न्युयोर्क सिटी काउन्सिलमा नवराज केसी उम्मेदबार, म्याच फण्डसहित १ लाख डलर बढी डोनेशन संकलन


प्रकाशित मिति : माघ ३, २०७७ शनिबार

न्युयोर्क सिटी काउन्सिल सदस्यमा डेमोक्रेटिक प्राइमरीका उम्मेदबार नवराज केसीलाई म्याच फण्डसहित १ लाख १५ हजार डलर बढी डोनेशन प्राप्त

❒ केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन, जुन २२ मा हुने प्राइमरी निर्वाचनमा विजयी भएको खण्डमा उनले नोभेम्बर ३ मा हुने अन्तिम चुनावमा प्रतिस्पर्धा गर्न पाउने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

न्युयोर्क सिटी काउन्सिल सदस्यमा डेमोक्रेटिक प्राइमरीका उम्मेदबार नवराज केसीले म्याच फण्डसहित १ लाख १५ हजार डलर बढी डोनेशन प्राप्त गरिसकेका छन् । नवराज केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन् ।

न्युयोर्क सिटीको डिस्ट्रिक्ट १९ बाट उम्मेदबारी दिएका केसीले शुक्रबार आफ्नो आर्थिक विवरण पेश गरेका हुन् । जस अन्तरगत उनले चुनावी अभियानका लागि अधिकांश डोनेशन न्युयोर्क सिटीभित्रैबाट प्राप्त गरेका छन् । डिस्ट्रिक १९ बाट प्राप्त हुनुपर्ने डोनेशनको थ्रेसहोल्ड पनि उनले पूरा गरेका छन् ।

न्युयोर्क सिटी बाहिरबाट भने उनले १५०६ डलर डोनेशन प्राप्त गरेका छन् । पहिलो चरणमा आफू डोनेशनका लागि न्युयोर्क सिटीभित्र केन्द्रीत भएको केसीले जनाएका छन् । उनको अभियानका लागि अर्को चरणको डोनेशन सुरु भइसकेको छ ।

आगामी जुन २२ मा हुने प्राइमरी निर्वाचनमा विजयी भएको खण्डमा उनले नोभेम्बर ३ मा हुने अन्तिम चुनावमा प्रतिस्पर्धा गर्न पाउनेछन् । जुन २२ मा हुने डेमोक्रेटिक प्राइमरीका लागि केसीसहित ५ जना चुनावी मैदानमा रहेका छन् । उक्त पदमा रहेका वर्तमान सदस्य तेश्रो कार्यकालका लागि लड्न नपाउने भएकाले सबैजना नयाँ उम्मेदबारहरु हुन् ।

न्युयोर्क सिटीको डिस्ट्रिक्ट १९ क्वीन्स क्षेत्रभित्र पर्छ । जसमा कलेज प्वाइन्ट, ह्वाइट स्टोन, बे साइड, बे टेरेस, एलिपोण्ड पार्क, डगलस्टन, फ्रेस मेडोज, इस्ट एल्महस्र्ट, नर्थ फ्लसिंग, लिटल नेक लगायतका क्षेत्र रहेका छन् ।

न्युयोर्कको क्वीन्स कलेज प्वाइन्टमा श्रीमति र दुई सन्तानसहित बस्दै आएका नवराज केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टर समेत हुन् । उनले अमेरिकन राजनीति र राजनीतिज्ञसँग अमेरिकामा रहेको नेपाली समुदायलाई जोड्ने काम समेत गरिरहेका छन् ।

कोरोना महामारीमा उनको पहलमा क्वीन्स बोरो, बु्रकलिन बोरो र न्युयोर्क सिटी मेयर अफिसबाट नेपाली समुदायका लागि झण्डै १५ हजार मास्क, झण्डै ९ हजार ह्याण्ड सेनिटाइजर, झण्डै १२ हजार ग्लोभ्स प्राप्त भएको थियो । विभिन्न संघसंस्था र व्यक्तिमार्फत ती सामाग्रीहरु न्युयोर्कको नेपाली समुदायलाई वितरण गरिएको थियो ।

न्युयोर्कमा मास्क, सेनिटाइजर र ग्लोभ्सको हाहाकार भएको बेलामा यति धेरैमा मात्रामा प्राप्त सहयोगले नेपाली समुदायलाई ठूलो राहत मिलेको थियो । त्यो बाहेक अहिले पनि उनी न्युयोर्कका विभिन्न क्षेत्रमा खाद्यान्न वितरणमा सकृय रहदै आएका छन् ।

हाउस स्पीकर न्यान्सी पेलोसीसँग नवराज

महामारीको बेलामा केसीले क्वीन्स बोरो, बु्रकलिन बोरो र न्युयोर्क सिटी मेयर अफिसबाट सहयोग प्राप्त गर्नका लागि सेतुको काममात्र गरेनन्, छुट्टै पहलमा थर्मामिटर र औषधीहरु किनेर नेपाली समुदायलाई वितरण समेत गरे । रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका तत्कालिन अध्यक्ष समेत रहेका केसीको नेतृत्वमा क्लबका तर्फबाट ५ सय थर्मामिटर र १० हजार पोका ज्वरोको औषधी टायलोनोल नेपालीहरुलाई वितरण गरिएको थियो ।

केसी सन् २०१९ देखि सन् २०२० को जुनसम्म रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका अध्यक्ष रहेका थिए । हाल उनी रोटरी इन्टरनेशनलको डिस्ट्रिक्ट ७२५५ मा एसिस्टेन्स गभर्नर रहेका छन् ।

महामारीको अवधिमा न्युयोर्क सिटीबाट प्राप्त ७ हजार ५ सय छाक तयारी खाना समेत उनकै पहलमा नेपाली समुदायलाई वितरण गरिएको थियो । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको ब्याम्बो हाउस रेष्टुरेण्टको अगाडि उक्त खाना वितरण गरिएको थियो । केसी ब्याम्बो हाउसका संचालक समेत हुन् ।

सन् २००२ मा अमेरिका आएका धादिङका केसीले अमेरिकाको स्थानीय राजनीतिमा २०१७ देखि चासो राख्न थालेका हुन् । सन् २०१८ मा उनी क्वीन्स बोरो प्रेसिडेन्टबाट कम्युनिटी बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

नवराज केसी स्थानीय अमेरिकी राजनीतिज्ञहरुका चुनावी अभियानमा पनि उत्तिकै सकृय रहदै आएका छन् । न्युयोर्क सिटीको मेयरका लागि डेमोक्रेटिक प्राइमरीका लागि उम्मेदवारी दिएका ब्रुकलिन बोरो प्रेसिडेण्ड एरिक आडम्सको चुनावी अभियानमा पनि उनले सहयोग गरिरहेका छन् ।

अमेरिकी सांसद जोसेफ क्राउलीको चुनावी अभियानमा पनि नवराज झण्डै तीन महिना स्वयंसेवकका रुपमा खटेका थिए । चुनावी अभियानमा घरघरमा पुग्नेदेखि फोनकलगर्नेसम्मका गतिविधिमा उनी सहभागी भएका थिए ।

न्युयोर्क सिटी काउन्सिल सदस्य डानियल ड्रमदेखि न्युयोर्क राज्य सिनेटर जेसिका रामोससम्मको चुनावी अभियानमा उनी सकृय भए । त्यस्तै राज्य सांसद क्याटालिना क्रुजको चुनावी अभियानमापनि उनी सकृय भए । यसरी चुनावी अभियानमा लाग्दै गर्दा केसीको अमेरिकी राजनीतिप्रति चासो बढ्दै गएको हो ।

अमेरिकाको स्थानीय राजनीतिमा सकृय बन्दै गएमा स्थानीय सरकारका साधनश्रोतमा समुदायको पहुच कायम गर्न सहज हुने केसीको विश्वास छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com