सोमबारदेखि लागु हुन लागेको एसाइलम अन्त्य गर्ने ट्रम्प प्रशासनको नियममाथि अदालतको रोक


प्रकाशित मिति : पुस २५, २०७७ शनिबार

अमेरिकामा एसाइलम लगभग अन्त्य गर्नेगरी सोमबारदेखि ट्रम्प प्रशासनले लागु गर्न लागेको नियम कार्यान्वयनमा संघीय अदालतले रोक लगाएको छ । कोरोनाको महामारीका कारण ट्रम्प प्रशासनले सिमाक्षेत्रमा एसाइलम बृहत रुपमा खारेज गरेको अवस्थामा अदालतको रोकको प्रभावै तत्कालै ठूलोमात्रामा नहुने भएपनि जाँदाजाँदै ट्रम्प प्रशासनलाई धक्का भने लागेको छ ।

सान फ्रान्सिस्कोमा रहेको अदालतका संघीय न्यायाधिस जेम्स डोनाटोले उक्त नियम कार्यान्वयमा रोक लगाउने आदेश दिएका हुन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी चाड उल्फसँग यस्तो नियम ल्याउने अधिकार नभएको भन्दै कार्यान्वयनमा रोक लगाइएको हो ।

उल्फको नियुक्तीबारे प्रश्नचिन्ह खडा गर्दै उनले ल्याएका नियम कार्यानवयनमा रोक लगाइएको यो पाँचौं पटक हो । अदालतको रोक देशब्यापी रुपमा नै लागु हुने जनाइएको छ ।

झण्डै एकमहिना अगाडि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले अमेरिकामा लगभग एसाइलमलाई पूर्णरुपमा नै प्रतिबन्ध लगाउने नियम फेडरल रजिष्टरमा प्रकाशित गरेको थियो । यो नियम नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदको सपथग्रहण गर्नुभन्दा ९ दिन अगाडि अर्थात् जनवरी ११ देखि पूर्णरुपमा लागु हुने तय भएको थियो ।

यो नियम अन्तिम नियम भएकाले कमेन्ट अवधि राखिएको थिएन । ४१९ पृष्ठको नियमले सिमाक्षेत्रमा आएर एसाइलम गर्नेले अमेरिकामा रहनका लागि आफ्नो देश फर्केमा अत्यन्तै गम्भिर प्रकारको नोक्सानी हुने कुरा क्रेडिबल फियर अन्तरवार्ताकै क्रममा पुष्टी गर्नुपर्ने प्रावधान राखेको छ । अहिलेसम्म आफ्नो देश फर्केमा यातना र नोक्सानीको डरमात्र भएको पुष्टी गर्न सकेमात्र पुग्छ ।

यो नियममा अत्यन्तै कठोर प्रकारको नोक्सानी हुने पुष्टी गर्न नसक्नेहरुलाई तीब्र प्रकारको देशनिकालामा राखिने प्रावधान छ । यो नियम अन्तरगत अध्यागमन अदालतका न्यायाधिसहरुलाई ओजनदार नभएको वा नक्कली भएको भन्दै एसाइलम आवेदनहरु खारेज गर्न अधिकार प्राप्त हुन्छ । अर्थात् न्यायाधिसहरुले सुनुवाईको अवशर प्रदान नगरिकनै एसाइलम आवेदनहरु अस्वीकार गर्नसक्छन् ।

यो नियममा नक्कली एसाइलम गर्नेहरुलाई अन्य प्रकारका अध्यागमन राहतका लागि आवेदन दिन समेत प्रतिबन्ध लगाइने प्रावधान छ । साथै भविश्यमा अन्य भिसा र ग्रिनकार्ड आवेदनका लागि समेत प्रतिबन्ध लगाइने प्रावधान छ । नयाँ नियम लागु भएमा केही भाग्यमानीलेमात्र अमेरिकाको एसाइलम जित्न सम्भव हुनेछ ।

‘यो नियम लागु भएमा ४ दशकभन्दा लामो अमेरिकाको एसाइमल प्रणाली ध्वस्त हुनेछ । साथै अमेरिकामा लगभग एसाइलम पाउन असम्भव जस्तै हुनेछ । यसले सिमाक्षेत्रमा प्रारम्भिक स्क्रीनिङ पास गर्न मुस्किल हुनेछ भने लामो समयदेखि अभ्यास हुँदै आएका एसाइलमका आधारहरु खारेज गर्नेछ । साथै आवेदकलाई सुनुवाईको अवशर विना नै एसाइलम आवेदन अस्वीकृत गर्ने अधिकार न्यायाधिसहरुलाई प्रदान गर्नेछ । तेश्रो मुलुक हुँदै अमेरिका आउने प्राय सबैका लागि एसाइलम अस्वीकार हुनेछ ।’  न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

कानुन व्यवसायी रमेश श्रेष्ठ

पछिल्लो कदम ट्रम्प प्रशासनले एसाइलममा कटौती गर्नका लागि विगत ४ बर्षदेखि चाल्दै आएका कदमको पछिल्लो र सबैभन्दा कडा कडी थियो । गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकादेखि नक्कली कागजात पेश गरेकाहरुसम्मलाई मात्र नभई अमेरिकामा रहने क्रममा ट्याक्स नतिरकाहरुसम्मलाई एसाइलमका लागि अयोग्य बनाउने प्रावधानहरु समेत यो नियममा समेटिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com