काम गुमाएका न्युयोर्कबासीलाई आजदेखि ११ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय


प्रकाशित मिति : पुस २०, २०७७ सोमबार

काम गुमाएका न्युयोर्कबासीलाई आजदेखि बेरोजगारी विमा रकमका अतिरिक्त ११ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । कतिपय राज्यले भने यो सुविधा जनवरी १० मा समाप्त हुने साताबाट प्रदान गर्ने भएका छन् ।

आइतबार साप्ताहिक प्रमाणिकरण गरेका न्युयोर्कबासीहरुले सोमबार यो रकम प्राप्त गर्नेछन् । बैंक अनुशार यो रकम खातामा आइपुग्न एकदेखि तीनदिनसम्म लाग्नसक्छ । बेरोजगारी विमाको नियमित रकमसँगै यो रकम प्राप्त हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेजमा हस्ताक्षर गर्न एकदिन ढिलो गरेका कारण कतिपय राज्यहरुले १० हप्ताका लागिमात्र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय पाउने देखिएको छ । तर न्युयोर्कबासीहरुले पूरै ११ हप्ताको अतिरिक्त ३ सय डलर पाउने भएका छन् ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जनवरी ३ मा समाप्त हुने सातादेखि नै बेरोजगारी विमा र संघीय सरकारले प्रदान गर्दे अतिरिक्त साप्ताहिक तीनसय न्युयोर्कबासीले प्राप्त गर्ने घोषणा गरेका हुन् । अर्थात् न्युयोर्कबासीले कुनै पनि हप्ताको रकम नगुमाउने भएका छन् ।

यो कार्यक्रम नियमित बेरोजगारी विमाका अतिरिक्त पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी र संघीय महामारी बेरोजगारी क्षतिपूर्ति एफपीयुसी कार्यक्रममा समेत लागु हुनेछ ।

आवेदकहरुले अतिरिक्त सुविधा प्राप्त गर्न न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरमा फोन गर्न आवश्यक नभएको जनाइएको छ । यदि बेरोजगारी सुविधा लिन सुरु गरेको ५२ हप्ता पूरा भएको छैन भने साप्ताहिक प्रमाणिकरण गरेमात्र उक्त थप सुविधा र रकम प्राप्त हुनेछ । यदि ५२ हप्ताको अवधि समाप्त भएको छ भने र पहिले नै थप सुविधाका लागि आवेदन दिनुभएको छैन भने अनलाइनबाट नयाँ आवेदन दिनुपर्छ ।

अब न्युयोर्कबासीले महामारी बेरोजगारी सहायता अन्तरगत मार्च १४ सम्म अधिकतम ५७ हप्तासम्म सुविधा लिन सक्नेछन् । अहिले पीयुए पाइरहेकाहरुले नियमित रुपमा साप्ताहिक प्रमाणिकरण गरे पुग्छ । तर संघीय सरकारका अनुशार जनवरी ३१ पछि भने थप योग्यताका कागजातहरु आवश्यक पर्नसक्छ । यदि थप कागजातको आवश्यकता परेमा डिपार्टमेन्ट अफ लेवरले आवेदकलाई सिधै सम्पर्क गर्ने जनाएको छ ।

न्युयोर्कबासीले महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी २४ हप्तासम्म प्राप्त गर्न सक्नेछन् । सुरुमा यो १३ हप्ताका लागिमात्र थप गरिएको थियो । अब ११ हप्ता थपेर मार्च १४ सम्म बनाइएको छ । राज्यको सुरुको २६ हप्ताको सुविधा लिइसकेकाहरुले साप्ताहिक प्रमाणिकरण जारी राखेपछि यो कार्यक्रम स्वतः जोडिन्छ ।

त्यस्तै संघीय महामारी बेरोजगारी क्षतिपूर्ति एफपीयुसी पनि जनवरी ३ मा समाप्त हुने साताबाट सकृय भएको छ । यो कार्यक्रम ११ हप्ताका लागिमात्र अर्थात् मार्च १४ सम्मका लागि थपिएको छ । यो कार्यक्रमका कारण परम्परागत बेरोजगारी विमा वा पीयुए लिइरहेका न्युयोर्कबासीको सुविधा मार्च १४ सम्म स्वत थपिनेछ । यो कार्यक्रम अन्तरगत पुराना हप्तामा रकम नपाएकाहरुले अहिले रकम पाउने छैनन् । जनवरी ३ मा समाप्त हुने साताबाटमात्र रकम पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com