाल डे परेड’ भनेर सहभागि हुन जरुरी छ ।सवै आयोजक हुन । किनकी साझा नेपालीको कार्यक्रम कसैको पनि पेवा हुनै सक्दैन । विश्वकै राजधानी मानिने न्यूयोर्कमा हजारौ नेपाली गोलबद्ध भएर संसारलाई देखाउनु चानेचुने कुरा होइन । यसैले लेट्स गो म्यानहाटन एण्ड लेट्स मिट अन सन्डे । कि कसो ?

सवैको जय होस !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com