अमेरिकी कामदार भिसाको चालु लोटरी प्रणालीको नियम खारेज


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

ट्रम्प प्रशासनले अमेरिकी कामदार भिसाको चालु लोटरी प्रणालीको नियम खारेज गर्ने नयाँ नियम भोलि फेडरल रजिष्टरमा प्रकाशित गर्ने भएको छ । यो नियम अनुशार कामदार भिसा एचवानबीको चालु लोटरी प्रणाली हटाएर डिपार्टमेन्ट अफ लेवरको चार स्तरको पारिश्रमिक प्रणालीका आधारमा छनौट गरिनेछ । 

गत नोभेम्बरमा फेडरल रजिष्टरमा प्रकाशित यो नियमको कमेन्ट अवधि गत डिसेम्बर २ मा सकिएकाले भोलि प्रकाशित हुने नियम अन्तिम नियम हो । यो नियम अनुशार सबैभन्दा धेरै पारिश्रमिक भएका आवेदकलाई पहिलो प्राथमिकता दिइनेछ भने कामदार भिसामा कम्प्युटरबाट लोटरी प्रणालीको अन्तय हुनेछ ।

नियमको पूर्ण पाठ पढ्नुहोला ।

यो नियम मार्च ९ देखि कार्यान्वयनमा आउनेछ । तर बाइडेन प्रशासन आइसकेपछि यो नियम कार्यान्वयनमा रोक लगाउनसक्ने देखिएको छ । यो नियमबिरुद्ध अदालतमा मुद्दा समेत दायर हुनसक्ने देखिएको छ ।

अमेरिकी सरकारले हरेक बर्ष ८५ हजारलाई कामदारभिसा एचवान बी प्रदान गर्दै आएको छ । त्यसका लागि सरकारले लोटरी प्रणाली गर्दै आएको छ । गत मार्चदेखि भने विद्युतीय रुपमा अनलाइनबाटै दर्ता गर्न सकिने प्रणालीको सुरुवात गरिएको थियो । .

यो नियम ६५ हजारको नियमित कोटा र २० हजारको एड्भान्स डिग्री कोटा दुबैमा लागु हुनेछ । पारिश्रमिक स्तरका आधारमा उच्च पारिश्रमिक भएका एचवानबी आवेदनहरुको संख्या तोकिएको भन्दा धेरै भएको खण्डमामात्र लोटरी प्रणाली लागु गरिने जनाइएको छ ।

अमेरिकाको कामदार भिसा एचवान बी कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्ने छ । अमेरिकामा रहेको कम्पनीले जागिरको अफर दिइसकेपछि कम्पनीका तर्फबाटमात्र यो भिसाका लागि अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन सकिन्छ ।

यो भिसाका लागि नेपाल वा अमेरिकाबाहिरको अन्य मुलुकबाट अमेरिका आउन चाहने व्यक्ति आफैले आवेदन दिन मिल्दैन । अमेरिकन कम्पनीले जागिरको अफर गरिसकेपछि उक्त व्यक्तिलाई अमेरिकामा ल्याउनका लागि कामदार भिसा एचवान बीका लागि आवेदन दिनसक्छ ।

अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेको छ भने सुरुमा अमेरिकन रोजगारदाता कम्पनीले नै आवेदन अनलाइनमार्फत दर्ता गराउनुपर्छ । त्यसमा छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।

अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुलाई रोजगारदाता कम्पनीले जागिरको अफर गर्न सक्छन् । तर अमेरिकन डिग्री हुनेहरुलाई यसमा विशेष प्राथमिकता दिइएको छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि कामदारको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com