भेटिएनन् न्युयोर्कबाट ११ दिन अगाडि हराएका नेपाली विद्यार्थी, भेटियो ‘आई लभ यु ममी’ लेखेको नोट


प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार

झण्डै ११ दिन अगाडि न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय शाह अहिलेसम्म पनि भेटिएका छैनन् । प्रहरीले खोजी कार्य जारी राखेको बताएपनि अहिलेसम्म उनको बारेमा कुनै विवरण प्राप्त भएको छैन । न्युजर्सीको म्याडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत शाह म्याडिसनमै बस्दै आएका थिए ।

भाईलाई खोज्दै टेक्सासबाट न्युयोर्क आइपुगेका उनका दाजु शिव शाहले अजयको कोठामा गएर हेर्दा टेबुलमा आई लभ यु ममी लेखेको नोट भेटिएको बताएको छन् । तर उक्त नोटमा अरु केही नलेखिएको र रद्दीमा फ्याकिएको एउटा नोटमा उनले अब केही गर्ने बेला भएको व्यहोरा लेखेको अजयका दाजु शिवले जानकारी दिए ।

जनवरी १९ को राती १२ बजेतिर न्युजर्सीबाट न्युयोर्कको पेन स्टेशनमा आएको र न्युयोर्कको पेन स्टेशनबाट बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको जनाइएको छ । न्युयोर्कको पेन स्टेशनबाट निस्केर उनी कता लागे भन्नेबारे भने केही खुल्न सकेको छैन । उनले कम्प्युटरमा न्युयोर्कको फोर्ट वासिंटन पार्कका बारेमा सर्च गरेको र लोकेशन समेत हेरेको देखिएको छ । यो पार्क एटलान्टिक ओसनसँग जोडिएको हडशन रिभरसँग जोडिएको छ ।

उनको बैंक डिटेलमा अन्तिमपटक न्युयोर्क आउनका लागि कार्डबाट टिकट किनेको देखिएको छ भने तयसपछि कुनै पनि ट्रान्जेक्सन नदेखिएको जनाइएको छ । जनवरी १९ पछि अजयको फोन पनि निस्कृय रहेको छ भने सामाजिक सञ्जाल लगायतमा समेत उनी अनलाइन देखिएका छैनन् ।

अजय शाह

अजयले हराउनुभन्दा दुईदिन अगाडि आफूसँग सामान्य कुराकानी गरेको दाजु शिव शाहले जानकारी दिएका छन् । नेपालमा भने उनले दैनिकजसो नै आमासँग कुराकानी गर्दै आएको जनाईएको छ ।

न्युजर्सीको म्याडिसन प्रहरीले शाहको खोजीका लागि सार्वजनिक सुचना जारी गरेको छ । ५ फिट ६ इन्च उचाई भएका अजय शाहको कालो आँखा र कालो कपाल रहेको र तौल अन्दाजी १२५ पाउण्ड रहेको प्रहरीले जारी गरेको सुचनामा उल्लेख छ ।

अजय हराएकोबारेमा वासिंटन डिसीमा रहेको नेपाली दूतावास र न्युयोर्कमा रहेको महावाणिज्यदूतावासमा समेत जानकारी दिइसकिएको जनाइएको छ । एफबीआईएको राष्ट्रिय अपराध सुचना केन्द्रमा पनि उनी हराएकोबारे सुचनाहरु हालिसकिएको छ । अजय अध्ययनरत युनिभर्सिटीले पनि खोजिका लागि पहल गरिहेको छ भने नजिकका अस्पतालहरुमा पनि सुचना पठाइसकिएको छ ।

पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ । आजयले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्दै आएको उनको परिवारले जानकारी दिएको छ ।

दाजु शिव शाहले भाईको खोजीका लागि आफै पनि विभिन्न स्थान र प्रहरी चौकीहरुमा धाइरहेका छन् । साथै उनले विभिन्न संघसंस्थाहरुसँग सहयोगका लागि हारगुहार गरिरहेका छन् । तर पनि अहिलेपनि अजयका बारेमा कुनै जानकारी प्राप्त भएको छैन । ट्रेनबाट न्युयोर्क आउने क्रममा एकजना साथीसँग ट्रेनको बारेमा केही जानकारीहरु लिएको समेत खुलेको छ । तर उक्त सम्बादमा सामान्य जानकारी लिनेबाहेक अरु थप कुराकानी भएनभएको केही खुलेको छैन ।

दाजु शिव शाह अजयले गुगलमा सर्च गरेको फोर्ट वासिंटन पार्कदेखि न्युयोर्कमा विभिन्न स्थानमा पुगिसकेका छन् । तर पनि केही पत्तो नलागेपछि उनले निराश हुँदै खसोखाससँग भने – ‘कतै भाईले गलत कदम उठायो कि ! वा गलत मान्छेहरुमो फन्दामा पो पर्यो कि ! तर पनि भाई अझै फर्किन्छ भन्ने आशा छ ।खोजीका लागि सहयोग गरिदिन सबैसँग अनुरोध गर्दछु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com