रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की – ‘सीमामा बस्नुस्’
प्रकाशित मिति : पुस २६, २०७७ आईतबार
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सीमामा बस्न धम्की दिएका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले मर्यादा ननाघ्न चेतावनी दिएका हुन् ।
‘कस्तो समय आयो ! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरिक हुने । अब अति भो !’ मिश्रले लेखेका छन् ।
उक्त ट्विटमा कमेन्ट गर्दै रिमालले भनेका छन्, ‘सीमामा बस्नुस् रबीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ।’