नेपालमा आजदेखि पत्रकार र कुटनीतिज्ञलाई दिने भ्याक्सिनको वितरण दक्षिण अफ्रिकामा स्थगित
प्रकाशित मिति : माघ २५, २०७७ आईतबार
नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै
यूकेमा विकाश गरिएको ‘अक्सफोर्ड आष्ट्राजेनेका कोभिड -१९ भ्याक्सिन’ को भारतीय उत्पादन ‘कोभिशिल्ड’ नेपालमा लगाउने काम जारी छ । भारतले भ्याक्सिन कुटनीति अन्तरगत १० लाख डोज नेपाललाई उपहार दिएपछि नेपालमा यो भ्याक्सिन लगाउने क्रम जारी छ ।
दक्षिण अफ्रिकामा यो भ्याक्सिन वितरण स्थगित गरिएको छ । दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरुले आइतबार त्यहाँ आष्ट्राजेनेका भ्याक्सिन वितरण कार्य स्थगित गरिएको बताएका छन् । दक्षिण अफ्रिकामा सुरुमा देखिएको कोरोनाको प्रकारबिरुद्ध यो भ्याक्सिन निकै कम प्रभावकारी देखिएपछि भ्याक्सिन वितरण स्थगित गरिएको हो ।
वैज्ञानिकहरुले यो भ्याक्सिन कसरी प्रभावकारी रुपमा वितरण गर्न सकिन्छ भन्नेबारे निष्कर्ष ननिकालेसम्म भ्याक्सिन वितरण स्थगित गरिएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् । उनले फाइजर र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन परिचालनका सन्दर्भमा भने अगाडि बढ्ने बताएका छन् ।
आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुशार अष्ट्राजेनेका भ्याक्सिन दक्षिण अफ्रिकामा सुरुमा देखिएको कोरोनाको प्रकारबिरुद्ध कममात्र प्रभावकारी देखिएको पाइएको हो । विश्व स्वास्थ्य संगठनको स्वतन्त्र भ्याक्सिन प्यानलले आष्ट्राजेनेका भ्याक्सिनको बारेमा छलफल गर्न बैठक बस्ने जनाएको छ ।
२ हजार जनामा गरिएको भ्याक्सिनको अध्ययनको सबै तथ्यांकहरु सार्वजनिक गरिएको छैन । उक्त अध्ययनमा गम्भिर प्रकारको संक्रमण र अस्पताल बस्नुपर्ने खालको संक्रमणबिरुद्ध तथा संक्रमणबाट हुने मृत्यु रोक्न भ्याक्सिनको प्रभावकारिताबारे सार्वजनिक भने गरिएको छैन ।
नेपाल सरकारले आजदेखि यो भ्याक्सिन दोस्रो चरणमा लगाउन सुरु गर्दै
नेपाल सरकारले आजदेखि यो भ्याक्सिन दोस्रो चरणमा लगाउन सुरु गर्दैछ । दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको छ ।
काठमाण्डौको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ । सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ ।

उनीहरूलाई आजदेखि शुक्रवारसम्म खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ । खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ ।
गएको माघ ४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । सबैभन्दा धेरै खोप वाग्मती प्रदेशमा ६३ हजार ३ सय ८ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अमेरिकामा के हुँदैछ?
यो भ्याक्सिन अमेरिकामा पनि अझै प्रयोगमा आएको छैन । अष्ट्राजेनेकाले अमेरिकामा भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि अझै केही महिना आवेदन नदिने जनाइएको छ । यूकेमा गरिएको परीक्षणमा केही अनौठा र अमिल्दा तथ्यांकहरु देखिनुका साथै यसमा एउटा गम्भीर प्रकारको गल्ती देखिएका कारण अमेरिकामा आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिनमा समेत ढिलो भएको अमेरिकाका भ्याक्सिन विज्ञहरुले बताएका छन् ।
यूकेमा डिसेम्बर ३० मा नै प्रयोगको स्वीकृति पाएको यो भ्याक्सिनले लगत्तै भारत, मेक्सिको, अर्जेन्टिना र अन्य केही देशमा पनि जाने अनुमति पाएको थियो । सेरम इन्स्टीच्युट अफ इन्डियाले भारतमा भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । र लगत्तै नेपालमा पनि भ्याक्सिनको प्रयोगका लागि अनुमति दिइएको थियो ।
दुई डोज दिनुपर्ने यो भ्याक्सिन अमेरिकामा भने तत्कालै प्रयोगमा आउने सम्भावना देखिएको छैन । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले कुनै पनि भ्याक्सिनलाई प्रयोगको अनुमति दिनु अगाडि खोपको स्वतन्त्र छानविन गर्नुका साथै भ्याक्सिनको सुरक्षा र प्रभावकारिता तथ्यांकको आफ्नौ वैज्ञानिक समिक्षा गर्छ ।
अमेरिकामा यसबारे अध्ययन गर्ने स्वतन्त्र सल्लाहकार समिति समेत रहेको छ । यो स्वतन्त्र समितिले एफडीए र भ्याक्सिन कम्पनीबाट आएका तथ्यांकको स्वतन्त्र रुपमा विश्लेषण गर्छ । बेलायतमा भने स्वीकृति प्रदान गर्ने नियामक एजेन्सी भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको निष्कर्ष निकाल्न कम्पनीको तथ्यांकमा भरपर्छ ।

अमेरिकाको एफडीएले आष्ट्राजेनेका भ्याक्सिनको पेपरवर्क प्राप्त गर्नका लागि प्रतिक्षा गरेपनि आष्ट्राजेनेका भ्याक्सिनले उचित पेपरवर्क तयार गर्न अझै सकेको छैन । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा झण्डै ५ हजार ८ सयमा गरिएको परीक्षणमा यो भ्याक्सिन लक्षण सहितको कोरोना रोकथामका लागि ६२ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।
आष्ट्राजेनेका परीक्षणमा एउटा गम्भिर गल्ती समेत भएको थियो । ५५ बर्षभन्दा कम उमेरका परीक्षणमा सहभागी एउटा समुहलाई गल्तीले भ्याक्सिनको पहिलो डोजको पूरै मात्रा नभई आधामात्रा प्रदान गरिएको थियो । त्यसपछि दोश्रो डोजको भने पूरै मात्रा प्रदान गरिएको थियो । अमेरिकाको भ्याक्सिन स्वीकृतिका लागि अनुमति दिने निकाय एफडीएका सल्लाहकार समितिका सदस्य समेत रहेका भ्याक्सिन विज्ञ डाक्टर कोडी मेस्नरले यसलाई गम्भिर प्रकारको गल्ती भएको बताएका छन् ।
यहाँ अनौठो त के छ भने पहिलो डोज आधा र दोश्रो डोज पूरै प्राप्त गरेका परीक्षणमा सहभागीहरुमा कोरोनाको संक्रमणबाट बच्नमा प्रभावकारिता बढी अर्थात् ९० प्रतिशतसम्म देखिएको थियो । पहिलो डोज पूरै लगाएकाहरुको तुलनामा आधा लगाएकाहरुमा भ्याक्सिन बढी प्रभावकारी देखिएपछि विज्ञहरु नै अलमलमा परेका छन् । तर पहिलो डोज गल्तीले आधा र दोश्रो डोज पूरै लगाएकाहरु १४ सयजनामात्र रहेका थिए ।
अर्कोतर्फ अमेरिकामा यो भ्याक्सिन स्वीकृतिका लागि भ्याक्सिनको तेश्रो चरणको परीक्षण बाँकी नै रहेको छ । आष्ट्राजेनेकाले भ्याक्सिनको अमेरिकामा तेश्रो चरणको परीक्षणका लागि ३० हजार व्यक्ति तयार पारिसकेको जनाएको छ । उनीहरुलाई २८ दिनको अन्तरमा दुईवटा डोज दिने बताइएको छ । अमेरिकाको एफडीएले कम्तीमा १५ हजारमा परीक्षण गर्न भनेको छ । त्यसै अनुशार तेश्रो चरणको परीक्षण पूरा गरेर यो भ्याक्सिनले अमेरिकामा स्वीकृतिका लागि आवेदन दिनका लागि अप्रिलसम्म कुनुपर्ने सम्भावना देखिएको छ ।






