मेरिल्याण्डका राज्य सांसद भण्डारीबाट दशैंलाई मान्यता दिलाउने बिल औपचारिक रुपमा दर्ता


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

❒ मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी (एचबी) भण्डारीबाट राज्यमा दशैंलाई चाडको मान्यता दिलाउने बिल औपचारिक रुपमा दर्ता

❒ दशैं धार्मिकमात्र नभई भाइचारा सम्बन्ध र सांस्कृतिक महत्वको चाड भएकाले यो संस्कृति र विविधताबारे गर्व गर्न सक्ने वातावरण बनाउनका लागि यो बिल 

❒ अहिलेसम्म भण्डारीले सदनमा ल्याएका ५ वटा बिल पारित,  भण्डारी अमेरिकी राजनीतिमा यो स्तरमा पुग्ने पहिलो र एकमात्र जननिर्वाचित नेपाली अमेरिकन 

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले राज्यमा दशैंलाई चाडको मान्यता दिलाउने बिल औपचारिक रुपमा दर्ता गराएका छन् । प्रत्येक बर्ष अक्टोबर १४ लाई गभर्नरले दशैं स्मारक दिवसका रुपमा घोषणा गर्नुपर्ने प्रावधानका लागि उक्त बिल विधिवत रुपमा संसदमा दर्ता गराएको भण्डारीले जनाएका छन् ।

बिल दर्ता गराउँदै भण्डारीले ती हलहरुमा हिंडेका थोमस जेफर्सन र जर्ज वासिंटनहरुको याद आएको, लोकतन्त्र र विविधताको शक्ति सम्झेको तथा नेपाल र सगरमाथाको याद आएको बताएका छन् । दशैं धार्मिकमात्र नभई भाइचारा सम्बन्ध र सांस्कृतिक महत्वको चाड भएकाले राज्यमा औपचारिक रुपमा मान्यता दिलाउनका लागि यो बिलका लागि पहल गरेको भण्डारीले बताएका छन् ।

बिभिन्न कमिटिमा छलफल र दुबै सदनबाट पारित भइसकेपछिमात्र बिल कार्यान्वयनमा आउनेछ । यो बिल उनी नै सम्मिलित हेल्थ एण्ड गभर्मेन्ट अपरेशन कमिटिमा समेत आउनेछ ।

बिल दर्ता गराउँदै भण्डारी

झण्डै एकदर्जन प्रकृया पूरा भएपछि बिल गभर्नर समक्ष जाने र गभर्नरले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आउनेछ । तर बिलमा दुईतिहाई बहुमतबाट पारित भएमा गभर्नरले हस्ताक्षर नगरेपनि बिल कार्यान्यनमा आउने प्रावधान छ ।

हिन्दु नेपालीहरुले मनाउने दशैं अमेरिकामा रहेका नेपालीहरुले पनि हर्षोल्लासका साथ मनाउँदै आएका छन् । तर दशैंलाई सरकारी स्तरबाट मान्यता प्राप्त नभएका कारण धेरै अमेरिकनहरुलाई यो पर्वबारे जानकारी छैन । त्यसैले अमेरिकामा रहेका नेपालीहरु दशैंको टिका लगाएर बाहिर निस्कन भने हिचकिचाउँछन् ।

नयाँ पुस्ता दशैं मनाएर ढुक्कसँग बाहिर निस्कन लाज मान्ने अवस्था आएकाले अबका दिनमा यसरी लाज मान्ने होइन, आफ्नो संस्कृतिबारे गर्व गर्नसक्ने वातावरण बनाउन आफूले पहल गरिरहेको उनको भनाई छ ।

दशैं चाडमात्र नभएर संस्कृति पनि हो ।

अहिलेसम्म भण्डारीले सदनमा ल्याएका ५ वटा बिल पारित भइसकेका छन् । भण्डारी अमेरिकी राजनीतिमा यो स्तरमा पुग्ने पहिलो र एकमात्र जननिर्वाचित नेपाली अमेरिकन हुन् । राज्यको सांसद स्तरमा भण्डारीबाहेक अहिलेसम्म कुनै पनि अरु नेपाली अमेरिकनहरु पुगेका छैनन् ।

भण्डारीले आफ्नो पदको सपथग्रहण समेत बेदलाई साक्षी राखेर गरेका थिए । उनले आफ्नो कार्यालयमा नेपालको झण्डा र नक्सा समेत राखेका छन् । आफ्नो कार्यालयमा रहेको नेपालको नक्साले आफू कहाँबाट आएको हो भन्ने कुरा आफूलाई सधै स्मरण गराइरहने भण्डारी बताउँछन् ।

सन् २०१८ को निर्वाचनमा विजयी भएका भण्डारीले राज्य सांसदका रुपमा सन् २०१९ को जनवरीदेखि काम गरिरहेका छन् । नेपालको पर्वत जिल्लामा सरकारी स्कुलमा पढेका भण्डारी सन् २००५ मा अमेरिका आएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com