‘पानीका दुःख सुनाउँदा अहिलेकाले अचम्म मान्छन्’
प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार
खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँधेर्नीहरु बिहान ढल्केपछि घर आइपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किँदा घरमा भएका बुढापाका ढिलो भयो भनेर कराउँथे । बालबच्चालाई विद्यालय पठाउन अबेला र उमेरकालाई काममा जाने हतारो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानका महिलालाई केही वर्ष पहिलासम्म यस्तै समस्या थियो । खानेपानी मुहानको अभाव रहेको नारायणस्थानमा विगत लामो समयसम्म पानीको समस्या भोग्यो । बढ्दो जनसङ्ख्या र बसाइसराइँसमेत बस्ती विकास भइरहेको नारायणस्थानमा अब भने खानेपानी समस्याका कारण पुराना पुस्ताले भोगेको समस्या कथा जस्तै हुनेछन् ।
नारायणस्थानकी तिलकुमारी बराइलीले पानी भर्न पँधेरो पुगेर फर्किँदा सासूले ढिला गरेको भन्दै झपारेको अहिले पनि सम्झिन्छिन् । “बाटो हिँड्नेले खाने पानी पाउँदैनथे, लाइन बसेर ल्याएको पानी सबैलाई दिन पनि नसकिने”, उनले भनिन्, “पानीकै लागि धेरै समय बिताइयो ।” अहिले नारायणस्थानका घर–घरमा पानीका धारा पुगेका छन् । खोलाको पँधेरा पुग्नुपर्ने बाध्यता केही वर्ष पहिला हटेको नारायणस्थानमा अहिले घर–घरमा आफ्नै धारा छन् । भान्छाकोठा र गोठमासमेत आवश्यकता अनुसार धाराबाटै पानी खसाल्न सक्छन् ।
साना नातीनातीनालाई पहिलेको पानीका दुःख सुनाउँदा अचम्म मान्ने गरेको उनले बताइन् । नारायणस्थनामा बागलुङ नगरपालिका–१३ पैञ्यूपाटाको धारापानी, वडा नम्बर १२ अमलाचौरको धापेखोलाबाट केही वर्ष पहिले पानी आएको हो । दर्जनौँ घरको एउटा सामुदायिक धारोबाट पानी खान्थे उनीहरु । अहिले कालीगण्डकी किनारको पानी बिजुलीले तानेर दुई किलोमिटरमाथि नारायणस्थानको शिरमा पुर्याइएको छ ।
जिल्लामा अहिलेसम्म बनेको सबैभन्दा ठूलो लिफ्टिङ प्रविधिको आयोजना हो, नारायणस्थान खानेपानी संस्थाले सम्पन्न गरेको आयोजना । प्रतिसेकेण्ड आठ लिटर पानी दिनमा आठ घन्टा तानेर नारायणस्थानका घरघरमा चौबिसै घन्टा पानी पुर्याइएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।
“पहिले प्रतिसकेण्ड ६ लिटर पानी थियो, अहिले १४ लिटरभन्दा माथि हुन्छ”, उनले भने, “आठ घन्टा मात्रै कालीगण्डकी किनारको पानी तान्दा सबैधारामा दिनभर पानी बाँड्न पुग्छ ।” नारायणस्थानका ७ सय ९७ घरमा धारा पुगेका छन् । ६० घर परिवारले अहिले पनि सामुदायिक धाराको पानी खान्छन् ।
‘लागेको हिसाब दिनु पर्यो, पानी जति पनि छ’ तिलकुमारीले भनिन्, “पहिले खानेपानी पुगेको थिएन्, अहिले तरकारी लगाउन पनि पुगेको छ, ।” खानेपानी संस्थाको धारा जोड्न १५ हजार रुपैयाँ लाग्छ । विपन्न परिवारका लागि पाँच हजारमा घरघरमा धारा जोड्ने व्यवस्था रहेको खत्रीले बताए ।
घरघरमा धारा पुगेपछि अहिले स्थानीयवासीको दैनिकी फेरिएको छ । सुख्खा माटोका डल्ला पल्टिने नारायणस्थानमा लहलह तरकारी फल्न थालेको वडा सदस्य नारायणप्रसाद श्रेष्ठले बताए । बटुवाले पानी नपाउने ठाउँ भनेर चिनिने नारायणस्थानमा अहिले सामुदायिक धारामा बटुवाले नुहाउनसमेत पुग्नेगरी पानी रहेको उनले बताए ।
नारायणस्थानमा भैरहेको बस्ती विकासलाई समेत ध्यानमा राखेर नारायणस्थानमा पानीको प्रबन्ध भएको छ । “कालीगण्डकी किनारका मुहान सङ्कलन गरेर ल्याइएको पानी हामीले चौविसै घन्टा तान्न सक्छौँ”, वडाध्यक्षसमेत रहेका खत्रीले भने, “जनसङ्ख्या र बस्ती बढेमा अझै पचास वर्षलाई पानीको समस्या हुन्न ।”
पछिल्लो पटक कालीगण्डकीको किनारका मुहान सङ्कलन गरेर लिफ्टिङ प्रविधिमार्फत पानी माथी पु¥याउन रु दश करोड खर्चिएको हो । नेपाल सरकारको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत साझेदारीमा गत चैतमा योजना सम्पन्न भएपछि नारायणस्थानमा पानीको अभाव टरेको हो । रासस