वान वेल्ट वान रोडको सम्झौतागरेर चीनबाट फर्के उपप्रधानमन्त्री महरा


प्रकाशित मिति : जेष्ठ ३, २०७४ बुधबार

छिमेकी चीनको ‘एक पेटी एक मार्ग (बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन) सम्मेलनमा भाग लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज राति स्वदेश फर्कनुभएको छ ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्मेलनमा सहभागी देशका प्रतिनिधिले एक पेटी एक मार्ग असल अवधारणासहित आएको बताउनुभयो ।

एक पेटी एक मार्गले पूर्वाधार विकास, रेल्वे निर्माण, सीमा नाका खोल्ने, नेपालको विकासमा यस अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

चीन नेपालको आर्थिक विकासका लागि सदैव सकारात्मक रहेको बताउँदै उहाँले नेपालको आर्थिक विकासमा चीनको सहयोग निरन्तर रहने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ नेताहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री महराले नेपालको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचनका बारेमा आफूले चिनियाँ पक्षलाई जानकारी गराएको बताउनुभयो । नेपाल र चीन सधैँ असल छिमेकीका रुपमा रहेको उहाँले बताउनुभयो ।

गत वैशाख ३१ र जेठ १ गते (मे १४–१५) मा बेइजिङमा भएको सम्मेलनमा भाग लिन उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

विश्वका २९ देशका राष्ट्रप्रमुख, १०० जना मन्त्री र त्यतिकै सङ्ख्यामा विभिन्न सङ्घ र संस्थाका प्रतिनिधिसहित एक हजार २०० प्रतिनिधिहरू सहभागी सम्मेलनमा नेपालको तर्फबाट उपप्रधानमन्त्री महराको नेतृत्वमा सूचना तथा सञ्चार मन्त्री सुुरेन्द्र कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित आठ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ गएको थियो ।

आइतबार सम्मेलनमा अर्थमन्त्री महराको प्रतिनिधिमण्डलले चिनियाँ समकक्षी वाङ याङसँग भेटवार्ता गरेको थियो । सञ्चारमन्त्री कार्कीले पनि सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

नेपालले गत शुक्रबार एक पेटी एक मार्ग अवधारणामा औपचारिक रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । युरोप र अफ्रिकासमेतमा विस्तारित हुने यस चिनियाँ आयोजनाबाट नेपाल पनि लाभान्वित हुने हँुदा यस आयोजनाको समझदारीपत्रमा भएको हस्ताक्षरले नेपालको आर्थिक विकासमा पनि नयाँ आयाम थपिएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com