‘अगस्त २५ अगाडिका एसाइलम आवेदकलाई वर्क परमिटका लागि ३६५ दिन कुर्न नपर्ने’- युएससीआईएस प्रवक्ता


प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार

(कृपया ध्यान दिनुहोला, कासा डे मेरिल्याण्ड (कासा) र एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट (एएसएपी)को सदस्यताविना पठाएका आवेदनहरु युएससीआईएसले ३६५ दिन नपुगेको भन्दै फिर्ता गरेका जानकारीहरु खसोखासलाई प्राप्त भएका छन् । त्यसैले आफ्नो आवेदनबारे कानून व्यवसायीसँग सल्लाह लिनुहोला वा कासा र एएसएपीमध्ये कुनै एउटाको सदस्यता लिएर त्यसको प्रमाण आवेदन सहित पठाउनुहोला । – सम्पादक)

 

अमेरिकी सरकारको युएससीआईएसले गत अगस्त २५ देखि लागु हुनेगरी एसाइलमका वर्क परमिटका नियममा परिवर्तन गरेको थियो । अगस्त २५ बाट लागु भएको नयाँ नियम अनुशार वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष पूरा भएको हुनुपर्ने रहेको थियो । विगतमा एसाइलम पेन्डिङ रहेको १५० दिनपछि वर्क परमिटका लागि आवेदन दिन सकिने नियम रहेको थियो ।

के अगस्त २५ भन्दा अगाडि एसाइलमको आवेदन दिएका तर अगस्त २५ सम्म १५० दिन नपुगेकाहरुले वर्क परमिटका लागि आवेदन दिन ३६५ दिन कुनुपर्ने हो ? यसबारेमा धेरैको जिज्ञासा रहेको छ । उक्त जिज्ञासाको जवाफका लागि खसोखासले यो प्रश्न युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकसमक्ष राखेको थियो ।

युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेक

प्रवक्ता टिकचेकले खसोखाससँग भनेकी छिन् -‘वर्क परमिटबारेको उक्त अन्तिम नियम अगस्त २५, २०२० भन्दा अगाडि कार्यान्वयनमा नरहेकाले अगस्त २५, २०२० भन्दा अगाडि प्राप्त कुनै पनि आवेदनका सन्दर्भमा नयाँ नियमले असर गर्नेछैन ।’

अगस्त २५ देखि लागु भएको नयाँ नियम अनुशार युएससीआईएस वा अध्यागमन अदालतमा एसाइलम आवेदन प्राप्त भएको ३६५ दिन पूरा भएपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिनेछ । त्यस्तै आवेदकको कारणले आवेदनउपर निर्णय हुनमा ढिलाई भएको अवस्थामा वर्क परमिट अस्वीकार गर्ने समेत नयाँ नियममा व्यवस्था गरिएको छ ।

नयाँ नियममा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिएकाहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा वर्क परमिट नदिने उल्लेख छ ।  त्यस्तै कानुनी रुपमा प्रवेश गर्नेहरुको एसाइलम आवेदन पनि वर्क परमिट प्राप्त गर्ने उद्देश्यकोमात्र देखिएको खण्डमा त्यस्ता आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट जारी नगर्ने समेत नयाँ नियममा उल्लेख छ ।

युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गरिएको छ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्ट प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको थियो ।

अमेरिका प्रवेश गरेको एकबर्षभित्र एसाइलम आवेदन नदिएकाहरु पेन्डिङ एसाइलम आवेदनका आधारमा वर्क परमिट प्राप्त गर्न अयोग्य हुनेछन् ।

त्यस्तै ३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य हुनेछन् ।

आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान गरिने छैन ।

यदि कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुने समेत उल्लेख छ ।

युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिने जनाइएको छ । यदि अध्यागमन अदालतले आवेदन अस्वीकृत गरेको खण्डमा त्यसको तीस दिनमा वर्क परमिटको म्याद सकिने नियममा उल्लेख गरिएको छ । तर बोर्ड अफ इमिग्रेशन अपिलमा समयमै अपिल फाइल गर्नेहरुका सन्दर्भमा भने वर्क परमिट कायम हुनसक्नेछ ।

वर्क परमिटको म्याद २ बर्षभन्दा बढीको नहुने तर त्यो भन्दा कम म्याद भएको वर्क परमिट समेत जारी गर्न सकिने नियममा उल्लेख छ । विगतमा एसाइलमको वर्क परमिट सामान्यतया २ बर्षका लागि जारी गरिदै आएकोमा अब युएससीआईएसका अधिकारीहरुले कम अवधिको वर्क परमिट पनि जारी गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com