नेपालले सैन्य बेस राख्न आग्रह गरे पनि आफूहरुले अस्वीकार गर्ने अमेरिकी राजदूतको भनाई
प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालले सैन्य बेस राख्न आग्रह गरे पनि आफूहरुले अस्वीकार गर्ने बताएका छन् । उनले नेपाललाई कुनै पनि अमेरिकी एलाइन्समा सहभागी हुन आग्रह नगरेको उल्लेख गर्दै अमेरिकापरस्त होइन, नेपाल परस्त हुनसमेत आग्रह गरे ।
नेपाली सेनाको कमाण्ड र स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाललाई आफ्नो सार्वभौमसत्ता र स्वायत्तताको रक्षाको प्रत्याभूति गर्न भनिरहेको बताए । अमेरिकी सहयोगको उद्देश्य नेपाललाई अझ अमेरिका लगायत अन्य कुनै पनि मुलुकप्रति निर्भर नभई आत्मनिर्भर बनाउनका लागि रहेको उनले बताए ।

शीत युद्ध उत्कर्षमा रहेको बेलासमेत अमेरिकाले नेपाललाई सैन्य एलायन्समा जोडिन आग्रह नगरेको स्मरण गर्दै बेरीले अमेरिकाले नेपालसँग सैन्य एलायन्स नखोजेको र नचाहेको स्पष्ट पारे ।
राजदूत बेरीले एमसीसी जस्तो विकास परियोजनाको विषयमा भ्रम फैलाउन खोजिएको भन्दै एमसीसीलाई सैन्य एलाइन्ससँग जोड्दा नेपालले पाउन लागेको आर्थिक अनुदान कार्यक्रम गुम्न सक्ने खतरा रहेको बताए ।
अमेरिकी राजदूतले ७० वर्षदेखि नेपाललाई विकासको क्षेत्रमा सहयोग गरेको बताउँदै भने – ‘हामी नेपाल अमेरिकाप्रति र अन्य कुनै पनि मुलुकप्रति निर्भर होस् भन्ने चाहँदैनौं । त्यसैको लागि हामीले नेपाललाई विकासमा सहयोग गरिरहेका छौं ।’






