तीन दिने तीर्थयात्रापछि माधवनारायणका व्रतालु शालीनदीमै


प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार

पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले तीन दिने तीर्थयात्रा समाप्त गरी फर्किएपछि आज बिहानदेखि शालीनदीमै स्नानसहित व्रत विधिलाई निरन्तरता दिएका छन् ।

तीर्थयात्राका लागि व्रतालुु माघकृष्ण चतुर्दशीका दिन शालीनदीबाट हिँडेका थिए । व्रतालुु पहिलो दिन पशुपतिमा बास बसे । माधवनारायण व्रतालुुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ । त्यो भवनमा पराल ओछ्याएर व्रतालु सुत्छन् । दोस्रो दिन शेषनारायणमा बास बसेपछि तेस्रो रात बास बस्न शालीनदी पुग्ने परम्परा छ । जस अनुसार तीन दिने तीर्थयात्रा सकी शुक्रबार बेलुकी बास बस्न व्रतालुु शालीनदी पुगेका थिए ।

माघकृष्ण औँसीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा स्नान, पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं जयवागेश्वरीसम्म जल चढाउने विधि पूरा गरेपछि बिहीबार दिउँसोको भोजन व्रतालुुले सानो गौचरणमा गरेको साँखुका पवनलाल श्रेष्ठले बताए । नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र हुञ्जेल राजाले दर्शन गर्ने गरेकामा हाल माधवनारायणको कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ । पशुपतिमा माधवनारायण व्रतालुु आउने भएकाले माघकृष्ण चतुर्दशीको दिउँसोदेखि नै आर्यातीर्थसमेत भनिने आर्यघाटमा शव नजलाउने गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहीबार व्रतालुुले पशुपति नछोडेसम्म आर्यघाटमा शव नजलाउने व्यवस्था मिलाइएको थियो ।

व्रतालुुले माघशुक्ल प्रतिपदाका दिन बिहान दक्षिणकालीस्थित शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन गरेका छन् । सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो । माधवनारायणलाई स्नान गराइसकेपछि सूर्यकुण्डबाट शेषनारायणसम्म व्रतालुले जल चढाउने प्राचीनकालदेखिको विधि रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन माधवनारायणका व्रतालुुले शेषनारायणमा पूजा आराधना गर्ने विधि रहेको छ । शेषनारायणमा पूजा आराधनाका लागि माघकृष्ण औँसीकै बेलुकी बिहीबार व्रतालुु त्यहाँ पुगेका थिए । माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ । पूजा आराधना सकेर पैदल आई व्रतालुुले दिउँसोको भोजन शङ्खमूल क्षेत्रमा गरेका थिए । व्रतालु पैदल आए पनि सामान बोक्न भने विगत २० वर्षदेखि यातायातको व्यवस्था हुन थालेको छ । माघशुक्ल प्रतिपदाको राति शङ्खमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने परम्परा छ ।

आज शालीनदीमै बसेपछि माघ शुक्ल तृतीयाका दिन फेरि व्रतालुु तीर्थयात्राका लागि पनौती जाने परम्परा छ । पनौतीबाट चौँथीका दिन फेरि साँखु फर्कने गरिन्छ । पनौती पनि व्रतालुु पैदल यात्रा गरी पुग्छन् । विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमाजस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।

माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ । माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ ।

साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ । भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com