‘बालुवा नचाले चुलामा आगो बल्दैन’


प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उनको दिनचर्या हो ।

नदीको बगरमा बालुवा नचाले उनको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उनले बालुवा गिट्टी चाल्ने कार्यलाई अङ्गाल्दै आएकी छन् । आर्थिक रुपमा विपन्न परिवारका भुलले नदीको बगरमा पाँच वर्षदेखि बालुवा गिट्टी चाल्दै आएकी छन् ।

बालुवा गिट्टी चालेर बिक्री गरी आएको पैसाले उनले परिवारको खर्च चलाउँदै आएकी छन् । ब्रह्मदेव बजारबाट झण्डै पाँच किलोमिटर उत्तरमा रहेको खल्ला बस्तीमा बस्दै आएकी नन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ । घरका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडाको जोहो बालुवा गिट्टी चालेर आउने रकम जेनतेन धानिदै आएको छ । “गाउँमा रोजगारीका लागि अरु विकल्प छैन”, उनले भनिन्, “बालुवा गिट्टी चाल्नु रहर नभएर बाध्यता हो । यसबाटै घरखर्च चलेको छ ।”

विगतमा गाउँका युवा भारतमा मजदूरी गरी जीविका चलाउँदै आएका थिए । कोरोनाको महामारी फैलिएपछि अधिकांश युवा भारतमा रोजगारी गुमेपछि घर फर्केका छन् । घर फर्केपछि रोजगारी नहुँदा अधिकांश परिवारका युवादेखि बुढापाकासम्म नदीको बगरमा बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतबाट फर्केका करन सार्कीसमेत नदीको बगरमा श्रीमतीसँगै बालुवा गिट्टी चाल्ने कार्य गर्दै आएका छन् । चारदेखि पाँच दिनमा उनले चालेको बालुवा गिट्टी बेचेर रु दुई हजार जति कमाउने गरेका छन् । “बिहानदेखि साँझसम्म नदीको बगरमै हुन्छौँ”, उनले भने, “पाँच दिनदेखि एक हप्तामा दुई हजार जति कमाइ हुन्छ । त्यही कमाइले घरको खाना खर्च धानिएको छ ।”

“बस्दै आएको ऐलानी बलौटे जग्गामा लगाएको अन्नले एक महिना खान पुग्दैन । नजिकैका बजारमा रोजगार पाइदैन । बालुवा नचालेर के गर्नु” उनले भने, “बाध्यता छ ।” बालुवाप्रति ट्राली रु एक हजार र गिट्टी प्रति ट्राली रु दुई हजारमा बिक्री हुने गरेको छ । “नदीको बगरमा बालुवा गिट्टी चाल्न थालेपछि भगाउने समेत गरिन्छ”, अनिता सार्कीले भनिन्, “पहिला माथिल्लो भागमा बालुवा गिट्टी चाल्थ्यौँ । त्यहाँ चाल्न दिइएन । भगाइयो । यहाँबाट कुन दिन भगाउने हुन ठेगान छैन ।”

“बालुवा गिट्टी चालेर नबेचेपछि गुजारा चल्दैन । यो कार्य रोकेपछि बिजोग नै हुन्छ । साँझ बिहानको खानाको छाक टार्नसमेत मुस्किल हुन्छ”, उनले भनिन् । आर्थिक अभावका कारण अभिभावकसँगै नदीको बगरमै बालबालिकासमेत बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुने गरेका छन् । घरखर्च चलाउन निकै अप्ठेरो परेका कारण बालबालिकालाईसँगै काममा लगाउनुपरेको अधिकांश परिवारले दुःखेसो पोखिन् ।

“कोरोना संक्रमणका कारण विद्यालय पनि सञ्चालनमा छैनन् । त्यसैले पनि विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा गिट्टी चाल्ने कार्यमा लगाएका छौँ”, बालुवा गिट्टी चाल्नमा संलग्नहरुले भने, “विद्यालय सञ्चालन भए पनि कापी, कलम र पोशाकको व्यवस्था गर्नेसम्मको हैसियत धेरैसँग छैन । विद्यालय पढदै गरेकालाई बिचमै विद्यालय छुटाएर काममा लगाउनुपरेको छ ।”

यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ । बजारक्षेत्रमा आवश्यक पर्ने अधिकांश बालुवा बालबालिकाले चाल्ने गरेको स्थानीयवासी अनिता सार्कीले बताइन् । निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरिएको भए पनि, सरकारले समेत बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन भर्ना कार्यक्रम सञ्चालन गरे पनि भीमदत्त नगरपालिका–९ खल्लालाई छुन सकेका छैनन् । अभिभावकहरूकै असहयोगका कारण बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कठिन भएको दाबी नगरपालिकाको छ ।

विद्यालय नआएर बालुवा बोक्दै घरखर्च चलाउने बालबालिकाका विषयमा सम्बन्धित सबै निकायले छलफल गरी समस्या समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ छ । बालुवा गिट्टी चाल्दाचाल्दै धेरै जना बिरामी भए पनि उपचार खर्च नहुँदा रोग पालेर बस्नुपर्ने अवस्थासमेत रहेको छ ।

महाकाली नदीको बगरमा बालुवा चाल्नेमा अधिकांश दलित परिवार संलग्न छन् । बालुवा गिट्टी चाल्ने परिवारको आर्थिक अवस्था दयनीय छ । बस्नका लागि गतिलो घरसमेत छैन । अधिकांश परिवार झोपडीमा बस्दै आएका छन् । महाकाली नदीमा बालुवा गिट्टी चाल्नेको सङ्ख्या सय भन्दा बढी छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com