१० दिनभित्र ठेगाना परिवर्तनको जानकारी नदिने ग्रिनकार्डवाहकलाई जरिवाना र जेल


प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन ।

युएससीआईएसमा ठेगाना परिवर्तनका लागि तपाईले फर्म एआर ११ को प्रयोग गर्नुपर्छ । यदि तपाईको युएससीआईएसमा अनलाइन एकाउण्ट छ भने अनलाइनमा यो फर्म भरेर ठेगाना परिवर्तन गर्न सकिन्छ । यदि छैन भने हुलाकमार्फत पठाउन सकिन्छ ।

यदि तपाई घरेलु हिंशा, मानव तस्करी वा अन्य कुनै अपराधको शिकार हुनुभएको छ र तपाईको आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने तपाईले ठेगाना परिवर्तनका लागि फर्म एआर ११ भरेर भर्मोन्ट सर्भिस सेन्टरको ठेगानामा पठाउनुपर्छ । त्यस्तै आई ७५१ को वेभर आवेदन दिएकाहरुले एआर ११ भरेर आफ्नो आवेदन जहाँ छ त्यहीको सर्भिस सेन्टरमा पठाउनुपर्छ ।

यदि कुनै अमेरिकी नागरिकको कुनै पनि प्रकारको पारिवारिक वा अन्य आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने उनीहरुले पनि अनिवार्य ठेगाना परिवर्तन गर्नुपर्छ । त्यस्तै अमेरिकी नागरिकले कसैलाई स्पोन्सर गरेको छ भने आई ८६५ फर्म भरेर ठेगाना परिवर्तन गरेको ३० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ ।

कानुन अनुशार अमेरिकी नागरिकबाहेक अरु व्यक्तिले ठेगाना परिवर्तन गरेको १० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । ग्रिनकार्डवाहकले अनलाइनमार्फत नै ठेगाना परिवर्तन गरेको जानकारी गराउन सक्छन् ।

तीसदिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरुले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनु पर्दैन ।

यदि कुनै ग्रिनकार्डवाहकले जानाजान ठेगाना परिवर्तनको जानकारी युएससीआईएसमा नगरेको खण्डमा २ सय डलर जरिवाना र ३० दिनसम्म कैदसजाय हुनसक्ने कानुनी प्रावधान छ । ग्रिनकार्डवाहकले आफूले ठेगाना परिवर्तनबारे जानकारी गराउन नसक्नुको तार्किक कारण पेश गर्न नसकेमा वा जानजान ठेगाना परिवर्तनबारे जानकारी नगराएको प्रमाणित गर्न नसकेमा देशनिकालासम्म हुनसक्ने कानुनी प्रावधान छ ।

तर व्यवहारिक रुपमा भने ठेगाना परिवर्तन नगरेकै कारण देशनिकालासम्मको सजाय गर्न अमेरिकी अधिकारीहरु इच्छुक देखिएको खास रेकर्ड छैन । तर सिद्धान्तमा रहेको कानुन व्यवहारमा आउन के बेर ? त्यसैले समयमै सचेत हुँदा राम्रो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com