पूर्वशिक्षकको रहरलाग्दो कृषि कर्म


प्रकाशित मिति : माघ २८, २०७७ बुधबार

कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उनी कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेको हुन्छन् ।

गलकोट नगरपालिका–९ मल्म, छिसका ४९ वर्षीय खरेलले गरेको कृषि कर्म रहरलाग्दो छ । सात वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि बाख्रापालनमा लागेका खरेल अहिले मौरीपालन र कागती खेतीमा रमाइरहेका छन् ।

उनकोमा ३२ घार सेरेना जातका मौरी छन् भने ५ सय बोट कागती । कागतीका १ सय बोटले फल दिन थालेका छन् । मह पनि काढ्ने बेला हुँदैछ । खरेलले तरुल, टिमुर र बेसारको पनि व्यावसायिक खेती गर्दै आएका छन् । “१ सय झाल तरुल र १ सय बोट टिमुर पनि छ”, उनले भने ।

दुई वर्षअघिसम्म व्यावसायिक बाख्रापालन गरेका खरेलले आमा बिरामी भएर घरमा बढी समय दिनुपर्ने भएपछि त्यसलाई छाडेर कृषितिर लागेको सुनाए । “बाख्रापालनबाट पनि राम्रै भइरहेको थियो, अहिले मौरीपालन र कागती खेतीमा हात हालेको छु”, उनले भने । नयाँ व्यवसायमा झण्डै रु सात लाख लगानी भएको खरेलले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले ‘गलकोट कृषि तथा पशुपक्षी उत्पादन फार्म’ दर्ता गरेर व्यवसाय अगाडि बढाएका छन् । सेवानिवृत्त जीवनलाई उद्यममा लगाउने सोचका साथ कृषिलाई रोजेको खरेलको भनाइ छ । “परम्परागत खेतीले मात्र केही हुँदैन, कृषिको व्यावसायिक उत्पादनतर्फ लाग्नुपर्छ”, उनले भने । उनले नयाँ पुस्तालाई कृषि र पशुपालनमार्फत गाउँमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पनि आफूले दिन चाहेको उल्लेख गरे । उत्पादनमा जोडिनुअघि खरेलले २० वर्षसम्म छिमेकी गाउँ रिघाको सरस्वती प्राथमिक विद्यालयमा अध्यापन गरेका थिए । पढाइमा स्नातक खरेलमा कृषिबाटै आत्मनिर्भर बन्ने अठोट छ ।

उनीसँग निकट भविष्यमै व्यावसायिक भैँसीपालन थाल्ने योजना छ, जसका लागि गोठ निर्माणको कामसमेत अगाडि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले उत्पादनको बजारीकरणमा पनि कुनै समस्या छैन । पारिलो ठाउँ, उब्जाउ जमिन र उपयुक्त हावापानीका कारण छिसगाउँमा कृषि उत्पादनको राम्रो सम्भावना छ ।

प्रकृतिले नठगे र कुनै बाधा नपरे खरेलले यो वर्षदेखि मह, कागती, तुरुललगायत कृषि फसल बेच्न थालेका छन् । उनको कृषि व्यवसायमा पत्नी सीताको दरिलो साथ छ । सात सन्तानमा कान्छा छोराबाहेक सबैको बिहेबारी भइसकेको खरेलले सुनाए । “परिवार धान्न समस्या छैन, दुःख गरे सफल भइन्छ भन्ने विश्वास छ”, उनले भने ।

पत्रकारिताको पाटोमा खरेल
कृषि व्यवसाय सँगसँगै पत्रकारिता पनि अँगालेका खरेल गलकोट पत्रकार समाजको अध्यक्षसमेत छन् । उनी सामुदायिक रेडियो गलकोट एफएम र गलकोटपत्र साप्ताहिकमा संवाददाताको रूपमा क्रियाशील छन् ।

खरेलले गाउँठाउँका घटना र विषयलाई सञ्चारमाध्यममार्फत सम्प्रेण गरी जिम्मेवार पत्रकारको भूमिका निर्वाह गरिरहेका छन् । “कृषि त मेरो मूल पेशा नै भइहाल्यो त्यससँगै पत्रकारितालाई पनि अगाडि बढाएको छु”, उनले भने ।

ग्रामीण भेगमा बसेर दुवै क्षेत्रमा क्रियाशील हुँदा समाजले सम्मानको दृष्टिले हेर्ने गरेको खरेलको अनुभव छ । गाउँका घटना, विकास निर्माणका योजना र सार्वजनिक कार्यक्रमबारे समाचार दिँदा आफूलाई सन्तोष मिल्ने गरेको उनले सुनाए ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका साधारण सदस्यसमेत रहेका खरेल र उनका परिवारजनले हालै आफ्ना दिवङ्गत बुबा टीकाराम खरेलको स्मृति र ९५ वर्षीया आमा धनकलाको सम्मानमा “टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’समेत स्थापना गरेका छन् ।

शाखामा स्थापित रु एक लाखको पुरस्कार कोषबाट जिल्लामा सक्रिय एक जना पत्रकारलाई वर्षेनि पुरस्कृत गरिने भएको छ । पत्रकारिता क्षेत्रमा लागेका नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले परिवारका तर्फबाट पुरस्कार स्थापना गरिएको खरेलले बताए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com