जुम्ला गोठीचौर र कालीकोटसान्नी त्रिवेणीमा माओवादी केन्द्र विजयी


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

जुम्ला गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ ।

भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित हुनुभयो ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी हुनु भएको छ । उपाध्यक्षमा उहाँका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याउनु भएको थियो ।

गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा (एमाले)का गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पार्नु भएको छ । त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गर्नु भएको निर्वाचन अधिकृत बस्यालले बताउनुभयो । उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता सङ्ख्या थियो ।

त्यस्तै सान्नी त्रिवेणी गाउँपालिका कालीकोटमा माओवादी केन्द्रका उम्मेदवार डम्बर शाही विजयी हुनुभएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा माअोवादी केन्द्रले विजय हासिल गरेको छ। माअोवादी केन्द्रका नरसिंह रोकायाले जित हासिल गरेका हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com