२४३ तहमा मतगणना जारी, ३८ मा मतगणना तयारी


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत कुल २८१ तहमा भएको निर्वाचनमध्ये २४३ तहमा मतगणना भइरहेको जनाएको छ । दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नं. ३ का ११०, प्रदेश नं. ४ का ७९ र प्रदेश नं. ६ का ५४ तहमा मतगणना भइरहेको छ । बाँकी ३८ तहमा मतगणना कार्य सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

त्यस्तै मौसमको प्रतिकूलता र भौगालिक जटिलताका कारण हुम्लाका छ तह र रुकुमको १ तहमा भने अझै पनि मतपेटिका सङ्कलन गर्न सकिएको छैन् । आइतबार प्रदेश नं. ३ का ११९, प्रदेश नं. ४ का ८४ र प्रदेश नं. ६ का ८८ तहमा पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो ।

थोरै मतदाता भएका स्थानीय तहमा भने निर्वाचन परिणामसमेत आउन सुरु भइसकेको छ । रासस


कोष तथा लेखा कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको मतगणना गरिँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस


पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूका लागि भएको निर्वाचनको मतगणना गरिँदै । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा भएको मतगणना महानगरपालिकाको वडा नं १ बाट गन्न सुरु गरिएको छ । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस


राष्ट्रिय सभागृहमा सोमबार काठमाडौँ महानगरपालिकाको मतगणना गरिँदै । तस्बिर : रोशन सापकोटा, रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com