जर्जियामा डेमोक्र्याट्सको जीतसँगै ११ मिलियन कागजपत्रविहिनमा पलाएको ग्रिनकार्डको आशा


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

जर्जियाबाट सिनेटका दुबै सदनमा डेमोक्रेटिक उम्मेदबारहरु विजयी भएसँगै अमेरिकामा रहेका ११ मिलियन कागजपत्रविहिनमा ग्रिनकार्डको आशा पलाएको छ । जर्जियाको जीतसँगै अमेरिकी संसदका दुबै सदनमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुँदा वृहत अध्यामगन सुधारको बिल पारित गर्नमा अब गाह्रो नहुने भएको छ ।

अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने घोषणा गरेका छन् । डेमोक्र्याट्सहरुको समर्थन भएमामात्र पनि यो बिल अब अमेरिकी संसदबाट सहजै पारित हुन सक्नेछ ।

बाइडेन अभियानका अधिकारीका अनुशार कागजपत्रविहिनलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने बिल संसदको तल्लो सदन प्रतिनिधिसभामा पहिले पेश गरिनेछ । त्यसपछि ५० सिट रिपब्लिकनको र ५० सिट डेमोक्र्याट्सको रहेको सिनेटमा पेश गरिनेछ । उपराष्ट्रपतिले गर्ने टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण हुने भएकाले बिल सामान्य बहुमतबाट सहजै पारित हुन सक्नेछ ।

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने बाइडेनको योजनाले बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण गर्न प्रदान गरिएको डाका कार्यक्रमलाई पनि समेट्नेछ । डाका र टीपीएसमा रहेकालाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने यो बिलको मर्म हो ।

बिल पारित भएमा निश्चित समयभन्दा अगाडि अमेरिकामा रहेकाहरुलाई निश्चित मापदण्ड पूरा गरेपछि ग्रिनकार्डको बाटोमा लैजानसक्ने भएकाले तोकिएको समयभन्दा अगाडि आएका एसाइलम पेन्डिंग रहेकाहरुदेखि अन्य प्रकारका कागपत्रविहिनलाई पनि ग्रिनकार्डको बाटोमा जान बाटो खुल्नसक्नेछ । यद्यपी विलबारे पूरै विवरण भने सार्वजनिक भएको छैन ।

तर यो बिल पारित भएमा अमेरिकामा रहेका २० हजार भन्दा धेरै नेपालीहरुलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा जान मार्ग प्रसस्त हुने अपेक्षा गरिएको छ । डाकाले झण्डै साढे ६ लाख बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गरेको छ । जसमा नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् । टीपीएसबाहक नेपालीहरु भने झण्डै ९ हजारको हाराहारीमा रहेका छन् ।

डेमोक्र्याट्सहरुले ११ मिलियन आप्रवासीलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने मुद्दा लामो समयदेखि वकालत गर्दै आएको मुद्दा हो । बराक ओबामा राष्ट्रपति र जो बाइडेन उपराष्ट्रपति भएको बेलामा सन् २०१३ मा बृहत अध्यागमन सुधार सहितको यस्तो बिल पारित गराउने असफल प्रयास समेत भएको थियो । तर त्यतीबेला सिनेटमा डेमोक्र्याट्सको बहुमत रहेपनि हाउसमा भने रिपब्लिकनको बहुमत कायम भएकाले बिल पारित हुन सकेन ।

सन् २००९ देखि सन् २०११ सम्म दुबै सदनमा डेमोक्र्याट्सको बहुमत थियो भने राष्ट्रपति बराक ओबामा र उपराष्ट्रपति जो बाइडेन थिए । त्यतीबेला डेमोक्र्याट्सले आर्थिक अवस्था सुधारमा आफ्नो ध्यान केन्द्रीत गरेकाले यो बिललाई पहिलो प्राथमिकतामा राखेनन् ।

त्यसपछिको सन् २०११ देखि २०१३ सम्मको संसदमा सिनेटमा डेमोक्र्याट्सको र हाउसमा रिपब्लिकनको बहुमत कायम भयो । त्यतीबेला ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटो हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने बिलले निकै चर्चा पायो । तर राष्ट्रपति ओबामा भएपनि संसदका दुबै सदनमा एउटै पार्टीको बहुमत कायम नभएका कारण यो बिल पारित हुन सकेन ।

२०१३ देखि २०१५ सम्मको संसदमा पनि उही अवस्था कायम रह्यो । अर्थात् हाउसमा रिपब्लिकनको र सिनेटमा डेमोक्र्याट्सको बहुमत कायम भयो । त्यसपछिको २०१५ देखि २०१७ सम्मको संसद रिपब्लिकनको नियन्त्रणमा गयो । अर्थात् दुबै सदनमा रिपब्लिकनको बहुमत कायम भएकाले ओबामा कार्यकालको उत्तरार्धमा डेमोक्र्याट्सले संसदबाट अध्यागमनका सन्दर्भमा केही पारित गराउन सकेनन् ।

यसैबीचमा सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले । २०१७ देखि २०१९ सम्म संसदका दुबै सदनमा रिपब्लिकनको बहुमत कायम रह्यो । त्यसपछिको २०१९ देखि अहिलेको संसदमा पुन परिदृश्य बदलियो । अर्थात् सिनेटमा रिपब्लिकनको र हाउसमा डेमोक्र्याट्सको बहुमत कायम भयो ।

यसपटक दुबै सदनमा डेमोक्र्याट्सको बहुमत कायम भएको छ । अब डेमोक्र्याट्सहरुले अध्यागमन सुधारका क्षेत्रमा इमान्दार प्रयत्न गर्नेछन् वा छैनन् ? त्यो भने हेर्न बाँकी छ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com