बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपनालाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ
प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार
बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् ।
बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी गराए ।
काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।
बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो ।
बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो ।
बस्नेतलाई मगरले ‘बुबा’ पनि भन्दै आएकी थिइन् तर, पछिल्लोसमय उनीहरुबिच राम्रो सम्बन्ध थिएन । यसैबिच बस्नेतले एक युट्युबमा मगरको नांगा तस्वीर आफूसँग भएको भन्दै ‘देखाइदिम देखाइदिम’ भन्दै झोक्किएका थिए ।






